Monday, January 27, 2020

बैंकले कडाइ गर्न थालेपछि सहकारीमा ऋणको माग ह्वात्तै बढ्यो, अनौपचारिक अर्थतन्त्र मौलाउने खतरा

सोभित थपलिया

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको टोलीले केही दिनअघि अर्थमन्त्री डा। युवराज खतिवडालाई भेट्न पुग्यो ।

संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले सरकारी नीतिका कारण बैंकबाट कर्जा लिनेहरुको संख्या घटेको र सहकारीमा कर्जाको माग बढेको भन्दै चिन्ता व्यक्त गर्यो । अर्थमन्त्री खतिवडाले बैंकर्सले गराएको ध्यानाकर्षणमा आफू गंभीर भएको बताए ।

कर कार्यालयमा र बैंकमा बुझाउने अडिट रिपोर्ट एउटै हुनुपर्ने व्यवस्था भएपछि त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको हो ।

‘करमा र बैंकमा एउटै विवरण चाहिने व्यवस्था राम्रो छ, यसलाई ऋणको आकार अनुसार थे्रसहोल्ड राखेर कार्यान्वयन गर्दा प्रभावकारी हुनेछ’ बैंैकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकमा हुने ऋणको माग कर सम्बन्धि व्यवस्थाको कारण सहकारीमा सरेको देखिन्छ, सहकारी क्षेत्रलाई पनि त्यो व्यवस्था कार्यान्वयन गर्नुपर्छ, भन्ने हाम्रो माग हो ।’

राष्ट्र बैंकले व्यक्तिगत घरकर्जा र अटोलोनमा ऋण लिदा बुझाउने आम्दानी कर बुझाएको हुनुपर्ने व्यवस्था छ । त्यसको असर बैंकहरुमा पर्दा ऋण लिनेको संख्या सहकारी संस्थाहरुमा देखिएको छ ।

चालु आर्थिक वर्षको सुरुबाट सहकारी संस्थाहरुमा ऋणको माग बढन थालेको र पछिल्लो केही महिना यता ऋणको माग निकै नै बढेको सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालन विकल्प पाठक सहकारी क्षेत्रमा घरायसीदेखि उत्पादन मुलक क्षेत्रमा पनि ऋणको लागि माग बढेको बताउँछन् ।

अहिले घरायसी, हायर पर्चेज, व्यापारीदेखि उत्पादन मुलक कर्जाको पनि माग निकै बढेको छ । अहिले सहकारीमा सरकारले नै सन्दर्भ ब्याजदर लगाएको छ । सहकारीबाट १६ प्रतिशतमा सहजै ऋण पाउने भएकोले पनि बैंकमा भन्दा सहकारीमा धेरै ऋण लिनेको संख्या बढेको पाठकको भनाई छ ।

‘अहिले राष्ट्र बैंकले कम्पनी तथा फर्मलाई ऋण लिनको लागि कर कार्यालयमा बुझाएको विवरण र बैंकमा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको छ । यसले पनि ऋण लिनेहरुलाई समस्या भएको छ । बैंकमा ऋण लिँदा ढिला हुने र सहकारीमा अलि छोटो समयमा हुने भएकोले पनि बैंकमा भन्दा सहकारीमा ऋण लिनेको संख्या बढेको छ ।’ उनले भने ।

पछिल्लो डेढ महिना यता दैनिक आउने फोनमा अधिकांश ऋणको नै हुने गरेको उनको भनाई छ । आउने फोनमा उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्नको लागि धेरै फोन आएको उनको भनाई छ । फोन आयो भन्दैमा आफ्नो संस्थालाई नै जोखिममा राख्नेगरी नबुझीकन ऋण सहकारीले पनि नदिने र ऋण लिनेको विषयमा धेरै अध्ययन गर्ने पाठकले बताए ।

यता चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० कृष्ण कुमार श्रेष्ठले पनि पछिल्लो समयमा तुलनात्मक रुपमा सहकारीमा ऋणको माग बढेको बताउँछन् । अहिले घर जग्गा लगायतका क्षेत्रमा बैंकलाई ऋण लगानी गर्न समस्या भएको लगायत विविध कारण बैंकबाट जाने ऋण सहकारीतर्फ आकर्षित भएको सिइओ श्रेष्ठ बताउँछन् ।

‘पहिला ठिकै ऋण लगानी गरेका सहकारीमा पनि अहिले अहिले ऋणको माग निकै बढेको छ,’ सीइओ श्रेष्ठले भने ।

प्राकृति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले पनि सहकारीमा ऋणको लागि धेरै फोन, निवेदन आउने गरेको बताए ।

‘सामान्य ऋण देखि उत्पादन मुलक क्षेत्रमा पनि धेरै ऋणको लागि माग आएको छ’ उनले भने ‘बैंकमा ऋण लिन कडाइ भएर होला सहकारीको पछिल्लो समयमा ऋण माग्नेको संख्या बढी छ । बैंकबाट भन्दा सहकारीबाट ऋण लिन सजिलो हुने भएर पनि होला ऋणको माग बढेको ।’

लोभी पापी नबनौं

ऋणको लागि आउने फोन सँगै चुनौती पनि बढेको छ । ऋण दिँदा कस्तो क्षेत्रमा ऋण दिने, कतिसम्मको ऋण दिने, ऋण लिने मान्छेले कहाँ लगानी गर्न लागेको छ ।

सहकारीहरुले ऋण दिँदा तत्काल नाफा कमाउन सकिन्छ की भनेर हेर्नु भन्दा पनि ऋण लगानी कसरी गर्ने र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने व्यवस्थापकीय चुनौती पनि रहेको पाठकले बताए । लगानीगर्दा ऋण लिनेले ऋण चुक्ता गर्न सक्ने आधारमा पनि सहकारीले चनाखो हुनुपर्ने उनको तर्क छ ।

सहकारीले ऋण दिने सन्र्दमा सहकारीले गर्ने निक्षेप र कर्जा लगानीको अनुपात मिलाउन नसकेको खण्डमा भविश्यमा समस्या आउन सक्ने भएकोले त्यसतर्फ पनि सबै सहकारी संस्थाहरु सचेत बन्न उनको आग्रह रहेको छ ।

अब सहकारीले पनि ऋण दिँदा उत्पादन मुलक क्षेत्रमा ऋण लगानी भएको हो की होइन भनेर हेरेर ऋण लगानी गरेको खण्डमा आगामी दिनमा आउने चुनौतीको समाना गर्न सहज हुने पाठकको तर्क छ ।

यता चन्द्रागिरीका सिइओ श्रेष्ठपनि सहकारीले ऋण दिने सन्दर्भमा धेरै चनाखो नभएको खण्डमा समस्या आउने भएकाले सबै त्यसतर्फ सचेत हुनुपर्ने उनको बुझाई छ ।

