Sunday, February 25, 2018

नयाँ बजेट निमार्णको काम कहाँ पुग्यो ? सिलिङ ४ खर्बले बढ्न सक्ने

सोभित थपलिया

काठमाडौं : आगामी आर्थिक वर्ष २०७५-७६ को बजेट निर्माणका लागि तथ्यांक संलकनको काम तीब्र रुपमा अघि बढेको छ । आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार नै बजेट निर्माणका लागि आवश्यक प्रारम्भिक तयारी सुरु भएको हो । अहिले तथ्यांक संकलन र सरोकारवाला निकायबीच छलफल भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेलका अनुसार अहिले बजेट निर्माणका लागि तथ्यांक संलकनको काम भइरहेको छ, सरकार पूर्ण रुपमा विस्तार भएपछि बजेट निर्माणको कामले झनै गति लिनेछ । नयाँ अर्थ मन्त्री आउने भएकाले बजेट सोही अनुसार निर्देशित हुनेछ । अहिले अर्थ मन्त्रालय र अन्य निकायले आन्तरिक रुपमा काम गरिरहेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। चन्द्रकान्त पौडेलले पनि आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अहिले आन्तरिक रुपमा काम अघि बढिरहेको जानकारी गराएका छन् । देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेका कारण बजेट निर्माण प्रकृया पनि सोही अनुरुप अघि बढिरहेको उनको भनाई छ । 

आगामी आवमा कुन स्थानीय तहलाई कसरी, कति बजेट दिने भन्ने विषयमा छलफल जारी रहेको उनको भनाई छ । सबै स्थानीय तहका लागि विकास र अन्य पक्षमा सन्तुलन मिलाउनु पर्ने भएकाले बढी नै छलफल गर्नुपर्ने अवस्था छ । अहिले राष्ट्रिय योजना आयोगले स्थानीय तह, विभिन्न मन्त्रालय तथा अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनले बताए ।

यसअघि स्थानीय तहलाई पठाएको रकम सम्बन्धित विषय र शीर्षकमा खर्च नभएका कारण विभिन्न समस्या देखिएको भन्दै आगामी आवमा सम्बन्धित विषयमा कसरी बजेट खर्च गराउने भन्नेमा पनि छलफल केन्द्रित भएको पौडेलको भनाई छ । बजेट निर्माणका लागि स्थानीय तहलाई पनि अधिकार दिइएको छ । स्थानीय तहले बजेट निर्माण गरिरहेका छन् । स्थानीय तहको कुल ग्राहस्थ उत्पादन, आन्तरिक आयका लागि कुन–कुन क्षेत्र छन् भन्ने विषयमा पनि वृहत छलफल जारी रहेको पौडेलले जानकारी गराए । 

उनले भने, ‘स्थानीय तहलाई समानुपातिक, सम्पुरक र विशेष बजेट कसरी दिने भन्ने विषयमा आन्तरिक छलफल भएको छ ।’ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भर्खरै सत्ता छाडेको र नयाँ सरकार बन्न पनि समय लागेका कारण बजेट निर्माणमा असर हुने चर्चा चलिरहे पनि त्यसो नहुने पौडेलको भनाई छ । सरकार ढिलो आएपनि कुनै समस्या छैन । नयाँ सरकारले केही नयाँ कार्यक्रम र कार्यनीति ल्याउने हो, त्यसले नयाँ कार्यक्रममा समायोजन गर्न केही ढिला हुने हो । उनले भने ‘कार्यक्रम र कार्यनीति नयाँ सरकार आँउदा परिवर्तन हुनसक्छ । धेरै परिवर्तन हुँदैन र गर्न पनि नैतिक रुपमा मिल्दैन, त्यसकारण यसले समस्या उत्पन्न गर्दैन ।’   


अर्थविद डा। चन्द्रमणि अधिकारीले संघीय संरचनामा गएपछि आगामी आर्थिक वर्षका लागि तीनवटै तहले संघीय व्यवस्थापन विधि अनुसार बजेट बनाउनुपर्ने बताउँछन् । बजेट निर्माण गर्दा स्रोत पहिचान गर्नुपर्ने उनको सुझाव छ । केन्द्रलाई संविधानले दिएको काम गर्नुपर्छ । प्रदेश, केन्द्र र स्थानीय तहको काम प्रष्टसँग छुट्याइनुपर्छ ।

