Saturday, May 8, 2021

बीमा कम्पनीमा चुनौतीको चाङ, दक्ष कर्मचारी अभावदेखि बैंक ब्याजदरसम्म (कुनमा कस्ता चुनौती विवरणसहित)


सोभित थपलिया

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्थामा आफु वा संस्थाले भोगेका विभिन्न चुनौतीको बारेमा उल्लेख गरेका छन् ।


 कम्पनीहरुले सार्वजनिक गरेको चुनौती अधिकांश कम्पनीको उस्तै लाग्ने खालका रहेका छ । विश्वभर फैलिएको कोरोनाको असरलाई अधिकांश कम्पनीले चुनौतीको रुपमा लिएका छन् । यस्तै लगानीको क्षेत्र, बैंक ब्याजदर तथा कयौ कम्पनीले चुनौतीको रुपमा दक्ष जनशक्तिको अभावलाई लिएका छन् ।


बीमा विज्ञ भोजराज शर्माका अनुसार कम्पनीहरुले कर्मचारीलाई तालिममा धेरै नै ध्यान दिनुपर्ने बेला आएको छ । कम्पनीहरुले तालिममा कम पठाउने वा कम तालिम दिनाले पनि यो दक्ष कर्मचारी उपलब्ध हुन नसकेको शर्माको भनाइ छ । ‘कम्पनीहरुले तालिममा नपठाउने काममा मात्रै लगाउँदा दक्ष जनशक्ति कम नै हुन्छन’ उहाँले भन्नुभयो ‘गरिरहने काम बाहेक कर्मचारीलाई तालिम पनि दिनुपर्छ । तर सबै कम्पनीले तालिम दिएनन् भनेर भन्न सकिँदैन । जसले तालिम कम दिनु भएको छ उहाँहरुले अब कर्मचारीलाई तालिम बढाउन आवश्यक छ ।’ अहिले पनि कतिपय कम्पनीले कर्मचारीलाई प्राथमिकतामा राखेर तालिम दिइरहेको र त्यो कम्पनीको अवस्था राम्रो रहेको उहाँको भनाइ छ ।

कतिपय कम्पनीहरुले आन्तरिक रुपमा तालिम दिने, कतिपय कम्पनीले इन्स्योरेन्स इन्स्टिच्यूट नेपालमा पनि तालिम गराउने गरेको उहाँको भनाइ छ । कम्पनीहरुले जुन जुन कर्मचारी जुन जुन चरणमा तालिम दिनुपर्ने हो उनीहरुलाई त्यही अनुसार तालिम दिएको खण्डमा दक्ष कर्मचारीका अभाव नहुने उहाँको तर्क छ । कतिपय कम्पनीले कोरोनाअघि तालिम नलिइ कर्मचारी नलिने र आवश्यक अनुसार कर्मचारीलाई तालिम दिने गरेको उहाँको भनाई छ ।

 कर्मचारीलाई तालिम दिने हो भने दक्ष जनशक्तिका लागि कुनै समस्या नहुने शर्माको भनाइ छ । दक्ष कर्मचारीहरुको अभावलाई चुनौतीको रुपमा देख्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत रहेका छन् ।


हेरौं कुन कम्पनीले कस्तो देखे चुनौतीः

नेपाल लाइफ इन्स्योरेन्सः

कम्पनीले बीमा जागरण अभियानलाई थप शसक्त बनाउन जरुरी रहेको आवश्यक ठानेको छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसै गरी दक्ष जनशक्तीको अभावले केही चुनौतीहरु थपिएका छन् । कम्पनीले समयानुकुल व्यवसायीक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सः

कम्पनीले अहिले विश्वभर फैलिएको कोरोना भाइरसको कारणले अर्थतन्त्रमा पारेको प्रतिकुल स्थितीमा बजारबृद्धि गर्न कम्पनीले आफ्नो सेवा प्रभावकारी रुपले प्रदान गर्ने रणनीति लिएको छ ।

गुँरास लाइफ इन्स्योरेन्सः

कम्पनीले समस्या र चूनौतीको रुपमा बीमा क्षेत्रमा जनचेतनाको अभाव एंव जीवन बीमा व्यवसायमा थप नयाँ कम्पनीहरुको प्रवेश सँगै बजारमा तीब्र एंव अस्वस्थ प्रतिस्पर्धाको अवस्था हालको मूख्य समस्या तथा चुनौती रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनः

कम्पनीले आफ्नो समस्या तथा चुनौतीको रुपमा आन्तरिक समस्या तथा चुनौतीहरुमा तिब्र प्रतिस्पर्धात्मक बीमा बजारमा कम्पनीले आफ्नो उच्च स्तर कायम राख्न दक्ष जनशक्ति अभावलाई आन्तरिक समस्या तथा चुनौतीको रुपमा लिएको छ । यस्तै समस्या हलगर्ने रणनीतिको रुपमा कम्पनीले निर्धारण गरेको स्तरलाई कायम राख्न कार्यरत कर्मचारी तथा फिल्ड फोर्सलाई निरन्तर रुपले बीमा सम्बन्धी तालिम उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीले बाह्य चूनौतीको रुपमा ऋण वा निक्षेपका ब्याजदरमा भएको घटबढबाट उत्पन्न जोखिमलाई कम्पनीले बाह्य समस्या र चूनौतीको रुपमा लिएको छ । यस्तो समस्या हलगर्ने रणनीतिको रुपमा कम्पनीले हमेशा उच्च ब्याजदर प्रदान गर्ने मजबुत वित्तीय कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्थामा मात्रै लगानी गर्ने रणनीति लिएको छ ।

एशियन लाइफ इन्स्योरेन्सः

कम्पनीले समस्या तथा चुनौतीमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण आर्थिक गतिविधी अत्यन्तै न्युन रहेको र यसको नकारात्मक असर विश्व अर्थतन्त्रमा समेत लामो समयसम्म रहन सक्ने देखिएको छ । यस परिस्थितीमा अर्थतन्त्रमा आउने विश्वव्यापी मन्दिले हाम्रो देशमा समेत प्रभावीत हुने हुँदा यसबाट बीमा क्षेत्रमा पर्ने असरलाई न्युनिकरण गर्नु आजको मुख्य चुनौती रहनुको साथै गुणस्तरिय बीमा व्यवसाय अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव, बढ्दो महंगी तरलता संकुचन, सुरक्षित र आकर्षक दीर्घकालिन लगानीको अवसरको कमी तथा जीवन बीमाको बारेमा जनचेतनाको कमीको साथै, जीवन बीमा कम्पनीहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरु हुन् ।

समस्या समाधानको रणनीतिको रुपमा कम्पनीले बीमा व्यवसाय वृद्धिको लागी बीमाको पहुँच देशब्यापी रुपमा विस्तार गर्दै बीमाबारे जनचेतना जागृत गर्ने तथा लगानी अन्तर्गतको जोखिम कम गर्नको लागि उच्च प्रतिफल प्रदान गर्ने मजबुत बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने रणनिति अवलम्बन गरिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सः

नेपालका सम्पूर्ण भूभागमा जीवन बीमा सम्बन्धि सचेतना फैलाउने कार्य भइरहेको भएतापनि देशको विकट भौगोलिक स्थितीका कारण धेरै स्थानमा जीवन बीमा सम्बन्धि सचेता कार्यक्रम, बीमा शिक्षाका कार्यक्रमहरु नियमित रुपले सञ्चालन गर्न अुनकुल नभएको कारण अझ पनि जनमानसमा जीवन बीमा बारे जनचेतनाको कमी रहनु रहेको छ ।

सिमित लगानीका क्षेत्रहरु रहनु, विगत केही समयदेखि विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाले विश्व तथा नेपालको अर्थतन्त्रमा परेको प्रतिकुल असरहरु रहेका छन् । नयाँ योजनाहरु जारी गर्न अनुसन्धान तथा विकासका लागि प्रयाप्त र अधावधिक तथ्याङ्कको अभावलाई पनि चुनौतीको रुपमा रहेको छ । यस्तै जीवन बीमा व्यवसायमा व्यवसायिक अवधारणाको विकास द्रुत गतिमा हुन नसक्नुलाई पनि चुनौतीको रुपमा लिएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सः