त्यसैले साना साना विषयमा सहकारीले मन डुलाउने भन्दा पनि लगानी व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । ऋण लिन आउने सबैलाई ऋण दिनु भन्दा पनि कस्तो क्षेत्रमा ऋण लगानी गर्ने, ऋण माग्ने सबैलाई ऋण दिने की नदिने जस्ता विषयमा सहकारीले अहिले नै ध्यान दिन आवश्यक रहेको तर्कको बुझाई छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभावकारी रुपमा कर्जा विस्तार गरेका बैंकहरु यतिबेला भने निकै चिन्तीत बनेका छन् ।

सरकारले भदौ देखि कर तिरेको र बैंकसँग ऋण लिँदा बुझाएको वासलात एउटै हुनु पर्ने व्यवस्था गर्यो । त्यसको प्रत्यक्ष असर कर्जाको विस्तारमा देखिएको बैंकर्सहरुको बुझाइ छ ।

राष्ट्र बैंकले संस्थागत मात्र नभएर व्यक्तिगत कर्जामा महिनाबाट करचुक्ताको प्रमाण पेस गर्नु पर्ने नीति ल्याएको छ । जसको असर कर्जा विस्तारमा परेको छ ।

https://clickmandu.com/2020/01/107131.html?fbclid=IwAR2ZYlkyiguFJNFrf7CLRVYf2FiCWop7pJD_LluWm0V8nEW7VAAFv4SuHXU

बैंकलाई ब्रोकर लाइसेन्समा अर्थ समितिको चासो, बैंकर्ससँगको छलफलमा के भयो ?

सोभित थपलिया 
काठमाडौं । पुँजीबजार र मुद्रा बजारको अध्ययनका लागि गठित उपसमितिले सरोकारवालासँगको छलफललाई निकै तिब्रता दिएको छ ।

आइतबारसम्म ६ वटा बैठक बसिसकेको छ । आइतबार नै सेयर बजारका जानकार र बैंकर्ससँग छुट्टाछुट्टै २ वटा बैठक बस्यो ।

पुँजीबजार र मुद्रा बजारको विषयमा अध्ययन गर्ने भने पनि उपसमितिको बैठक प्रायजसो सेयर बजार र त्यसमा पनि बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिने वा नदिने विषयमा नै केन्द्रीत भएको छ ।

आइतबार बैंकर्ससँग भएको छलफलमा समितिका सभापति कृष्णप्रसाद दाहालले बैंकर्सहरुलाई तपाईहरुलाई किन ब्रोकरको काम गर्न दिने भन्दै प्रश्न गरे । त्यतिमात्रै होइन, उनले इन्साइडर ट्रेडिङको विषयमा निकै चिन्ता व्यक्त गरे ।

सभापति दाहालको प्रश्नले बैंकर्सलाई निकै अन्योल पनि बनायो । बैंकर्सहरुले बैठकमा आफूहरुले यो काम गर्दा धेरै आम्दानी नहुने तर नियामक निकाय राष्ट्र बैंक, धितोपत्र बोर्डले गर्नैपर्छ भनेपछि बाध्य हुनुपरेको धारणा राखे ।

बैठकमा धारणा राख्नेक्रममा एक बैंकर्सले भने ‘यो काम हाम्रो चाहनाको भन्दा पनि नियामक निकायले तिमीहरुले यो काम गर्नुपर्छ भनेको भएर गरेको हो । यसले हामीलाई धेरै फाइदा हुने होइन ।’

ती बैंकर्सले पुनः थपे ‘हामीलाई पहिला नेपाल राष्ट्र बैंकले बीमाको स्किम गर्न भन्यो, केहीले बीमामा गरेको बदामासीको कारण नियामकले पुनः बन्द गर्न भन्छ, भोलि यो काममा पनि कसैले बदमासी गरेको खण्डमा बीमा जस्तो नहोला भनेर कसरी भन्न सकिन्छ ।’

यदि बीमा जस्तै हुने हो भने यस विषयमा अहिले नै गम्भिर हुन आवश्यक भएको उनको भनाइ थियो ।

‘हामीले लगानी गरेर काम गरेपछि विभिन्न समस्या देखाएर भएको काममा अवरोध हुनुहुँदैन, त्यसमा पनि त जवाफदेहिता हुँनैपर्छ,’ बैंकर्सले भने ।

बैंकर्सले नियामकले भनेको भएर केही बैंकले सहायक कम्पनी खोलेको र केहीले सहायक कम्पनी खोल्ने क्रममा रहेको समितिलाई जानकारी गराएका छन् ।

उनीहरुले यो काम बैंकको लागि नयाँ भएको पनि उनीहरुको भनाइ छ । ३५ खर्ब पुँजी चलाएको बैंकहरुको लागि यो आवश्यकता भन्दा पनि नियामकको कारण भएको उनीहरुको भनाइ छ ।

समितिमा देशमा ऐन कानूनको प्रभावकारीता नहुने, भएका ऐन कानूनको प्रभावकारी रुपमा कार्यान्वयन नहुनु, जवाफदेहिताको विषयमा सबै गम्भिर नभएको समयमा इन्साइडर ट्रेडिङले समस्या जन्माउने हो कि भनेर पनि प्रश्न उठेको थियो ।

बैठकमा सहभागी एक बैंकर्सले भने ‘हामी बैंकर्सहरुलाई राष्ट्र बैंकले निर्देशित गरेको हुन्छ, हामी निकै पारदर्शी हुन्छौं, त्यसैले बैंकका सहायक कम्पनीलाई ब्रोकको काम गर्न दिँदा केही फरक पर्दैन । बैंकहरुले अहिलेसम्म गरेको कामका कुनै प्रश्न उठेको छैन । यसमा पनि डराउनु पर्ने अवस्था छैन ।’

सभापति दाहालले संसारका कुन(कुन देशमा यस्तो अभ्यास रहेको छ भन्दै प्रश्न गरेका थिए । बैंकर्सले बंगलादेश बाहेक सबै ठाँउमा यो प्रणाली सफल भएको जानकारी गराए ।

‘बंगलादेशमा कर्पोरेट गर्भनेन्स कमजोर भएकाले यो कार्यान्वयनमा आउन समस्या भएको होला’ ती बैंकर्सले भने ‘हाम्रो बैकिङ क्षेत्रको कर्पोरेट गर्भनेन्स बलियो छ, तर त्यसले कुनै फरक पार्दैन ।’

सवा २ घन्टा भएको छलफलमा बैंकलाई ब्रोकरको काम गर्न दिँदा जोखिम बढी हुने हो कि रु गाँउ गाँउका सोझा मान्छे फस्ने पो हुन् कि जस्ता प्रश्नमा छलफल केन्द्रीत भएको थियो ।

