Monday, January 27, 2020

बैंकले कडाइ गर्न थालेपछि सहकारीमा ऋणको माग ह्वात्तै बढ्यो, अनौपचारिक अर्थतन्त्र मौलाउने खतरा

सोभित थपलिया

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको टोलीले केही दिनअघि अर्थमन्त्री डा। युवराज खतिवडालाई भेट्न पुग्यो ।

संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले सरकारी नीतिका कारण बैंकबाट कर्जा लिनेहरुको संख्या घटेको र सहकारीमा कर्जाको माग बढेको भन्दै चिन्ता व्यक्त गर्यो । अर्थमन्त्री खतिवडाले बैंकर्सले गराएको ध्यानाकर्षणमा आफू गंभीर भएको बताए ।

कर कार्यालयमा र बैंकमा बुझाउने अडिट रिपोर्ट एउटै हुनुपर्ने व्यवस्था भएपछि त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको हो ।

‘करमा र बैंकमा एउटै विवरण चाहिने व्यवस्था राम्रो छ, यसलाई ऋणको आकार अनुसार थे्रसहोल्ड राखेर कार्यान्वयन गर्दा प्रभावकारी हुनेछ’ बैंैकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकमा हुने ऋणको माग कर सम्बन्धि व्यवस्थाको कारण सहकारीमा सरेको देखिन्छ, सहकारी क्षेत्रलाई पनि त्यो व्यवस्था कार्यान्वयन गर्नुपर्छ, भन्ने हाम्रो माग हो ।’

राष्ट्र बैंकले व्यक्तिगत घरकर्जा र अटोलोनमा ऋण लिदा बुझाउने आम्दानी कर बुझाएको हुनुपर्ने व्यवस्था छ । त्यसको असर बैंकहरुमा पर्दा ऋण लिनेको संख्या सहकारी संस्थाहरुमा देखिएको छ ।

चालु आर्थिक वर्षको सुरुबाट सहकारी संस्थाहरुमा ऋणको माग बढन थालेको र पछिल्लो केही महिना यता ऋणको माग निकै नै बढेको सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालन विकल्प पाठक सहकारी क्षेत्रमा घरायसीदेखि उत्पादन मुलक क्षेत्रमा पनि ऋणको लागि माग बढेको बताउँछन् ।

अहिले घरायसी, हायर पर्चेज, व्यापारीदेखि उत्पादन मुलक कर्जाको पनि माग निकै बढेको छ । अहिले सहकारीमा सरकारले नै सन्दर्भ ब्याजदर लगाएको छ । सहकारीबाट १६ प्रतिशतमा सहजै ऋण पाउने भएकोले पनि बैंकमा भन्दा सहकारीमा धेरै ऋण लिनेको संख्या बढेको पाठकको भनाई छ ।

‘अहिले राष्ट्र बैंकले कम्पनी तथा फर्मलाई ऋण लिनको लागि कर कार्यालयमा बुझाएको विवरण र बैंकमा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको छ । यसले पनि ऋण लिनेहरुलाई समस्या भएको छ । बैंकमा ऋण लिँदा ढिला हुने र सहकारीमा अलि छोटो समयमा हुने भएकोले पनि बैंकमा भन्दा सहकारीमा ऋण लिनेको संख्या बढेको छ ।’ उनले भने ।

पछिल्लो डेढ महिना यता दैनिक आउने फोनमा अधिकांश ऋणको नै हुने गरेको उनको भनाई छ । आउने फोनमा उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्नको लागि धेरै फोन आएको उनको भनाई छ । फोन आयो भन्दैमा आफ्नो संस्थालाई नै जोखिममा राख्नेगरी नबुझीकन ऋण सहकारीले पनि नदिने र ऋण लिनेको विषयमा धेरै अध्ययन गर्ने पाठकले बताए ।

