Sunday, August 28, 2022

वाणिज्य बैंकहरुबाट सेयर धितो राखेर ऋण लिने लगानीकर्ताको लागत ५०.४९% ले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुबाट सेयर धितो राखेर ऋण लिने लगानीकर्ताको लागत ५०.४९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुबाट समग्र ऋण लिनेको लागत एक वर्षमा ३७ प्रतिशतले बढेको थियो । तर, सेयरधितोमा जाने कर्जाको लागत एक वर्षमा ५०.४९ प्रतिशत छ ।


गत आर्थिक वर्षको साउनमा बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर ८.१४ प्रतिशत थियो । त्यस्तो ब्याजदर हरेक महिना बढ्दा असार मसान्तमा १२.२५ प्रतिशत पुगेको छ ।


गत साउनमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ताले ऋणमा औसत ८.१४ प्रतिशत ब्याज तिरे पुग्थ्यो । अहिले उक्त ब्याजदर बढेर औसतमा १२.२५ प्रतिशत पुगेको छ ।


गत आर्थिक वर्ष प्रत्येक महिना बढेको ब्याजदर र घटेको ऋणको सीमाका कारण बजार घट्न सहयोग गरेको लगानीकर्ताको भनाइ छ । सो आवमा सेयर बजार ८३७.९३ अंकले घटेको छ ।


गत आवमा बजारमा गिरावट आउनुमा कुनै न कुनै रुपमा ब्याजदर र बैंकबाट जाने ऋणको आकारले पनि असर पारेको सेयर बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ ।


साउनमा ८.१४ प्रतिशतमा लगानीकर्ताले लिएको ऋणको ब्याजदर हरेक महिना बढ्दा लगानीकर्ताले धेरै ऋण लिन नसकेको र त्यसको असर बजारमा परेको अध्यक्ष पोखरेलको भनाइ छ ।


‘सेयर धितोमा जाने कर्जाको ब्याज घट्दा बैंकले फकाएर, घरमै पुगेर पनि ऋण दिन पछि पर्दैनन्’ अध्यक्ष पोखरेलले भनिन्, ‘ब्याज बढ्दा बैंकले ऋण दिन पनि आनाकानी गर्छन्, मार्जिन कल बारम्बार गर्ने गर्छन्, त्यसले पनि लगानीकर्ता हैरानीमा पर्ने गरेका छन् ।’


ऋणको लागत धमाधम बढेपछि लगानीकर्ता आफूसँग भएको कर्जा बिक्री गर्न बाध्य हुनु परेको उनको तर्क छ । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा गरेको ४,१२ को व्यवस्थाका कारण पनि बजारमा असर परेको लगानीकर्ताको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको उक्त व्यवस्थाले पनि कर्जाको सीमा घटेको पोखरेलको भनाइ छ ।


हरेक महिना ब्याज बढेपछि लगानीकर्ताले कर्जा भुक्तानी गर्न नसक्दा लगानीकर्ताको कमाइ पनि घटेको उनको तर्क छ । जसको असर बजारमा पर्दा एक वर्षमा बजार ८३७.९३ अंकले घटेको पोखरेलले बताइन् ।

बजार घट्दा राज्यले पाउने पुँजीगत लाभकर अघिल्लो आवको तुलनामा ४ अर्ब ४ करोडले घटेर १० अर्ब ३५ करोड मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिमा राज्यले पुँजीगत लाभकर १४ अर्ब ३९ करोड पाएको थियो ।


कुन महिना कति बढ्यो ब्याजदर ?


नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन महिनामा सेयर धितोमा जाने कर्जाको ब्याजदर ८.१४ प्रतिशत रहेको थियो । त्यस महिनामा २७ वटा वाणिज्य बैंकबाट ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए ।


यस्तै भदौ महिना ब्याजदर बढेर ८.२६ प्रतिशत पुगेको थियो । भदौमा बैंकले लगानीकर्तालाई ८८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् ।




असोजमा बैंकको ब्याज बढेर ८.३६ प्रतिशत पुग्यो । त्यस महिना बैंकबाट लगानीकर्ताले ८८ अर्ब २० करोड ६० लाख कर्जा लिएका थिए ।


कात्तिक महिनासम्म मात्रै सेयर धितोमा जाने कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा तल नै रह्या । त्यसपछि ब्याजदर ९ प्रतिशत भन्दा बढी भयो । कात्तिकमा यस्तो ब्याजदर ८.८३ प्रतिशत रहेको थियो । ब्याजदर बढ्दा घट्दै गएको कर्जाको सीमा कात्तिकमा ८६ अर्ब १५ करोड ९४ लाख रह्यो ।


मंसिरमा सेयर धितोमा जाने कर्ताको ब्याजदर ९.१२ प्रतिशत पुग्यो । मंसिरमा भने बैंकबाट जाने सेयर धितोकर्जा ८४ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।


यस्तै पुसमा पनि बैंकहरुले सेयर धितोमा जाने कर्जामा ९.४१ प्रतिशत ब्याज लिए । त्यस महिना ८३ अर्ब ७० करोड ५३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।


माघ, फागुन र चैतमा बैंकले सेयर धितोमा लिने कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतको बीचमा रह्यो । माघमा १०.३३ प्रतिशत, फागुनमा १०.५९ प्रतिशत र चैतमा १०.९० प्रतिशत रहेको थियो । उक्त महिना बैंकले लगानीकर्तालाई क्रमशः ८२ अर्ब ४४ करोड ७४ लाख, फागुनमा ७९ अर्ब ७७ करोड ७६ लाख र चैतमा ७८ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कर्जा दिएका छन् । कर्जाको सीमा हरेक महिना घट्दो क्रममा रहेको देखिन्छ ।


निरन्तर बढेको बैंकको ब्याजदर वैशाख महिनामा भने ११.९० प्रतिशत रह्यो । वैशाख महिनामा लगानीकर्ताले बैंकबाट सेयर धितोका लागि ७५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै जेठ र असारमा बैंकको ब्याजदर १२ प्रतिशत भन्दा बढी नै रह्यो । यी महिना बैंकको ब्याजदर क्रमशः १२.०६ र १२.२५ प्रतिशत रह्यो । जेठमा लगानीकर्ताले बैंकबाट सेयर धितो कर्जाको रुपमा ७१ अर्ब ७१ करोड ३७ लाख र असारमा ६४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ लिएका थिए ।

https://clickmandu.com/2022/08/209474.html




Friday, August 5, 2022

कोरोनाकालमा पुँजीबजारः रेकर्ड नै रेकर्ड, लगानीकर्ता मालामाल



सोभित थपलिया

काठमाडौं । कोरोना महामारीले विश्व अर्थतन्त्रको जग हल्लाइदिँदा नेपालका सेयर लगानीकर्ताका लागि भने लकडाउन सुनौलो तथा एतिहासिक अवसर बनिदियो । यो २ वर्षको अवधिमा सेयर बजारमा देखिएको उतारचढावले सकारात्मक प्रभाव छाड्न सफल भएको छ ।


काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि पहिलो पटक लागू गरिएको लकडाउनपछिका २ वर्षमा सबैभन्दा धेरै तंग्रिएको क्षेत्रमध्येको एक हो, ‘पुँजी बजार’ ।


२ वर्षको अवधिमा सेयर बजारले बुलिस ट्रेन्डको लोभलाग्दो यात्रा गरेको छ । फलस्वरुप नेप्से परिसूचकले एतिहासिक उचाइ छुँदै नयाँ रेकर्ड कायम गर्न सफल भयो ।


नेप्से परिसूचकको ग्राफ उकालो लाग्दै गर्दा लाखौं लगानीकर्र्ताले खर्बौ रुपैयाँ कमाए । सेयर बजारबाट अल्पकालीन लगानीमा मनग्गे आम्दानी हुने लोभमा लाखौं व्यक्तिहरु जानेररनजानेर वा लहैलहैमा भए पनि सेयर बजारका लगानीकर्ता बने ।