कम्पनीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रणका लागि लगाइएको बन्दा बन्दीका कारण अर्थतन्त्रमा देखिएको मन्दी, क्रयशक्तिमा ह्रास, जीवन बीमा सम्बन्धि जानकारीमुलक शिक्षाको कमी, दक्ष जनशक्तिको कमी, लगानीको क्षेत्रमा सिमित हुनु र त्यसबाट प्राप्त हुने प्रतिफलमा उल्लेख्य गिरावट, विद्यमान थप जीवन बीमा कम्पनीहरुको स्थापना, कर्मचारीहरुको टर्नओभर र त्यसको व्यवस्थापन र संघीय प्रतिस्पर्धा बीमा व्यवसायको चुनौतीको रुपमा रहेको छ ।


प्राइम लाइफ इन्स्योरेन्सः

कम्पनीले नेपालका सम्पूर्ण भुभागमा जीवन बीमा सम्बन्धि सचेतना फैलाउने कार्य भइरहेको भएतापनि देशको विकटतम भौगोलिक स्थितिका कारण धेरै स्थानमा जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम, बीमा शिक्षाका कार्यक्रमहरु नियमति रुपले सञ्चालन गर्न अुनकुल नभएको कारण अझ पनि जनमानसमा जीवन बीमा जनचेतनाको कमी हुनु, जीवन बीमा विषयमा अध्ययनरअध्यापनको आवश्यकता अनुरुप विस्तार हुन नसकिरहेको अवस्था, जीवन बीमा व्यवसायमा व्यवसायिक अवधारणको विकास हुन थप प्रयास आवश्यक रहेको, बीमा बजारमा क्रियाशिल अभिकर्ताहरु पूर्ण व्यवसायीक र पेशागत हुन नसकेको, कोरोनाको कारणले गर्दा बीमा सम्बन्धि केही अन्यौल सृजना भइ व्यवसायिक स्थितीमा केही सिथिलता आएको भएपनि हाल यस महामारी रोगलाई चुनौतीको रुपमा रहेको छ ।


बीमा क्षेत्रमा रहेको चुनौतीलाई समाना गर्दै नविनतम उच्चस्तरीय र आधुनिक स्तरको प्राविधिक जीवन बीमा सेवा प्रदान गरी संस्थागत कुशल व्यवस्थापन तथा पारदर्शिता जस्ता नीतिहरु अबलम्बन गरी बीमा शिक्षा तथा सचेतना कार्यक्रमलाई तिब्रता दिनुपर्ने देखिएको छ ।


 प्रभु लाइफ इन्स्योरेन्सः

कम्पनीले बीमा व्यवसाय लगायत अन्य क्षेत्रहरुमा समय समयमा देखा पर्ने उतारचढावका कारण विभिन्न समस्या र चुनौतीहरु उत्पन्न भएका छन् । देशको आर्थिक तथा व्यवसायिक वाताबरण पूर्ण रुपमा सहज नहुँदासम्म जीवनस्तर र आम्दानीमा यसको प्रत्यक्ष प्रभाव पर्न गई जीवन बीमा व्यवसायमा पनि यसको असर पर्नेहुँदा यी समस्या तथा चुनौतीको सामना गर्नु परेको देखिएको छ ।


 यूनियन लाइफ इन्स्योरेन्सः

कम्पनीले कोरोनाले पार्नसक्ने असर, देशमा आर्थिक मन्दी, क्रयशक्तिमा ह्रास, जीवन बीमा सम्बन्धि सर्वसाधारणमा प्रयाप्त जानकारी नहुनु तथा बीमा क्षेत्रमा दक्ष जनशक्तिको कमी प्रमुख चुनौती रहेको छ । यस्तै लगानीको क्षेत्र सिमित हुनु, बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाहरुलाई चुनौतीको रुपमा रहेको छ ।


 ज्योती लाइफ इन्स्योरेन्सः

कम्पनीले जनमानसमा बीमा सम्बन्धि चेतनानको अभाव हुनु, दक्ष कर्मचारीको अभाव, नयाँ योजना जारी गर्न अनुसन्धान तथा विकासको लागि प्रयाप्त र अद्यावधिक तथ्याङको अभाव, सिमित लगानीका क्षेत्रहरु तथा कोरोनालाई चुनौतीका रुपमा लिएको छ ।


 