कुन स्थानीय तहलाई कति बजेट भन्नु भन्दा पनि त्यो प्रदेशमा भएको कार्यक्रम, रहेका परियोजनाका आधारमा कति बजेट दिने भन्ने अनुमान लगाउन सकिन्छ । त्यसका लागि आवश्यक स्रोत कहाँबाट जुटाउने, राजस्व कसरी संकलन गर्ने, वैदेशिक सहयोग, सहायता कति आउँछ, आन्तरिक र वैदेशिक ऋण कति लिने भन्ने विषय निर्धारण गर्न सकिने अधिकारीको धारणा छ । आम्दानी र खर्चको तालमेल मिल्न नसके समस्या हुने भएकाले प्राथमिकताका आधारमा बजेट बिनीयोजन हुनुपर्ने उनको धारणा छ ।  

बजेट निर्माण गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, अन्य मन्त्रालयहरु, नगरपालिका, गाँउँपालिकाले आगामी आवको बजेट निर्माणका लागि काम गरी रहेका छन् । आगामी आवमा चालु आवको तुलनामा करिब ४ खर्बले बजेटको सिलिङ बढ्ने प्रक्षेपण गरिएको छ । आगामी आवका लागि करिब १६ खर्ब ७५ अर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । जुन चालू आवको भन्दा करिब ४ खर्बले बढी हो । चालू आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजना गरिएको थियो । 

Friday, February 23, 2018

‘मेरो सेयर’ सफ्टवेयरबाट सेयर कसरी भर्ने जानकारी छैन ? यस्तो छ प्रयोग गर्ने विधि

सोभित थपलिया

काठमाडौं : सीडीएस एन्ड क्लियरीङ हाउसले शुक्रबार (फागुन ११ गते) बाट अनिवार्य रुपमा सी–आस्वा प्रणाली लागू गर्दैछ । यो प्रणालीमा सहभागी हुनका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा रजिष्ट्रेसन ९सीआरएन० नम्बर लिनुपर्छ । त्यो नम्बर लिएपछि घरमै बसेर सेयरका लागि आवेदन दिन सकिने छ । सीआरएन नम्बर मार्फत सेयरका लागि आवेदन दिने सफ्टवेयरको नाम भने ‘मेरो सेयर’ रहेको छ ।

सीडीएस एन्ड क्लियरीङ हाउसले हितग्राही खातामा भएको आफ्नो कारोबारको जानकारी गराउनका साथै अनलाइनबाट सेयरमा आवेदन दिनका लागि ‘मेरो सेयर’ नामक सफ्टवेयर तयार गरेर निक्षेप सदस्यहरुलाई कोड नम्बर दिइरहेको छ । ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गर्दा प्रयोगकर्ताहरुले विभिन्न सुविधा पाउनेछन् । यसको प्रयोगले हितग्राही खाता बाहकको व्यक्तिगत विवरण हेर्न सकिन्छ भने आफ्नो खातामा रहेको सेयरको विवरण थाहा पाउन सकिन्छ ।

यस्तै, बजार मूल्यको आधारमा आफ्नो खातामा रहेको सेयरको वास्तविक मूल्य सम्बन्धी विवरण ९पोर्टफोलियो० हेर्न सकिनेछ । धितो बन्धक रहेका सेयरहरुको विवरणसमेत थाहा पाउन सकिन्छ । धितोपत्रको प्राथमिक निष्कासन ९आइपीओ, एफपीओ० तथा हकप्रद निष्कासन हुँदा उक्त सेयर खरिदका लागि अनलाइन दरखास्त दिन सकिने छ । हितग्राही खातामा बैंक खाता प्रविष्टि गराउन वा गलत रुपमा प्रविष्टि भएको बैंक खाता परिवर्तन गर्न सकिन्छ । 

मेरो सेयर सफ्टवेयर प्रयोग गर्ने विधि  
निक्षेप सदस्यले ग्राहकबाट प्राप्त निवेदनको आधारमा हरेक ग्राहकको मेरो सेयर अकाउन्ट खोली ग्राहकलाई डिपी आइडी, लगइन आइडी, पासवर्ड लगायतको जानकारी सम्बन्धीत ग्राहकको इमेल ठेगानामा पठाउने छन् । ग्राहकले मेरो सेयर डट सीडीएससी डट कम डट एनपी खोली मेरो सेयर खाता सम्बन्धी विवरण भरेर प्रयोग गर्न सक्नेछन् ।