यता चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० कृष्ण कुमार श्रेष्ठले पनि पछिल्लो समयमा तुलनात्मक रुपमा सहकारीमा ऋणको माग बढेको बताउँछन् । अहिले घर जग्गा लगायतका क्षेत्रमा बैंकलाई ऋण लगानी गर्न समस्या भएको लगायत विविध कारण बैंकबाट जाने ऋण सहकारीतर्फ आकर्षित भएको सिइओ श्रेष्ठ बताउँछन् ।

‘पहिला ठिकै ऋण लगानी गरेका सहकारीमा पनि अहिले अहिले ऋणको माग निकै बढेको छ,’ सीइओ श्रेष्ठले भने ।

प्राकृति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले पनि सहकारीमा ऋणको लागि धेरै फोन, निवेदन आउने गरेको बताए ।

‘सामान्य ऋण देखि उत्पादन मुलक क्षेत्रमा पनि धेरै ऋणको लागि माग आएको छ’ उनले भने ‘बैंकमा ऋण लिन कडाइ भएर होला सहकारीको पछिल्लो समयमा ऋण माग्नेको संख्या बढी छ । बैंकबाट भन्दा सहकारीबाट ऋण लिन सजिलो हुने भएर पनि होला ऋणको माग बढेको ।’

लोभी पापी नबनौं

ऋणको लागि आउने फोन सँगै चुनौती पनि बढेको छ । ऋण दिँदा कस्तो क्षेत्रमा ऋण दिने, कतिसम्मको ऋण दिने, ऋण लिने मान्छेले कहाँ लगानी गर्न लागेको छ ।

सहकारीहरुले ऋण दिँदा तत्काल नाफा कमाउन सकिन्छ की भनेर हेर्नु भन्दा पनि ऋण लगानी कसरी गर्ने र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने व्यवस्थापकीय चुनौती पनि रहेको पाठकले बताए । लगानीगर्दा ऋण लिनेले ऋण चुक्ता गर्न सक्ने आधारमा पनि सहकारीले चनाखो हुनुपर्ने उनको तर्क छ ।

सहकारीले ऋण दिने सन्र्दमा सहकारीले गर्ने निक्षेप र कर्जा लगानीको अनुपात मिलाउन नसकेको खण्डमा भविश्यमा समस्या आउन सक्ने भएकोले त्यसतर्फ पनि सबै सहकारी संस्थाहरु सचेत बन्न उनको आग्रह रहेको छ ।

अब सहकारीले पनि ऋण दिँदा उत्पादन मुलक क्षेत्रमा ऋण लगानी भएको हो की होइन भनेर हेरेर ऋण लगानी गरेको खण्डमा आगामी दिनमा आउने चुनौतीको समाना गर्न सहज हुने पाठकको तर्क छ ।

यता चन्द्रागिरीका सिइओ श्रेष्ठपनि सहकारीले ऋण दिने सन्दर्भमा धेरै चनाखो नभएको खण्डमा समस्या आउने भएकाले सबै त्यसतर्फ सचेत हुनुपर्ने उनको बुझाई छ ।

त्यसैले साना साना विषयमा सहकारीले मन डुलाउने भन्दा पनि लगानी व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । ऋण लिन आउने सबैलाई ऋण दिनु भन्दा पनि कस्तो क्षेत्रमा ऋण लगानी गर्ने, ऋण माग्ने सबैलाई ऋण दिने की नदिने जस्ता विषयमा सहकारीले अहिले नै ध्यान दिन आवश्यक रहेको तर्कको बुझाई छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभावकारी रुपमा कर्जा विस्तार गरेका बैंकहरु यतिबेला भने निकै चिन्तीत बनेका छन् ।

सरकारले भदौ देखि कर तिरेको र बैंकसँग ऋण लिँदा बुझाएको वासलात एउटै हुनु पर्ने व्यवस्था गर्यो । त्यसको प्रत्यक्ष असर कर्जाको विस्तारमा देखिएको बैंकर्सहरुको बुझाइ छ ।

राष्ट्र बैंकले संस्थागत मात्र नभएर व्यक्तिगत कर्जामा महिनाबाट करचुक्ताको प्रमाण पेस गर्नु पर्ने नीति ल्याएको छ । जसको असर कर्जा विस्तारमा परेको छ ।

https://clickmandu.com/2020/01/107131.html?fbclid=IwAR2ZYlkyiguFJNFrf7CLRVYf2FiCWop7pJD_LluWm0V8nEW7VAAFv4SuHXU

बैंकलाई ब्रोकर लाइसेन्समा अर्थ समितिको चासो, बैंकर्ससँगको छलफलमा के भयो ?