उनीहरुले बैंक खातामा बचत खातामा स्थिर रकमलाई विभिन्न कम्पनीका सेयरमा लगानी गरेर चलायमान बनाए । कोभिड सम्बन्धी नियमले अन्य गतिविधिमा प्रतिबन्ध लगाउँदा गृहणी, विद्यार्थी, शिक्षक, सानादेखि ठूला व्यवसायीका साथै विभिन्न पेशामा आबद्ध हुने लाखौं व्यक्तिहरु सेयर बजारमा प्रवेश गरे ।


लकडाउनपछिका ९८ दिन ढोका बन्द गरेको सेयर बजारले त्यसपछि ढोका खोल्दा देखिएका लगानीकर्ताको भिड सेयर बजारका लागि इतिहासिक अवसर बन्यो ।


लाखौंको संख्यामा रहेका व्यक्तिहरुलाई छोटो समयमै सेयर बजारमा प्रवेश गराउन अनलाइन प्रणालीले सबैभन्दा ठूलो भूमिका निर्वाह गर्यो ।


यसै समयमा आइपीओमा आवेदन दिनैका लागि यसै अवधिमा भर्र्खरै जन्मिएकादेखि वृद्धवृद्धाहरुका नाममा समेत बैंक, डिम्याट, मेरोसेयर र टीएमएसमा खाता खोलियो ।


अवस्था यस्तोसम्म आयो कि एउटै आइपीओमा लकडाउन हुनुअघि २ देखि ३ लाखसम्म आवेदन पर्नेमा २ वर्षको अवधिमा २९ लाखसम्मले आवेदन दिने अवस्था बन्यो ।


नेप्से परिसूचक यसैअवधिमा ३२१२ को एतिहासिक उचाइ छोयो । दैनिक हुने कारोबारको रकम २१ अर्ब रुपैयाँभन्दा बढी पुग्यो । सरकारले वर्षेनी १ अर्ब पुँजीगत लाभकर पाउँदै आएकोमा एक महिनामै त्योभन्दा बढी लाभकर पाउने अवस्था बन्यो ।


यस अवधिमा मेरो सेयर खाता खोल्नको संख्या ५३६.४४ प्रतिशतले बढ्यो भने डिम्याट खाता खोल्नेको संख्या २००.८९ प्रतिशतले बढ्यो ।


सिडिएससीको तथ्यांक हेर्दा २०७६ चैत १० गतेसम्म १६ लाख ८३ हजार ६३ वटा डिम्याट खाता रहेकोमा अहिले यो संख्या ३३ लाख ८१ हजार १७७ जनाले बढेर ५० लाख ६४ हजार २४० जना पुगेको छ ।


मेरो सेयरमा खाता खोल्नेहरुको संख्या ६ लाख ५६ हजार २२० मा ३५ लाख २० हजार २३० थपिएर ४१ लाख ७६ हजार ४५० पुगेको छ ।


सेयर बजारमा देखिएको यो परिवर्तन अपेक्षाभन्दा निकै परको विषय थियो । यद्यपि कोरोना महामारीका कारण अन्य कैयन क्षेत्रमा गम्भीर धक्का लाग्दा सेयर बजारका लागि वरदान नै सावित भएको छ ।


सेयर बजार प्रविधिमैत्री बन्न, सहरमा सीमित क्षेत्र गाँउसम्म पुग्न, हरेक व्यक्तिको पहुँचमा पुग्न लकडाउन गतिलो बाहना बन्यो ।


सेयर बजारमा २०७४ कात्तिक २० गतेदेखि अनलाइन प्रणाली शुरु भए पनि त्यसपछिका २ वर्षमा जे जति परिवर्तन भयो त्यो लकडाउनपछिको समयमा तुलना गर्दा निकै न्यून हो ।


‘सेयर कारोबार गर्न ब्रोकरकहाँ गइरहनु पर्ने अवस्था रहेन, सबै अनलाइन प्रणालीकै कारण भौगोलिक सीमाले यसलाई छेक्न सकेन फलस्वरुप देश र विदेशमा रहेका सबैको पहुँचमा पुग्यो,’ पूर्वअर्थसचिव रामेश्वर खनालले भने ।