सभापति दाहालले केहीले बैंकलाई दिँदा इन्साइडर हुन्छ केहीले दिनैपर्छ भनेका छन् के गर्दा ठीक होला भनेर पनि प्रश्न गरेका थिए । जवाफमा बैंकर्सहरुले बैंक भनेको धेरै नै पारदर्शी संस्था भएकाले डराउनु नपर्ने बताए ।

संघीय संसद अन्तर्गतको अर्थसमितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिकी संयोजक झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सेयर लगानीकर्ता, ब्रोकर, विज्ञ, बैंकर्ससँग छलफल गरिसकेको छ ।

‘उपसमितिले तीब्र गतिमा छलफल गरिरहेको छ, चाँडै नै आफ्नो रायसहितको प्रतिवेदन बुझाउँछ,’ सभापति दाहालले क्लिकमाण्डूसँग भने ।

बैंकर्सहरुले भने आफूहरुले समितिका सदस्यहरुलाई कन्भिन्स गर्न सफल भएको बताए ।

आइतबारको छलफलमा बैंकर्स संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, आगामी अध्यक्ष भुवन दाहाल, नविल बैंकका सीइओ अनिल शाह, एनएमबि बैंकका सीइओ सुनिल केसी, सनराईज बैंकका सीइओ जनक शर्मा पौडेल, सिभिल बैंकका सीइओ गोबिन्द गुरुङ, मेगा बैंककी सीइओ अनुपमा खुञ्जेली, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा र बैंकर्स संघका सीइओ अनिल शर्मा लगायत उपस्थित थिए ।

ब्रोकरहरुको संख्या बढाएर ओपन र एक्जिटलाई खुल्ला गर्नुपर्ने, चुक्ता पुँजी बढाएर ब्रोकरको लाइसेन्स खोल्ने भन्ने सुझाब पनि बलियोरुपमा आएको छ । यसो भयो भने पुँजी बढाउन नसक्ने र प्रतिस्पर्धा गर्न नसक्नेहरु मर्जरमा जानका लागि पनि बाटो खुल्ला हुनेमा समितिका सदस्यहरु बढी सहमत छन् ।

https://clickmandu.com/2019/12/104330.html

Wednesday, January 22, 2020

बीमा कम्पनीको ३ खर्ब लगानी, कुनको कति ?

सोभित थपलिया

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले २ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ विभिन्न शीर्षकमा लगानी गरेका छन् ।


उक्त लगानीमध्ये जीवन बीमा कम्पनीले २ खर्ब ५८ अर्ब २५ करोड २४ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यस्तै निर्जीवन बीमा कम्पनीहरुले ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गरेको छ । कम्पनीले ७७ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ । कर्पोरेसनले असोज मसान्तसम्म ४६ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २७ अर्ब ५१ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थानले २२ अर्ब २ करोड ५४ लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी दिएको छ ।

सबैभन्दा कम लगानी गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले यो अवधिमा १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता २० वटा निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्म ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । यसरी लगानी गर्नेमा राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ ।

संस्थानले ४ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ भने शिखर इन्स्योरेन्सले ३ अर्ब २ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छ ।

निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा नेशनल इन्स्योरेन्स छ । नेशनलले १ करोड २९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र निर्धारण समेत गरिसकेको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ९साधारण सेयरमा परिणत नहुने० र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्न सहज बनाएको छ ।

यस्तै कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था गरिसकेको छ ।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजतप्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।

यसले गर्दा बीमा कम्पनीलाई लगानी गर्न सहज भएको छ । तर पनि अझैसम्म बीमा कम्पनीहरुले लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बसेको आरोप लाग्ने गरेको छ ।

त्यो आरोप न्यून गर्न र उत्पादनमुलक क्षेत्रमा लगानी होस् भनेर नै समितिले बीमक लगानी निर्देशिका जारी गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विवेक झाले यतिबेला बीमा कम्पनी लगानीको उपयुक्त वातावरण र राम्रो कम्पनी खोजी रहेको बताए ।

‘बीमा क्षेत्रको लगानी भनेको जनताको पैसा हो, त्यसैले जुन पायो त्यही क्षेत्रमा लगानी गर्नु हुँदैन, रिक्स कत्तिको हुन्छ त्यसमा ध्यान दिनुपर्छ’ उनले भने ।

सरकारको ब्याकअप भएको खण्डमा जलविद्युतमा लगानी गर्न सकिने तर निजी क्षेत्रको जलविद्युत कम्पनीमा लगानी गर्न निकै चुनौती रहेको उनको भनाइ छ ।

‘हामी पनि कुन कम्पनीमा लगानी गर्ने हो भनेर प्रोजेक्ट सेलेक्सन गरिरहेका छौं, सरकारको कुनै प्रोजेक्ट राम्रो आयो, पूर्वाधार विकास बैंकले कुनै प्रोजेक्ट ल्यायो भने, त्यसमा लगानी गर्ने सोचमा छौ’ उनले भने ।

उनले सरकारी ऋणपत्र, बिमानस्थल, पर्यटक क्षेत्रमा पनि लगानी गर्नका लागि खोजी कार्य जारी छ रहेको बताए ।

नेपाल लाइफले हाल करिब ६८ प्रतिशत वाणिज्य तथा बिकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको छ । त्यस्तै, करिब १८ प्रतिशत पोलिसी होल्टरलाई ऋण दिएको, २ प्रतिशतको हाराहारीमा ऋणपत्रमा लगानी, सेयर बजार र म्यूचुअल फण्डमा ५.५ प्रतिशतको हाराहारीमा लगानी सीईओ झाको भनाइ छ ।

यस्तै बाँकी लोन एजेन्ट, स्टाफ, कल एकाउन्टमा जाने गरेको उनले बताए । उनका अनुसार ऋणपत्रमा लगानी गर्दा लामो समय पैसा जाम हुने भएर त्यसमा चासो कम भएको हो ।

‘धेरै समयको लागि भएर हामी ऋणपत्रका कमै लगानी गर्छौ,’ झाले भने । पछिल्लो समयमा धेरै बीमा कम्पनीहरुले गर्ने लगानी ऋणपत्रतर्फ बढी छ ।

Tuesday, December 31, 2019

सेयर बजार बढ्नुपर्छ तर धेरै ठूलो छलाङ मार्नु पनि राम्रो होइनः सेबोन अध्यक्ष ढुंगाना

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकास पाएका भिष्मराज ढुंगाना धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । लामो समयदेखि ओरालो लागेको सेयर बजार ढुंगाना अध्यक्ष बनेर आएपछि बढ्न पनि थालेको छ । 

राष्ट्र बैंकजस्तो बलियो नियामक निकायमा बसेर काम गरेका ढुंगानाले नियामक निकाय पूर्णरुपमा बन्न नसकेको धितोपत्र बोर्डलाई कसरी अगाडि बढाउने योजना बनाएका छन ? यो विषयमा क्लिकमाण्डूका लागि सोभित थपलियाले ढुंगानासँग गरेको कुराकानी

धितोपत्र बोर्डमा तपाई अध्यक्ष भएर आएपछि बजारमा सुधार देखियो, बजारले तपाईलाई नै कुरेको हो र ?