सोभित थपलिया 
काठमाडौं । पुँजीबजार र मुद्रा बजारको अध्ययनका लागि गठित उपसमितिले सरोकारवालासँगको छलफललाई निकै तिब्रता दिएको छ ।

आइतबारसम्म ६ वटा बैठक बसिसकेको छ । आइतबार नै सेयर बजारका जानकार र बैंकर्ससँग छुट्टाछुट्टै २ वटा बैठक बस्यो ।

पुँजीबजार र मुद्रा बजारको विषयमा अध्ययन गर्ने भने पनि उपसमितिको बैठक प्रायजसो सेयर बजार र त्यसमा पनि बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिने वा नदिने विषयमा नै केन्द्रीत भएको छ ।

आइतबार बैंकर्ससँग भएको छलफलमा समितिका सभापति कृष्णप्रसाद दाहालले बैंकर्सहरुलाई तपाईहरुलाई किन ब्रोकरको काम गर्न दिने भन्दै प्रश्न गरे । त्यतिमात्रै होइन, उनले इन्साइडर ट्रेडिङको विषयमा निकै चिन्ता व्यक्त गरे ।

सभापति दाहालको प्रश्नले बैंकर्सलाई निकै अन्योल पनि बनायो । बैंकर्सहरुले बैठकमा आफूहरुले यो काम गर्दा धेरै आम्दानी नहुने तर नियामक निकाय राष्ट्र बैंक, धितोपत्र बोर्डले गर्नैपर्छ भनेपछि बाध्य हुनुपरेको धारणा राखे ।

बैठकमा धारणा राख्नेक्रममा एक बैंकर्सले भने ‘यो काम हाम्रो चाहनाको भन्दा पनि नियामक निकायले तिमीहरुले यो काम गर्नुपर्छ भनेको भएर गरेको हो । यसले हामीलाई धेरै फाइदा हुने होइन ।’

ती बैंकर्सले पुनः थपे ‘हामीलाई पहिला नेपाल राष्ट्र बैंकले बीमाको स्किम गर्न भन्यो, केहीले बीमामा गरेको बदामासीको कारण नियामकले पुनः बन्द गर्न भन्छ, भोलि यो काममा पनि कसैले बदमासी गरेको खण्डमा बीमा जस्तो नहोला भनेर कसरी भन्न सकिन्छ ।’

यदि बीमा जस्तै हुने हो भने यस विषयमा अहिले नै गम्भिर हुन आवश्यक भएको उनको भनाइ थियो ।

‘हामीले लगानी गरेर काम गरेपछि विभिन्न समस्या देखाएर भएको काममा अवरोध हुनुहुँदैन, त्यसमा पनि त जवाफदेहिता हुँनैपर्छ,’ बैंकर्सले भने ।

बैंकर्सले नियामकले भनेको भएर केही बैंकले सहायक कम्पनी खोलेको र केहीले सहायक कम्पनी खोल्ने क्रममा रहेको समितिलाई जानकारी गराएका छन् ।

उनीहरुले यो काम बैंकको लागि नयाँ भएको पनि उनीहरुको भनाइ छ । ३५ खर्ब पुँजी चलाएको बैंकहरुको लागि यो आवश्यकता भन्दा पनि नियामकको कारण भएको उनीहरुको भनाइ छ ।

समितिमा देशमा ऐन कानूनको प्रभावकारीता नहुने, भएका ऐन कानूनको प्रभावकारी रुपमा कार्यान्वयन नहुनु, जवाफदेहिताको विषयमा सबै गम्भिर नभएको समयमा इन्साइडर ट्रेडिङले समस्या जन्माउने हो कि भनेर पनि प्रश्न उठेको थियो ।

