Saturday, January 19, 2019

सेयर बजारमा इन्साइडर ट्रेडिङ, कसरी गर्ने नियन्त्रण ? यस्तो बन्दैछ नियम

सोभित थपलिया

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भित्रीरुपमा हुने कारोवार (इन्साइडर ट्रेडिङ) लाई  बन्देज लगाउन नियमावली तयार पारेको छ ।

 नियमावलीको मस्यौदा बनाएर ‘कानुन प्रबलीकरण समिति’मा अध्ययनका लागि पठाइएको धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरले भित्री कारोबार नियन्त्रण गर्न नियमावलीको मस्यौदा कानुन प्रवलीकरण समितिमा अध्ययन भइरहेको जानकारी दिए ।  

यस नियमावलीको मस्यौदा आवश्यक अध्ययनपछि यथाशीघ्र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिने उनको भनाई छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा धितोपत्रको भित्री कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था गरिएको छ । ऐन बनेको १२ वर्ष पूरा भएपनि नियमावली तयार नभएकाले यो ऐन कार्यान्वयनमा आउन सकेको थिएन ।


नियमावली कार्यान्वयनमा आएसँगै इन्साइडर ट्रेडिङलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नियमावलीको मस्यौदामा अध्ययन भइरहेको छ । यद्दपि, कुन भित्री कारोबार हो रु वा कस्ता–कस्ता कारोबारलाई भित्री कारोबार भनेर कसरी प्रमाणीत गर्ने भन्ने विषयमा निकै बहस र छलफल भएको बोर्डको भनाई छ ।


विश्वकै सेयर बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको भन्दै कुन विषयलाई भित्री कारोबार भन्ने रु कसरी छुट्याउने रु यसको ठोस आधार र प्रमाण के भन्ने लगायतका विषयमा सघन छलफल भएको बोर्ड अधिकारीको भनाई छ । हरेक कम्पनीका प्रमुख व्यक्तिलाई त्योे कम्पनीको बारेमा विस्तृत जानकारी हुने र त्यस्ता व्यक्तिबाट चुहावट हुने सूचनालाई कसरी जानकारीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।


यस्तै, कतिपय भित्री कारोबारका सूचना लिक हुँदा त्यसलाई प्रमाणित कसरी गर्ने भन्नेमा पनि छलफल भएको छ । यस्ता महत्वपूर्ण विषयलाई नियममा समेटिनेछ । बोर्डका एक अधिकारीका अनुसार उदाहरणका लागि कुनै एक कम्पनीको माथिल्लो भूमिकामा रहेको व्यक्तिले लाभांश सम्बन्धी सूचना आफ्नो साथीलाई सुनायो भने उसले सोही अनुरुप सेयर किनबेच गर्छ । त्यसलाई भित्री सूचना सार्वजनिक भएको मानिनेछ ।


यो भित्री सूचना चुहाएको भएपनि कारबाही गर्न कुनै ठोस प्रमाण नहुन सक्छ । यसरी भएको कारोबार वा सूचनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गहन छलफल भएको ती अधिकारीले बताए । यस्ता कुरा फोन वा अन्य औपचारिक माध्यमबाट भएको खण्डमा कारबाही गर्न प्रमाण हुने भए पनि दुई पक्ष भेटघाट वा मौखिक रुपमा भएमा कसरी कारबाही गर्ने भन्ने चाहिँ चुनौतीको विषय बनेको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा भित्री कारोबारमा संलग्न हुनसक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाइएको छ । ऐनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएता पनि वास्तविक स्वामित्वमा फरक परेमा त्यसलाई झुटो कारोबार ठान्ने छ ।

 

भित्री सूचना सार्वजनिक गरी झुटो कारोबार गरेमा, मूल्यमा उतारचढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र १ वर्ष कैद वा दुवै कारबाही हुने उल्लेख छ । झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, २ वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था रहेको छ । 

 

ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म कारबाही गर्ने उल्लेख छ । अहिलेसम्म भित्रीरुपमा कारोबार गरेको भन्दै नियामक निकायले कसैलाई पनि कारबाहीको प्रकृयामा ल्याएको छैन । तर विभिन्न हिसाबले इन्साइडर ट्रेडिङ भने भइरहेको छ । नियमावली बनेपछि क्रमैसँग यस्ता कारोबारमा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।