मेरो सेयरमा लगइन गर्ने तरीका 

मेरोसेयर डट सीडीएससी डट कम डट एनपी टाइप गरी ‘सेलेक्ट योर डीपी’ लेखिएको ड्रप डाउन मेनुमा आफ्नो खाता रहेको निक्षेप सदस्य छान्ने । लगइन आइडी लेखिएको ठाँउमा आफ्नो बीओआइडी को अन्तिम आठ अंकमध्येको अघिल्लो भागमा रहेका शून्य बाहेक अन्य अंक टाइप गर्ने र पासवर्ड लेखिएको ठाँउमा पासवर्ड राख्ने, अनी लगइन बटम थिच्ने । मेरो सेयर सफ्टवेयरमा पहिलो पटक लगइन गरिसकेपछि अनिवार्य रुपमा आफ्नो पासवर्ड परिवर्तन गर्नुपर्छ । पासवर्ड परिवर्तन गरेपछि मात्र मेरो सेयरमा सम्पूर्ण सेवाहरु पाउन सकिन्छ ।

हितग्राही खातामा रहेको व्यक्तिगत विवरण हेर्ने तरीका

आफ्नो हितग्राही खातामा प्रविष्टि भएको आफ्नो व्यक्तिगत विवरण हेर्नका लागि मेरो सेयरमा रहेको ‘माइ डिटेल्स’ मेनु सेलेक्ट गर्ने । यसमा उपलब्ध विवरण हितग्राही खातामा प्रविष्टि भएको आधिकारिक विवरण हो । विवरणमा कुनै कैफियत देखिएको खण्डमा तुरुन्त आफ्नो निक्षेप सदस्यलाई जानकारी गराएर सच्याउन सकिन्छ । 

हितग्राही खातामा मौज्दात रहेको सेयरको विवरण हेर्ने तरीका

आफ्नो खातामा मौज्दात रहेको सेयरको विवरण हेर्न मेरो सेयरमा रहेको ‘माइ सेयर’ मेनु सेलेक्ट गर्ने । हरेक धितोपत्रको चार प्रकारका ब्यालेन्स हुन्छन्, जसमा करेन्ट, प्लेज, लकइन, फ्रिज र फ्रि ब्यालेन्स पर्दछन्। 

हितग्राही खातामा सेयरको कारोबार सम्बन्धी विवरण हेर्ने तरीका 

आफ्नो खातामा सेयर डेबिट वा क्रेडिट भएको विवरण हेर्न मेरो सेयरमा रहेको ‘माइ ट्रान्जेक्सन हिस्ट्री’ मेनु सेलेक्ट गर्ने । कारोबारको विवरण हेर्दा कम्पनीको आधारमा वा मितिको आधारमा हेर्न सकिनेछ । मितिको आधारमा कारोबारको विवरण हेर्दा एक पटकमा अधिकतम तीन महिनाको मात्र कारोबार हेर्न सकिन्छ । कुनै एक कम्पनीको मात्र कारोबार विवरण हेर्नु परेमा स्क्रिप्टमा क्लिक गरी आफूले हेर्न चाहेको कम्पनी छान्ने ।

हितग्राही खातामा रहेको सेयरको पोर्टफोलियो हेर्ने तरीका 

आफ्नो खातामा मौज्दात रहेको पोर्टफोलियो हेर्न मेरो सेयरमा रहेको ‘माइ पोर्टफोलियो’ मेनु सेलेक्ट गर्ने । खातामा मौज्दात सेयरको पोर्टफोलियो गणना हरेक कम्पनीको अन्तिम कारोबार मूल्यको आधारमा र पछिल्लो पटक कारोबार बन्द हुँदा बखतको मूल्यको आधारमा गरिएको हुन्छ ।

