Showing posts with label nepal stock. Show all posts
Showing posts with label nepal stock. Show all posts

Saturday, October 27, 2018

अनलाइन आउनै लाग्दा ‘मक ट्रेडिङ’मा लगानीकर्ताले किन देखाएनन् चासो ?

सोभित थपलिया 

काठमाडौं । सेयर बजारको विस्तार र विकासका लागि अनलाइन प्रणाली चाँडो भन्दा चाँडो ल्याउनु पर्यो भनेर लगानीकर्ताले नेप्सेलाई पटकपटक दबाब दिए । अनलाइन प्रणाली नआएर नै बजार बढ्न नसकेको हो भन्नेसम्मका आवाज पनि उठिरह्यो । सामाजिक सञ्जालमा समेत लामो समयदेखि यस्तै आवाज बुलन्द भइरहेका छन् ।

तर, जब नेप्सेले अनलाइन प्रणालीको पूर्वअभ्यासका रुपमा लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन आग्रह गर्यो अनि सँगै मक ट्रेडिङ पनि सुरु गर्यो । तब पत्ता लाग्यो कि लगानीकर्ता अनलाइन प्रणालीमा  त्यति साह्रो आशक्त भएका रहेनछन् । अहिलेसम्मको तथ्यांकले यसै भनिरहेको छ । 

नेप्सेका अनुसार हाल दैनिक औसतमा २५ सय जना लगानीकर्ताले मात्र मक ट्रेडिङ गरिरहेका छन् । मक ट्रेडिङ गर्नेहरु प्रायः तिनै लगानीकर्ता दाहोरिने गरेका छन् । त्यसो त अहिलेसम्म अनलाइन प्रणालीमा सहभागी हुन करिब १२ हजार जनाले मात्र युजर नेम र पासवर्ड लिएका छन् । जबकी बजारमा लगानीकर्ताको संख्या निकै बढी छन् । दैनिक सबै लगानीकर्ता मक कारोबारमा सहभागी नभए पनि युजर नेम र पासवर्ड लिनेको संख्या निकै बढी हुनुपर्ने हो ।

सीडीएससीको तथ्यांक अनुसार अहिलेसम्म १३ लाख ३३ हजार ९४१ जनाले डिम्याट खाता खोलेका छन् । १ जना लगानीकर्ताले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । अनलाइन प्रणालीको पूर्वअभ्यासका रुपमा मक ट्रेडिङ सुरु गरे पनि लगानीकर्ताको उल्लेख्य सहभागिता हुन नसकेको नेप्सेका अधिकारीको बुझाई छ ।

 नेप्सेका एक अधिकारी भन्छन, ‘अनलाइन आउनुपूर्व सेयर बजार नबढनुको कारण नै अनलाइन भएको जसरी विरोध भयो, तर अहिले मक ट्रेडिङ सुरु भएपछि भने लगानीकर्ताले खासै उत्साह देखाएका छैनन् ।

लगानीकर्ताकर्ताको सहभागिता ज्यादै कम हुँदा हामी पनि अचम्ममा परेका छौं ।’ अनलाइनको काम सुरु नै हुनु अघिदेखि अत्याधिक धेरै प्रचार गरिएकाले अहिले लगानीकर्ताको आकर्षकण घटेको अनुमान ती  अधिकारीले लगाएका छन् ।

यता, लगानीकर्ता संघका अधिकारीहरु भने आम लगानीकर्तामा प्रविधि प्रयोगका बारेमा न्यून ज्ञान तथा वित्तीय साक्षरता अभावका कारण सहभागी संख्या कम भएको बताउँछन् । पूर्ण रुपमा अनलाइन आएपछि संख्या निकै बढ्ने उनीहरुको भनाई छ । मक ट्रेडिङ बाध्यकारी नभई स्वेच्छिक भएकाले पनि सहभागिता कम भएको उनीहरुको भनाई छ ।

नेपाल पुँजी बजार संघका अध्यक्ष नवराज सुवेदी भन्छन्, ‘यो प्राविधिक विषय हो, सबै लगानीकर्ता प्राविधिक रुपमा दक्ष नहुन सक्छन् । सबैमा वित्तीय साक्षरताको पनि अभाव हुन सक्छ । यस्ता विषयमा नियामक निकायले तालिम दिन आवश्यक छ,’ उनी भन्छन् ।

 अनलाइन प्रणाली सुरु भएपछि विस्तारै सहभागिता बढ्दै जाने उनको तर्क छ । उपत्यका भित्रका मात्र नभएर बाहिरका लगानीकर्तालाई पनि नियामक निकायले तालिम दिनुपर्ने उनी बताउँछन् ।
यता, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल अनलाइन प्रणाली अहिले कार्यान्वयनमा आइनसकेको तथा मक ट्रेडिङ पनि बाध्यकारी नगरिएकाले सबै लगानीकर्ता सहभागी नभएको उनी बताउँछन् । विस्तारै अनलाइनलाई बाध्यकारी बनाउँदै जाने हो भने सबै लगानीकर्ताले सहभागिता जनाउने उनको भनाई छ ।

यता, नेप्सेले भने उपत्यकाका साथै उपत्यका बाहिर विराटनगर लगायतका ठाँउका अनलाइन र यसको प्रयोगका बारेमा तालिम दिइएको जानकारी गराएको छ । नेप्सेले कात्तिक १५ गतेदेखि ब्रोकरले आन्तरिक रुपमा अनलाइन ट्रेडिङ प्रयोग गराउने तयारी भइरहेको समेत बताएको छ ।  मक ट्रेडिङ अन्तिम चरणमा पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । युजर एसेप्टेन्स टेस्ट (यूएटी) को काम सकिएको नेप्सेका आइटी प्रमुख निरञ्जनसिंह नायकले जानकारी दिए ।

यूएटी गर्ने जिम्मा पाएको भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले पाएको थियो । अहिले नेप्सेले अनलाइन कसरी प्रयोग गर्ने भनेर सबै ब्रोकर कम्पनीका प्रतिनिधिलाई तालिम दिइरहेको छ । नेप्सेले सबै तयारी पूरा गरेपछि औपचारिक रुपमा कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डसँग अनुमति माग्नेछ । बोर्डले आवश्यक अध्ययन तथा जाँच गरेर सञ्चालन गर्न अन्तिम अनुमति दिनेछ ।