अहिले सबैको मनोबल बढ्न थालेको जस्तो देखिएको छ । लगानीकर्तामा मनोबल खस्केको अवस्थाबाट सुधार आएको हो कि जस्तो देखिएको छ ।

धितोपत्र बजारमा पूर्वाधार बढाउने कस्तो योजना छन् तपाईसँग ?

पुँजी बजारमा स्थायीत्वको अवस्था कमजोर छ । बजार बढनुपर्छ । धेरै छलाङ मार्नु पनि राम्रो होइन । लगानीकर्तालाई धितोपत्र बजारमा लगानी गर्दा हामी सुरक्षित हुन्छौं भनेर अनुभूती हुने अवस्था हामीले सिर्जना गर्नुपर्ने बेला भएको छ ।

पछिल्लो समयमा धेरै कम्पनीको सेयर मूल्य १ सयभन्दा कम छ, १० कित्ता अनिवार्य गरेको छ, यसले समस्या हुँदैन ? 

१० कित्ता अनिवार्य गर्नैपर्छ भन्ने होइन । अहिले जलविद्युतमा लगानी गर्ने लगानीकर्तालाई पछिल्लो समयमा विद्युत् नियमन आयोग, धितोपत्र बोर्डलगायत सम्बद्ध निकाय बसेर यो समस्या समाधान गर्नुछ ।

केही समस्या छन् । परियोजना, परियोजना डेभलपर्ससँग पनि समस्या छन् । यसका निष्काशनको प्रक्रियामा पनि केही समस्या छन् । त्यसलाई आगामी दिनमा हामी समाधान गर्छौ ।

१० कित्तामा पुनरावलोकन हुनसक्छ भन्न खोज्नु भएको हो ?

कुनै समयमा न्यूनतम १० कित्ता किन्नै पर्ने व्यवस्था थियो । कुनै समय त्यो ५० कित्ता भयो । यो तलमाथि भइरहन्छ । बजारमा हाम्रो, लगानीकर्ताको आवश्यकता कस्तो हुन्छ भन्ने कुरा समयले नै निर्धारण गर्छ । यो परिवर्तन हुन पनि सक्छ वा भोलि नै बन्दहुन्छ वा परिवर्तन हुन्छ भन्ने अवस्थामा छैन ।

बजारको दायरा बढाउनका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा आएको छ नी ?

बैंकका सहायक कम्पनीलाई बैंकरको लाइसेन्स दिनका लागि पूर्वाधार पनि तयार भएका छन् । राष्ट्र बैंकले पनि बैंकलाई छुट्टै सहायक कम्पनी खोलेर कारोबार गर्न सहमति दिएको छ । तर यो विषय बीचको समयमा निकै बिवादित बन्यो ।

बैंकहरु हामी काम गर्न तयार छौं भन्छन् । अन्य निकायहरु बैंकलाई दिन हुँदैन भन्दै आएका छन् । अहिले २ पक्षमा कुरो मिलेको छैन । यो समयमा राम्रोसँग अध्ययन गर्नुपर्छ । यसले मुलकको हितमा हुन्छ भने दिनुपर्छ होइन भने दिनुहुँदैन । यो अध्ययनको विषय हो । यसको अध्ययन पूरा नभएसम्म यसै हो भनेर भन्न सकिने अवस्था छैन ।

लामो समयदेखि नयाँ स्टकको विषय उचालिँदै आएको छ । देशको अर्थतन्त्रलाई हेर्दा दोस्रो स्टक आवश्यक छ की छैन ?

दोस्रो स्टक एक्सचेञ्जको परिकल्पना बजारले गरेको छ । हाम्रोमा स्टक नै नभएर समस्या भएको होइन । भएको संस्थाको कार्यसम्पादन स्थिती, त्यहाँको प्राविधिक विषयलगायतका सन्दर्भमा केही कमजोरी छ की भन्ने चर्चा बजारमा छ ।

त्यसमा २ वटा पाटा छन् । पहिलो भनेको नयाँ स्टक ल्याएर उनीबीचमा प्रतिस्पर्धा गराउने भन्ने र दोस्रो भनेको भएको संस्थाको क्षमता अभिवृद्धि गराउने, प्रविधिक विषयमा कसरी बलियो बनाउने भन्ने विषय छ । विश्वको प्रवृति हेर्दा स्टकहरु मर्ज भएका उदाहरण पनि छन् । कतैकतै एकभन्दा बढी पनि छन् । हामीले कमोडिटी बजारको पनि विकास गर्न आवश्यक छ । त्यसका लागि पनि अध्ययन आवश्यक छ ।

लामो समयदेखि बुक बिल्डिङको कुरा उठिरहेको छ । यो काम कसरी अघि बढ्छ ?

सेयरको मूल्यलाई मार्केट बेस प्राइसिङ बनाउने मोडालिटी हो । बुक बिल्डिङ सिस्टम ल्याउनको लागि हाम्रा नियमावलीमा त्यो व्यवस्था छैन । हामीले अहिले नियमावली संशोधनका लागि लगिसकेका छौं । त्यो आएपनि शुरु गर्ने भनेर हाम्रो नीति तथा कार्यक्रममा राखेको छ ।

नयाँ कम्पनीहरुले फण्ड जुटाउन समस्या भयो भनिरहेका छन् । अन्य मुलुकमा हेर्दा प्रि–आईपीओ ल्याउने प्रचलन छ । यो विषयमा केही सोच्नु भएको छ ?

यो सेयर बजारको आवश्यकता हो । त्यही भएर हामीले विशिष्टिकृत लगानी कोषको योजना ल्याएको हो । यसमा इक्विटी फण्ड, भेञ्चर क्यापिटल र हेज फण्ड मोडालिटी राखेका छौं । गर्न चाहनले बोर्डमा आवेदन दिन सक्नेछन् । यसरी आएको खण्डमा प्रि–आईपीओ फण्डिङ गर्ने, रिसोर्सको ब्रिजिङ गर्ने काम यसले दिन्छ । यसलाई पनि आगामी दिनमा अगाडि बढाउने छौं ।

५० करोड रुपैयाँभन्दा बढी पुँजी भएका उत्पादनमुलक कम्पनीलाई पुँजी बजारमा ल्याउने विषय उठेको थियो । प्रक्रिया कहाँ पुग्यो ?