हितग्राही खातामा रहेको सेयर धितो बन्धकमा रहेको विवरण हेर्ने तरीका 

आफ्नो खातामा रहेको सेयर धितो बन्धकमा रहेको उक्त धितो बन्धक सम्बन्धी विवरण हेर्न मेरो सेयरमा रहेको ‘प्लेज सेयर डिटेल’ मेनु अन्तर्गत रहेको ‘रिपोर्ट फर प्लेजर’ मेनु सेलेक्ट गर्ने ।   

मेरो सेयर मार्फत सार्वजनिक निष्कासनका लागि निवेदन दिने तरीका 

धितोपत्र सार्वजनिक हुँदा ग्राहकले आफ्नो बैंक खातामा रकम रोक्का राखी धितोपत्र खरिद निवेदन दिनका लागि मेरो सेयरमा ‘माइ–आस्वा पोर्टल’ तयार गरिएको छ । माइ–आस्वा मार्फत धितोपत्रको खरिद निवेदन दिनका लागि ग्राहकले खाता रहेको बैंकमा गएर सी–आस्वा रजिस्टे«सन नम्बर ९सीआरएन० नम्बर लिनुपर्छ । यो नम्बर लिएपछि मात्र माइ–आस्वा पोर्टल सञ्चालन हुन्छ । कुनै कम्पनीको धितोपत्र सार्वजनिक निष्कासन हुँदा उक्त कम्पनीको निष्कासन भएको सेयर संख्या, आवेदन दिने न्यूनतम तथा अधिकतम कित्ता, सुरु तथा बन्द हुने मिति लगायतको विवरण बारे जानकारी माइ–आस्वा पोर्टलमा रहेको ‘करेन्ट इस्यु’ मेनुमा प्राप्त हुन्छ । धितोपत्र खरिदका लागि निवेदन दिन यही मेनु छनोट गरी कम्पनीको नामसँगै रहेको एप्लाई बटन थिच्नुपर्छ ।

खरिद गर्न चाहेको कित्तामा प्रविष्टि गरी आफूले सीआरएन लिएका बैंकहरुमध्ये  कुनमा आवेदन दिने हो उक्त बैंक छनोट गरी बैंकले दिएको सीआरएन नम्बर प्रविष्टि गर्ने । त्यसपछि आधिकारीक पुष्टिका लागि सफ्टवेयरले मेरो सेयरमा दर्ता भएको इमेल ठेगानामा ओटीपी कोड पठाउँछ । उक्त कोड सफ्टवेयरमा प्रविष्टि गरी कन्फर्म बटम थिच्ने । कोड प्रविष्टि भएपछि सफ्टवेयरले तपाईको निवेदन प्रविष्टि भएको जानकारी दिनेछ । साथै, निवेदन प्राप्त भएको जानकारी मेरो सेयरले इमेलमा समेत प्रदान गर्नेछ । आफ्नो खरिद निवेदनको स्थिति जान्न माइ आस्वामा रहेको एप्लीकेसन रिपोर्टमा क्लिक गर्ने । हेर्न चाहेको कम्पनीसँगै रहेको चेक एप्लिेकसन रिपोर्ट बटन क्लिक गरी आफ्नो निवेदनको स्थिती हेर्ने । निवेदनको स्टाटस अनभेरीफाइड अथवा रिजेक्ट रहेको अवस्थामा आफूले खरिदका लागि प्रविष्टि गरेको कित्ता हेरफेर गर्न सकिन्छ ।

मेरो सेयरको युजर प्रोफाइल परिवर्तन गर्ने तरिका 

मेरो सेयरको सफ्टवेयरमा रहेको प्रोफाइल परिवर्तनका लागि सफ्टवेयरको दायाँ पट्टी वेलकम लेखिएको ठाँउमा क्लिक गरी माइ प्रोफाइलमा क्लिक गर्ने । मेरो सेयर प्रोफाइल पेजमा ग्राहकको मेरो सेयर खाता सम्बन्धी विवरण जस्तै मेरो सेयर खाता खोलिएको मिति, अन्तिम पटक रिन्यू गरिएको मिति तथा खाता बहाल रहने मिति, ग्राहकको नाम, इमेल, फोन नम्बर लगायतका विवरणहरु हेर्न सकिन्छ । आफ्नो पासवर्ड परिवर्तनका लागि चेन्ज पासवर्डमा क्लिक गरी परिवर्तन गर्न सकिन्छ ।