बैंकमा सी(आश्वा लागू भएदेखि ताप्लेजुङदेखि हुम्लासम्मका हरेक व्यक्तिले आइपीओ आवेदनमा सहभागी हुन पाएको उनको भनाइ छ ।


‘सी(आश्वासँगै इन्टरनेटको बिस्तारका कारण आइपीओ भर्न सजिलो भएको हो । आइपीओमा सेयर परिसकेपछि व्यक्तिहरु स्वतः दोस्रो बजारमा प्रवेश गर्छन् । यो सबै सूचना प्रविधिको बिकास, बिस्तार र पहुँचकै कारण सम्भव भएको हो,’ उनले भने ।


नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयर बजारमा अनलाइन प्रणाली भएकै कारण यसको पहुँच गाउँ(गाउँसम्म पुगेको बताउँछिन् ।


‘कोरोना महामारीपछि सेयर बजारले अनलाइन प्रणालीमा धेरै नै फड्को मारेको छ । यदि अनलाइन प्रणाली लागू नहुँदो हो त नेप्से परिसूचक ३२ सयको एतिहासिक विन्दु छुने थिएन,’ उनले भनिन् ।


कोरोना महामारीको असर नेपालमा शुरु हुँदै गर्दा सरकारले लकडाउनको तयारी गरिरहेको थियो । चैत ९ गते नै सेयर लगानीकर्ताहरु सेयर बजार बन्द गर्नुपर्ने माग लिएर नेप्से पुगेका थिए ।


‘हामीले जुन बेला सेयर बजार बन्द गरौं भनेर गएका थियौं त्यो बेला नेप्सेको अनलाइन सिस्टम पूर्ण थिएन,’ उनले भनिन्, ‘सेयर किनबेच गरेपनि पैसा भुक्तानी गर्न सजिलो थिएन, ब्रोकर, बैंक सबै भन्द भएका थिए ।’


उनले अनलाइन सिस्टम प्रभावकारी नभएको र ब्रोकर कार्यालय पनि बन्द भएको अवस्थामा सेयर बजार नै बन्द गर्ने माग गरिएको उनको दाबी छ ।


कोरोना महामारीले अन्य क्षेत्रमा असर पारे पनि पुँजी बजारका लागि एतिहासिक अवसर बनेको पोखरेलको तर्क छ ।


उसो त लकडाउन शुरु भएपछि ९८ दिनसम्म बजार बन्द नै रह्यो । लगानीकर्ताले सेयर किने वापतकिो रकम भुक्तानीका लागि कनेन्ट आइपीएसको प्रयोग गर्न सकिने व्यवस्थाले सहज बनाएको उनको भनाइ छ ।


कहिले कुन रेकर्ड ?

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा गम्भीर धक्का लाग्यो । तर सेयर बजारमा भने सकारात्मक प्रभाव पर्यो । लगानीकर्ताको भिड बढ्दा कैयन नयाँ रेकर्ड समेत बने ।


नेप्से परिसूचक २०७८ भदौ २ गते यही समयमा ३२१२ बिन्दुमा पुग्यो । गत भदौ ३ गते बिहीबार बजारपुँजीकरण ४४ खर्ब ४३ अर्ब १८ करोड ७ लाख ८८ हजार २१८ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो ।


त्यसैगरी गत साउन ३१ गते एकै दिन ३ करोड ५५ लाख ५० हजार कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको पनि नयाँ रेकर्ड हो ।


सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने नयाँ प्रविधिको विकास, बिस्तार र पहुँचकै कारण सेयर बजारले फड्को मारेको बताउँछन् ।


‘लकडाउनको समयमा लगानीकर्ताका लागि समय सदुपयोग गर्ने अवसर सेयर लगानी बन्यो,’ उनले भने, ‘कोरोना महामारीका बीच लगानीकर्ताका लागि लकडाउन सुखद् पक्ष बन्न सफल भयो ।’

https://clickmandu.com/2022/03/190499.html