यसका लागि केही प्रक्रिया हामीले पूरा गर्नुपर्ने छ । यसका लागि रियल सेक्टरका कम्पनीलाई पुँजी बजारमा ल्याउनका लागि उनीहरुको सेयरको मूल्य दिनुपर्छ । अहिलेको व्यवस्थाले त्यत्ति सहज छैन । यसले उनीहरु आउनेवाला छैनन् । त्यसका लागि बुक बिल्डिङ प्रक्रिया जुन मार्केट बेस प्राइसिङ तय गर्ने मोडालिटी हो । त्यसको कानूनी संरचनाको काम अन्तिम चरणमा पुगेको छ । यसमा केही थ्रेस होल्डका कम्पनी आउनुपर्ने भनिएको छ । ती कम्पनीलाई पनि यसरी आउनु, यस्तो संरचना तयार भएको छ, तपाईहरुलाई यस्तो यस्तो फाइदा हुन्छ भनेर जानकारी गराउन आवश्यक छ ।

समय–समयमा सेयर बजारका कालोधनको कुरा उठने गरेको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

कालो धन छ की छैन ? कोसँग छ ? वा छैन भन्ने, भएको खण्डमा कारबाही गर्ने छुट्टै निकाय छ । त्यो विषयमा हामीले तिमीले यत्ति कालो धन ल्यायौं भनेर भन्न मिल्दैन । बजारका लगानीकर्ताहरुले जसरी काम गरेका छन् उनीहरुले पारदर्शी भएर काम गरेका छन् । कर तिरेका छन् । आम्दानी स्रोत राम्रो छ । आपराधिक क्रियाकलाबाट आर्जन गरेको पैसा सेयर बजारमा भित्रिएको छैन भन्ने विषयमा विश्वस्त हुने हो । यसका लागि केवाईसीको व्यवस्था गरिएको छ । हामीले त्यो हेरेर कारोबार गर्ने गरेका छौं ।

गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयले पनि अझै पूर्णता पाउन सकेको छैन, अब कति समय लाग्ला ?

गैर आवासीय नेपालीमा पनि नेपाली नागरिकता भएको तर विदेशमा ६ महिनाभन्दा बढी बसेको गैर आवासीय नेपाली हो भने अर्को भनेको नेपालको नागरिकता छैन ऊ विदेशी नागरिक भएको छ भने ऊ नेपाली मूलको एनआरएनए हुन्छ ।

उनीहरुलाई बजारमा प्रवेश गराउने छुट्टाछुट्टै मोडालिटी हुन्छ । नेपाली नागरिकता भएको नेपाली नै हो । अनलाइन पूर्णरुपमा चलेपछि आवश्यक प्रावधान पूरा गरेर अनलाइनबाट अमेरिकामा नै बसेर नेपालको सेयर किनबेच गर्न सक्छ । अहिलेको कानूनले त्यसमा असर गर्दैन । नेपाली नागरिकता नभएकालाई विदेशी सहर चिन्नुपर्छ । त्यसका लागि कानूनी संरचना परिवर्तन गर्नुपर्छ । विदेशी विनिमय ऐन पनि सरकारसमक्ष पुगिसकेको छ । कानून पूरा भएपछि काम शुरु हुन्छ ।

नेपालमा अनलाइन आएपछि बजारमा सकारात्मक परिणाम आउन थालेको छ । त्यसैले अनलाइन आएको हो । नेपालको पुँजी बजारमा यसले राम्रो प्रभाव छोडछ । विश्वभर रहेका लगानीकर्तालाई एकै ठाँउमा ल्याउने काम गर्नेछ ।

सेयरको कारोबार देशका विभिन्न भागबाट शुरु भएको छ, त्यसका लागि यसको बारेमा ज्ञान चाहिएला, बोर्डले वित्तीय साक्षरतामा कत्तिको ध्यान दिने छ ?

सेयर बजारमा लगानी गर्नु लगानीकर्ताको आफ्नो निर्णय हो । आफ्नो पैसा कहाँ लगानी गर्ने रु कतिमा किन्ने ? कतिमा बेच्ने  ?  भन्नेमा स्वतन्त्र हुन्छ । बजारका कारोबार गर्दा धेरै विषयमा ध्यान दिन आवश्यक छ । जानकारी नभइ कारोबार गरेको खण्डमा समस्या हुन्छ । नेपालमा पुँजी बजार सम्बन्धी साक्षरताको अभाव छ । आगामी दिनमा यो बढाउन आवश्यक छ । जसले लगानीकर्तालाई दीर्घकालीन लगानी गर्न सहजहोस् ।

यो नियामक निकाय हो, समयमा आफ्नो विवरण नबुझाउने कम्पनीको कमी छैन, यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

बोर्डले आफ्नो जिम्मेवारीको काम पूरा गर्नैपर्छ । नियमनकारी निकाय कडा हुनुपर्छ भएन भने बजारमा अनुशासन हुँदैन । कम्पनीहरुले कुन समयमा के गर्ने भनेर प्रष्ट व्यवस्था नै गरेको छ । ऐनभन्दा माथी कोही पनि हुँदैन । कतिपय कुरा विविध कारणले गर्दा नमिलेका हुन्छन । त्यस विषयमा पनि ध्यान दिनुपर्छ । कमजोरी चाहेर भएको हो वा नचाहेर भएको हो भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।

स्टक डिल्लरको विषय अझैँ टुंगोमा पुग्न सकेको छैन, कहिले टुंगोमा पुग्छ ?

लगानीकर्ताको चाहना धेरै हुन्छन् । उनीहरुको चाहना एकैपटक पूरा नहुन सक्छ । काम गर्दै जाँदा समय लाग्न सक्छ । यो पनि चाँडै नै निर्णयमा पुग्ने छ । अनलाइन आएको छ । तर पनि अहिलेसम्म डिम्याट नम्बर, बैंक खातामा अनलाइन सिस्टम जोडिन सकेको छैन । यो काम विस्तारै हुँदै जानेछ ।

कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स कहिले दिनुहुन्छ ?

कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिनका लागि आवेदन खुलेको थियो । त्यसमा ५ वटाको आवेदन परेको छ । त्यसमा पनि २ वटाको मूल्यांकन भइसकेको छ । प्र्राप्त भएको निवेदनबाट कसलाई दिन सकिन्छ त्यसको अध्ययन गरेर हामी चाँडै नै निर्णयमा पुग्छौं ।

यसको नियमन र सुपरीवेक्षणलाई कसरी भरपर्दो बनाउने ?