बैठकमा सहभागी एक बैंकर्सले भने ‘हामी बैंकर्सहरुलाई राष्ट्र बैंकले निर्देशित गरेको हुन्छ, हामी निकै पारदर्शी हुन्छौं, त्यसैले बैंकका सहायक कम्पनीलाई ब्रोकको काम गर्न दिँदा केही फरक पर्दैन । बैंकहरुले अहिलेसम्म गरेको कामका कुनै प्रश्न उठेको छैन । यसमा पनि डराउनु पर्ने अवस्था छैन ।’

सभापति दाहालले संसारका कुन(कुन देशमा यस्तो अभ्यास रहेको छ भन्दै प्रश्न गरेका थिए । बैंकर्सले बंगलादेश बाहेक सबै ठाँउमा यो प्रणाली सफल भएको जानकारी गराए ।

‘बंगलादेशमा कर्पोरेट गर्भनेन्स कमजोर भएकाले यो कार्यान्वयनमा आउन समस्या भएको होला’ ती बैंकर्सले भने ‘हाम्रो बैकिङ क्षेत्रको कर्पोरेट गर्भनेन्स बलियो छ, तर त्यसले कुनै फरक पार्दैन ।’

सवा २ घन्टा भएको छलफलमा बैंकलाई ब्रोकरको काम गर्न दिँदा जोखिम बढी हुने हो कि रु गाँउ गाँउका सोझा मान्छे फस्ने पो हुन् कि जस्ता प्रश्नमा छलफल केन्द्रीत भएको थियो ।

सभापति दाहालले केहीले बैंकलाई दिँदा इन्साइडर हुन्छ केहीले दिनैपर्छ भनेका छन् के गर्दा ठीक होला भनेर पनि प्रश्न गरेका थिए । जवाफमा बैंकर्सहरुले बैंक भनेको धेरै नै पारदर्शी संस्था भएकाले डराउनु नपर्ने बताए ।

संघीय संसद अन्तर्गतको अर्थसमितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिकी संयोजक झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सेयर लगानीकर्ता, ब्रोकर, विज्ञ, बैंकर्ससँग छलफल गरिसकेको छ ।

‘उपसमितिले तीब्र गतिमा छलफल गरिरहेको छ, चाँडै नै आफ्नो रायसहितको प्रतिवेदन बुझाउँछ,’ सभापति दाहालले क्लिकमाण्डूसँग भने ।

बैंकर्सहरुले भने आफूहरुले समितिका सदस्यहरुलाई कन्भिन्स गर्न सफल भएको बताए ।

आइतबारको छलफलमा बैंकर्स संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, आगामी अध्यक्ष भुवन दाहाल, नविल बैंकका सीइओ अनिल शाह, एनएमबि बैंकका सीइओ सुनिल केसी, सनराईज बैंकका सीइओ जनक शर्मा पौडेल, सिभिल बैंकका सीइओ गोबिन्द गुरुङ, मेगा बैंककी सीइओ अनुपमा खुञ्जेली, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा र बैंकर्स संघका सीइओ अनिल शर्मा लगायत उपस्थित थिए ।

ब्रोकरहरुको संख्या बढाएर ओपन र एक्जिटलाई खुल्ला गर्नुपर्ने, चुक्ता पुँजी बढाएर ब्रोकरको लाइसेन्स खोल्ने भन्ने सुझाब पनि बलियोरुपमा आएको छ । यसो भयो भने पुँजी बढाउन नसक्ने र प्रतिस्पर्धा गर्न नसक्नेहरु मर्जरमा जानका लागि पनि बाटो खुल्ला हुनेमा समितिका सदस्यहरु बढी सहमत छन् ।

https://clickmandu.com/2019/12/104330.html

Wednesday, January 22, 2020

बीमा कम्पनीको ३ खर्ब लगानी, कुनको कति ?