हामीले लाइसेन्स दिएर नियमन र सुपरीवेक्षणको दायरामा ल्याउनुपर्छ । उनीहरुलाई नियमन कसरी गर्ने भन्ने ठूलो विषय होइन । उनीहरुले काम गर्न थालेपछि जसरी सुपरीवेक्षण हुने हो । सर्वसाधारणको हितमा काम हुने हो । त्यो भएर नै छाड्छ । काम गर्न लाग्दा ऐनको कुनै बुँदालाई समातेर काम गर्न सकिन्छ ।

कानूनले नचिने पनि केही कमोडिटीहरुले कारोबार गरिरहेका छन् भनिन्छ, एक्सन लिनुहुन्छ कि लिनुहुन्न ?

उनीहरु नियमनको दायराभित्र, कानूनको परिधिभित्र हामीलाई समावेश गरियोस् भनेर आएका छन् । हामीले त्यसलाई चाँडै टुंग्याउनु पर्छ । हामीले टुंगो लगाएपछि पनि त्यसरी सञ्चालनमा आएको खण्डमा कारबाही गरिन्छ । अहिले कारबाही गर्छौभन्दा त्यो औचित्यपूर्ण हुँदैन । कानूनले कम्पनी नचिनेको होइन उसको कारोबारलाई नचिनेको हो । कारोबार कसरी गर्ने भन्ने ऐन बनेको छ । हामीले गर्नुपर्ने काम बाँकी नै रहेकाले अहिले नै कारबाही गर्ने अवस्थामा हामी पनि छैनौं ।

धितोपत्र बोर्ड कहिलेसम्म भाडामा नै बसिरहन्छ ?

अहिले धितोपत्र बोर्ड निकै कठिन अवस्थामा छ । स्टाफ कलेजको भवनमा छ । यो भवन आफूलाई चाहियो भनेर सूचना निकालिसकेको छ । हामीले बहालका लागि सूचना निकालिसकेका छौं । तत्कालका लागि काम गर्ने राम्रो वातावरण बनाउन उपयुक्त स्थानमा जानैपर्छ । यो भनेको पुँजी बजार नियमन गर्ने निकाय हो । यसका लागि दीर्घकालीन रुपमा सोच्नुपर्छ । आफ्नै जग्गा, आफ्नै घर आवश्यक छ । यसका लागि सरकारसँग समन्वय गर्छौ । हामी त्यसमा लागी परेका छौं ।

Sunday, July 21, 2019

नागरिक लगानी कोषले कहिलेदेखि शुरु गर्छ ‘स्टक डिलर’को काम ?

सोभित थपलिया
काठमाडौं । नागरिक लगानी कोषले ल्याउन लागेको स्टक डिलरको काम यतिबेला ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले म्यूचुअल फण्डहरुले पनि स्टक डिलरको काम गर्न सक्ने व्यवस्था गरेकोले कोषले यो कामलाई कसरी अघि लैजाने भन्ने अन्योलतामा नै रहेकोले पर्ख र हेरकै अवस्थामा राखिएको छ ।

कोषका कार्यकारी निर्देशक रमन नेपालका अनुसार अब डिलर सञ्चालन गर्नको लागि अब निकै अध्ययन नगरी नहुने र बिना अध्ययन थाल्दा कर्मचारीको खर्च मात्रै हुनेछ ।

उनले भने ‘हामीले अहिले हतारमा फण्डको रिक्स हुने गरी काम गर्नु हुँदैन, तै पनि हामीले सम्भाव्यता अध्ययन गरिरहेका छौं ।’

पहिले कोषजस्तै संस्थासँग गएर काम गर्ने योजना भएपनि अहिले अरुले पनि डिलरको काम गर्ने भएकाले आफू मातहतका निकायबाट कारोेबार गर्ने हो की भन्ने सोच पनि बनेको नेपालको भनाइ छ ।

उनले भने ‘हामीले हामी जस्तै संस्थाहरुसँग मिलेर काम गर्ने हो की भनेर छलफल गरेको हौं तर अब भने हाम्रो सोच परिवर्तन भएर आफू मातहतका निकायबाट कारोबार गर्ने योजना पनि बनाएका छौं ।’

उनका अनुसार अहिले पनि कोषले सेयर खरीद गरिहेको छ । बजारमा सेयर सस्तो भएको समयमा सेयर किन्ने क्रम जारी रहेको नेपालको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म कोषले किनेको सेयरबाट नाफा भइरहेको छ । अहिले हामीले सानो डिल गरेका छौं, भविश्यमा ठूलो डिल पनि गर्न सकिन्छ ।’

‘सेयर किन्दा अन्य लगानीकर्ता र कोषमा केही फरक हुन्छ’ नेपालले भने, ‘हामी बजारका कारोबारीसँग सतर्क भएर कारोबार गर्नुपर्छ, कारोबार गर्न नीतिले निर्देशित गर्ने भएकोले फण्डको सुरक्षामा निकै ध्यान दिनुपर्छ ।’

नागरिक लगानी कोष ऐन २०४७ संशोधनको क्रममा रहेकाले उक्त ऐन संशोधन भएपछि के गर्ने वा नगर्ने रु कतिसम्म गर्ने रु भन्ने उल्लेख भएर आएपछि मात्रै काम गर्न सजिलो हुने भएकाले ऐनको पर्खाइमा रहेको उनको भनाइ छ ।

कोषले डिलरको काम गर्ने हो भने सहायक कम्पनी खोल्नुपर्छ ।

करिब १० महिना अघि धितोपत्र बोर्डले कोषलाई डिलरको काम गर्नको लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको थियो ।

बोर्डले उक्त निर्देशन दिएपनि यतिबेला कोष नै ‘पर्ख र हेर’को अवस्थामा पुगेपछि यो कामले पूर्णता पाउने वा नपाउने भन्नेमा अन्योलता देखिएको छ ।

यता नेप्सेले भने आफू डिलरको काम गर्न तयारी अवस्थामा रहेको जनाएको छ । नेप्सेका अधिकारीका अनुसार अनलाइन प्रणालीमा डिलरको काम गर्न सक्ने व्यवस्था छ ।

कोष पर्ख र हेरको अवस्थामा रहेपछि अहिले अन्य केही कम्पनीहरुसँग छलफल गरेर कम्पनी दर्ताको काम रोकिएको छ ।

आर्थिक वर्ष २०७२र०७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनेपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल बनेको थियो ।

उक्त कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर बोर्डका अध्यक्षलाई बुझाइ सकेको छ ।

प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ ।
यता कोष अन्य संस्थासँग सहकार्य गरे अघि बढने भन्दा पनि आफू मातहतबाटै सेयर किनबेच गर्ने सोच बनाउने भनेपछि अन्य कम्पनीसँग छलफल गर्ने विषयमा अन्योलता थपिएको छ ।

तर यसअघि नै कोषले डिलरका लागि भन्दै प्रबन्धपत्र र नियमावली समेत तयार पारिसकेको थियो ।

सेयर बजार घटिरहेको समयमा डिलरले केही हदसम्म बजार सन्तुलनमा ल्याउन सहयोग पुग्ने लगानीकर्ताहरुको भनाइ छ ।

बजारमा कोषका साथै कर्मचारी सञ्चयकोष, नेपाल दुरसञ्चार कम्पनी, बीमा संस्थानको संयुक्त लगानीमा स्टक डिलर सञ्चालन हुने चर्चा कायमै छ ।
https://clickmandu.com/2019/07/88458.html

पुँजीकरण बढी हुने ठूला १० कम्पनीबाट चिलिमे र राष्ट्रिय बीमा कम्पनी बाहिरिए, एनआईसी र एनएमबि भित्रिए

काठमाडौं । पुँजीकरण बढी भएका १० कम्पनीबाट चिलिमे हाईड्रोपावर कम्पनी र राष्ट्रिय बीमा कम्पनी बाहिरीएका छन् भने एनआईसी एसिया बैंक र एनएमबि बैंक भित्रिएका छन् ।

अघिल्लो वर्ष बजार पुँजीकरणको पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा रहेको थियो भने यो वर्ष पनि नेपाल दूरसञ्चार कम्पनी नै अग्रस्थानमा रहेको छ । गत वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण १ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको अन्तिमसम्ममा दूरसञ्चारको बजार पुँजीकरण १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा यो वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण ४।०४ प्रतिशतले घटेको छ ।

यस्तै दोस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकको बजार पुँजीकरण पनि गत वर्ष ७४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो वर्षको असार मसान्तमा ७२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा २।७७ प्रतिशतले घटेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बजाुर पुँजीकरण १।२१ प्रतिशतले घट्दा स्टयान्र्डर चार्टर्ड बैंकको भने सबै भन्दा बढी १०।७० प्रतिशतले घटेको छ ।

तर एभरेष्ट बैंकको भने बजार पुँजीकरण ०।४५ प्रतिशतले बढेको छ भने हिमालन बैंकको पनि ४।९३ प्रतिशतले बढेको छ । सबै भन्दा बढी बजार पुँजीकरण हुने १० कम्पनी मध्ये ६ नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको बजार पुँजीकरण ६।७७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष भन्दा बजार पुँजीकरणमा १ स्थान तल झरेको नेपाल एसबीआई बैंकको पनि १।३२ प्रतिशतले घटेको छ । चिलिमे हाईड्रोपावर र राष्ट्रिय बीमा कम्पनी ९ र १० नम्बरबाट हटेपछि ८ नम्बरमा एनआईसी एसिया बैंक र १० नम्बरमा एनएमबी बैंक बढी पुँजीकरण हुने कम्पनीको रुपमा थपिएका छन्
https://clickmandu.com/2019/07/88936.html

बीमा समितिलाई प्रश्नः लाइसेन्स दिएका नयाँ कम्पनी तंग्रिन नपाउँदै किन चाहियो मर्जर ?

सोभित थपलिया
काठमाडौं । बीमा समितिको अध्यक्षमा नियुक्ति भएपछि चिरञ्जीबी चापागाईंले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिए । लामो समयदेखि रोकेर राखिएको नयाँ बीमा कम्पनीलाई अध्यक्ष चापागाईंले फटाफट लाइसेन्स दिएका हुन् ।

त्यो बेला अध्यक्ष चापागाईंलाई आर्थिक प्रलोभनमा परेर नयाँ कम्पनीलाई लाइसेन्स दिएको आरोप समेत लाग्यो ।

तर, उनले बीमा कम्पनीको बजार बढाउनका लागि प्रतिस्पर्धा होस् भनेर लाइसेसन्स दिएको तर्क गरे । नयाँ कम्पनीहरु आए । बीमा क्षेत्र भाइब्रेन्ट पनि भयो । रोजगारीको ठूलो अवसर खुल्लो । आपसी प्रतिस्पर्धाले लामो समयदेखि ७ प्रतिशत जनतामा रहेको बीमाको पहुँच १७र१८ प्रतिशतमा पुग्यो ।

यो रिजल्ट हेरेपछि पैसा खाएर नयाँ कम्पनीलाई लाइसेन्स दिएको भनेर आरोप लगायनेहरु नै भन्न थाले कि बीमा समितिले ठीकै गरेको रहेछ ।

नयाँ बीमा कम्पनीहरु बिजनेशका हिसाबले सस्टेन भइसकेका छैनन् । भर्खर तंग्रिदै छन् ।

तर, नयाँ कम्पनीलाई लाइसेन्स दिने बीमा समितिका उनै अध्यक्ष चापागाईंले बीमा कम्पनीहरुबीच मर्जर गराउने नीति ल्याएका छन् । स्वतस्फूर्त मर्ज नभए फोर्स मर्जर गर्नेसम्मका अभिव्यक्ति दिन थालेका छन् ।

एक भेटमा अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भनेका थिए( ‘कम्पनीहरुको संख्या कति राख्ने भन्ने अधिकार नियामकको हो, लाइसेन्स किन दियौं र मर्जर किन गराउँदै छौं भनेर आलोचना गर्न बेकार हो ।’

उनले फेरि थपे( ‘हिँजो संख्या बढाउनु थियो, त्यसैले नयाँलाई लाइसेन्स दियौं, आज ठूला कम्पनीहरुको आवश्यकता देख्यौं, अनि मर्जरको नीति ल्याएका हौं ।’

तर, अहिले बीमा समितिको नेतृत्वलाई सरोकारवालाहरुले प्रश्न गर्न थालेका छन् कि( ‘आज मर्जरमा लगेर संख्या घटाउनु थियो भने हिँजो किन नयाँ कम्पनीलाई लाइसेन्स दिएर संख्या बढाएको त रु अधिकार छ भन्दैमा नियामकले चाहीँ जे गरे पनि हुन्छ रु’

हिँजोका दिनमा यति ठूलो संख्यामा बीमा कम्पनीहरुको संख्या बजारले धान्दैन भन्ने जान्दा जान्दै पनि कुनै अमूम कम्पनीलाई लाइसेन्सद दिने ध्याउन्नमा बीमा समितिको नेतृत्वले नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो भन्ने आरोपलाई बीमा समितिका पछिल्ला गतिविधिले त्यो आरोप सत्य हो कि भन्ने संका गर्ने प्रसस्तै ठाउँहरु दिएको छ ।