सोभित थपलिया

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले २ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख रुपैयाँ विभिन्न शीर्षकमा लगानी गरेका छन् ।


उक्त लगानीमध्ये जीवन बीमा कम्पनीले २ खर्ब ५८ अर्ब २५ करोड २४ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यस्तै निर्जीवन बीमा कम्पनीहरुले ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गरेको छ । कम्पनीले ७७ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ । कर्पोरेसनले असोज मसान्तसम्म ४६ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २७ अर्ब ५१ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थानले २२ अर्ब २ करोड ५४ लाख रुपैयाँ लगानी गरेको समितिले जानकारी दिएको छ ।

सबैभन्दा कम लगानी गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले यो अवधिमा १ अर्ब ५८ करोड १३ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता २० वटा निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्म ३८ अर्ब ५ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । यसरी लगानी गर्नेमा राष्ट्रिय बीमा संस्थान अग्रस्थानमा छ ।

संस्थानले ४ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ भने शिखर इन्स्योरेन्सले ३ अर्ब २ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छ ।

निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा नेशनल इन्स्योरेन्स छ । नेशनलले १ करोड २९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यता बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र निर्धारण समेत गरिसकेको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ९साधारण सेयरमा परिणत नहुने० र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्न सहज बनाएको छ ।

यस्तै कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था गरिसकेको छ ।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजतप्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।

यसले गर्दा बीमा कम्पनीलाई लगानी गर्न सहज भएको छ । तर पनि अझैसम्म बीमा कम्पनीहरुले लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बसेको आरोप लाग्ने गरेको छ ।

त्यो आरोप न्यून गर्न र उत्पादनमुलक क्षेत्रमा लगानी होस् भनेर नै समितिले बीमक लगानी निर्देशिका जारी गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विवेक झाले यतिबेला बीमा कम्पनी लगानीको उपयुक्त वातावरण र राम्रो कम्पनी खोजी रहेको बताए ।

‘बीमा क्षेत्रको लगानी भनेको जनताको पैसा हो, त्यसैले जुन पायो त्यही क्षेत्रमा लगानी गर्नु हुँदैन, रिक्स कत्तिको हुन्छ त्यसमा ध्यान दिनुपर्छ’ उनले भने ।

सरकारको ब्याकअप भएको खण्डमा जलविद्युतमा लगानी गर्न सकिने तर निजी क्षेत्रको जलविद्युत कम्पनीमा लगानी गर्न निकै चुनौती रहेको उनको भनाइ छ ।

‘हामी पनि कुन कम्पनीमा लगानी गर्ने हो भनेर प्रोजेक्ट सेलेक्सन गरिरहेका छौं, सरकारको कुनै प्रोजेक्ट राम्रो आयो, पूर्वाधार विकास बैंकले कुनै प्रोजेक्ट ल्यायो भने, त्यसमा लगानी गर्ने सोचमा छौ’ उनले भने ।

उनले सरकारी ऋणपत्र, बिमानस्थल, पर्यटक क्षेत्रमा पनि लगानी गर्नका लागि खोजी कार्य जारी छ रहेको बताए ।

नेपाल लाइफले हाल करिब ६८ प्रतिशत वाणिज्य तथा बिकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको छ । त्यस्तै, करिब १८ प्रतिशत पोलिसी होल्टरलाई ऋण दिएको, २ प्रतिशतको हाराहारीमा ऋणपत्रमा लगानी, सेयर बजार र म्यूचुअल फण्डमा ५.५ प्रतिशतको हाराहारीमा लगानी सीईओ झाको भनाइ छ ।

यस्तै बाँकी लोन एजेन्ट, स्टाफ, कल एकाउन्टमा जाने गरेको उनले बताए । उनका अनुसार ऋणपत्रमा लगानी गर्दा लामो समय पैसा जाम हुने भएर त्यसमा चासो कम भएको हो ।

‘धेरै समयको लागि भएर हामी ऋणपत्रका कमै लगानी गर्छौ,’ झाले भने । पछिल्लो समयमा धेरै बीमा कम्पनीहरुले गर्ने लगानी ऋणपत्रतर्फ बढी छ ।