राजधानीमा बुधबार भएको बीमा सम्बन्धी एक कार्यक्रममा सरोकारवालाहरुले यस्तै प्रश्न गरे । बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौति विषायक अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले कुनैबेला नयाँ कम्पनीलाई लाइसेन्स दिनु आवश्यक भएजस्तै अहिले बीमा कम्पनीहरुको मर्जर आवश्यक भएको बताएपछि सरोकारवालाहरुले उनलाई यस्ता प्रश्न गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले एक पटक पनि छलफल नगरी बीमालाई मर्जरमा लैजान नहुने बताए ।

‘बीमा छलफल नै फोर्स मर्जरको कुरा आएको छ, हामी यसमा सहमत हुन सक्दैनौं,’ मुलले भने, ‘निजी क्षेत्रलाई कुनै पनि निकायले धेरै दबाब दिन हुँदैन ।’

उनले थपे, ‘लाईसेन्स दिनुअघि पनि कुनै अध्ययन गरिएने र अहिले मर्जरको समयमा पनि कुनै अध्ययन गरिएको छैन । यो दुखद कुरा हो ।’
मर्जरमा जान चाहनेलाई छोडिदिनु पर्ने तर दबाब नै दिएर मर्जरमा जान नहुने उनको भनाई थियो ।

कार्यक्रममा पुष्पदास श्रेष्ठले एक वर्षअघि धेरै संख्या थप्ने अनि अहिले तिनै कम्पनीलाई मर्जरमा लैजानु पर्ने आवश्यकताको बारेमा जानकारी गराउन आग्रह गरे ।

‘एक वर्षअघि संख्या थप्न नयाँ कम्पनीलाई लाइसेन्स दिने अनि अहिले आएर संख्या घटाउन मर्जरको कुरा गर्ने रु’ श्रेष्ठले प्रश्न गरे ।

बीमा क्षेत्रमा धेरै प्रतिस्पर्धा भएको हो भने समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

‘अनुगमन गर्ने संस्था अलि कमजोर भएको अनुभव भइरहेको छ, अनुगमन गर्ने संस्था र अनुगमन गर्न आउनेको क्षमता र दक्षता विकास गर्न आवश्यक देखिन्छ,’ उनले भने ।

अहिले बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीका कारण पुँजी पुग्न नसकेको भन्ने गुनासो आए पनि आफू त्यो मान्न तयार नभएको बीमा समितिका अध्यक्ष चापागाईंले बताए ।

‘हामीले यो कुरा सबै बीमा कम्पनीहरुलाई पहिले नै जानकारी गराएका थियौं,’ चापागाईंले भने ।

कार्यक्रममा बीमा विज्ञ रविन्द्र घिमिरेले बीमा कम्पनीहरुको पुँजी नपुगेको कारण पनि मर्जरको चर्चा भएको भन्दै रातारात पुुँजी पुर्याए भने त्यो अवस्थामा के गर्ने रु भन्दै प्रश्न उठाए ।

अहिले बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अभाव भएको कारण देखाउँदै मर्जरको चर्चा चलेको बताए ।

उनले भने ‘बीमा क्षेत्रमा सिइओ छैनन् भनेर भनिन्छ, तर कतिपय व्यक्तिलाई मैले अब तपाई कुन कम्पनीमा जानुहुन्छ भनेर सोध्दा सबैले आफ्ना र चिनेको मान्छृे मात्र लैजान्छन्, हामीलाई खै कसले स्थान दिन्छ र भन्ने गर्नु भएको छ ।’

बीमा क्षेत्रमा आफ्ना मान्छेमात्र सिइओमा राख्ने अनि मान्छे पुगेन भन्ने गरिएको छ, यसमा बीमा समितिको भूमिका के हुने भन्ने महत्वपूर्ण सवाल रहेको उनको भनाई छ ।

कार्यक्रममा उनले बीमा कम्पनीहरु मर्जरमा जाँदा घाटा भने नलाग्ने धारणा राखे ।

‘मर्जर भएको खण्डमा दुई फरक संस्थाका कर्मचारीबीच मन मिल्नुपर्छ ’ उनले भने ‘मन नमिलेको खण्डमा कम्पनी नै डामाडोल हुने अवस्थामा पुग्छ ।’

नेपालमा बीमा कम्पनीहरु मर्जरमा जाने हल्ला चलेपनि कति कम्पनी चाहिने हो भन्ने आधार नरहेको उनको भनाई छ ।

‘संस्था मर्जरमा जाने हो भने कति संस्था आवश्यक छ, त्यो कसरी थाहा पाउने, जनसंख्याको आधारमा हेर्ने हो की जीडीपीलाई आधार मान्ने हो त्यसमा क्लियर हुनु आवश्यक छ,’ उनले भने ।

उनले अहिले भएको बीमा कम्पनीको संख्या खासै धेरै नभएको उनको तर्क छ । सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेर १०० प्रतिशत बीमा आवश्यक छ भन्यो भने अहिलेका कम्पनी नै अपुग हुने उनको तर्क छ । विज्ञ घिमिरेका अनुसार अहिले एक बीमा कम्पनीले औसतामा १५ लाख नेपालीलाई सेवा दिइरहेको बताए ।

बीमा कम्पनीहरु मर्ज हुनको लागि समितिले विशेष छुट दिने भनेपनि मर्जर भएपनि कम्पनीहरु डुबेको खण्डमा जवाफदेही को हुने भन्ने विषय निकै पेचिलो रहेको उनको तर्क छ ।

विदेशमा बीमाले बैंक चलाउँछन्, नेपालमा बैंकले बीमा चलाउने गरेको धारणा राखे । उनले विदेशमा बीमालाई धेरैले विश्वास गर्ने र नेपालमा बीमा भन्दा पनि बैंकलाई बढी विश्वास गर्ने गरेको उल्लेख गरे ।

अब नेपालमा पनि बीमाको दिर्घकालीन विकास गर्ने कामलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे । नेपालमा अहिले पनि बीमा व्यवसाय नाबालक नै रहेको अवस्थामा बिहे गर्न नहुने उनको तर्क छ ।

‘नाबालकको बिबाह गरेपछि के हुन्छ रु’ उनले प्रश्न गरे ।

कार्यक्रममा पुर्वअर्थसचिव विमल वाग्लेले बीमा कम्पनीहरु मर्जरमा जान हतार गर्न नहुुने बताए । अहिले बीमा व्यवसाय सानो भएपनि बिस्तारै बढ्दै जाने उनको भनाई छ ।

अहिले हतार गरेर मर्जरमा जान दिनु भन्दा पनि केही समय बीमा कम्पनीका खेल खेल्न दिने र त्यो खेल हेरेर मात्र मर्जरमा जान दिनुपर्ने उनले बताए ।

‘अहिले मर्जरमा जान चाहनेलाई ढोका खोलौं, आउनेलाई स्वागत गरौं,’ उनले भने ।