यता सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पनि कुनै खालको चुनौती सार्वजनिक गरेको छैन । यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र मेट लाइफ इन्स्योरेन्सले कुनै पनि चुनौती सार्वजनिक गरेको छैन ।


http://arthatantra.com/2021/02/17/83930/

जीबन बीमा कम्पनीले बीमितलाई समयमै दाबी भुक्तानी गर्न छोडे, रकम १९.४३ % ले बढ्यो (विवरणसहित)


काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले बीमितलाई दिनु पर्ने दाबी भुक्तानी सुस्त हुन थालेको छ । कुनै पनि बिमितले बीमा बापतको दाबी भुक्तानी समयमा नै पाउनु उसको नैसर्गिक अधिकार हो । तर अहिले कम्पनीहरुले विभिन्न बाहनामा दाबी भुक्तानी प्रकृयालाई बिलम्ब गर्न थालेका छन् । सञ्चलनमा रहेका बीमा कम्पनीमध्ये १३ वटा कम्पनीको दाबी भुक्तानी हुन बाँकी रहेको रकम १९.४३ प्रतिशतले बढेको छ ।


 


गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४६ करोड ६७ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रकम रहेपनि चालु आवको सोही अवधिमा आईपुग्दा यो रकम बढेर २ अर्ब ९४ करोड ६१ लाख १६ हजार रुपैयाँ पुगेको छ । यद्यपी गत आवको दोस्रो त्रैमाससम्म दाबी भुक्तानी गर्न बाँकी कम्पनी ११ वटा मात्रै रहेपनि अलिहे प्रभु लाइफ र यूनियन लाइफ इन्स्योरेन्स थपिएका छन् ।


 


कम्पनीद्वारा प्रकाशित चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था अनुसार ६ वटा कम्पनीको दाबी भुक्तानी हुन बाँकी रकम छैन भने अन्य कम्पनीको करोडौ रुपैयाँ दाबी भुक्तानीको लगि बाँकी रहेको छ । दाबी भुक्तानी गरिसकेका जीवन बीमा कम्पनीमा सानिमा, सन नेपाल, महालक्ष्मी, रिलायबल, आईएमई र ज्योती लाइफ इन्स्योरेन्स रहेका छन् । बाँकी कम्पनीका दाबी भुक्तानी रकम बढ्दै गएको छ । कम्पनीले दाबी भुक्तानीलाई चुस्त दुरुस्त बनाउन नसकेको कम्पनीकै रिपोर्टले देखाएको छ ।


 


यो अवधिमा प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको १४८९.५७ प्रतिशत रहेको छ । कम्पनीको दाबी भुक्तानी हुन बाँकी रकम गत आवको दोस्रो त्रैमासमा १६ लाख ६९ हजार रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २ करोड ६५ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा दाबी भुक्तानी हुन बाँकी संख्या ५ रहेकोमा अहिले बढेर ६४ पुगेको छ । प्रतिशतको आधारमा हेर्दा सिटिजन पछि रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले बिमीतलाई भुक्तानी गर्न बाँकी रहेको रकम २५७ प्रतिशतले बढेको छ ।


 


गत आवको दोस्रो त्रैमासमा १० लाख रुपैयाँ बाकी रहेकोमा चालु आवको सोही अवधिमा आउँदा ३५ लाख ७० हजार रुपैयाँ रहेको छ । संख्याको आधारमा हेर्दा गत आवको दोस्रो त्रैमासमा १वटा रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १३ पुगेको छ । रकमको आधारमा हेर्दा पहिलोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने दोस्रोमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको गत आवको दोस्रो त्रैमासमा १ अर्ब २० करोड ८० लाख ४८ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यो रकम ७.११ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४० लाख ५० हजार रुपैयाँ पुगेको छ ।


 


यस्तै मेट लाइफको गत आवको दोस्रो त्रैमासमा ५४ करोड ५८ लाख ९ हजार रुपैयाँ बाकी रहेकोमा चालु आवको सोही अवधिमा यो ३३ प्रतिशतले बढेर ७२ करोड ९९ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । संख्यात्मक रुपमा हेर्दा गत आवको दोस्रो त्रैमासमा ३९ रहेकोमा चालु आवको सोही अवधिमा ४४८ वटा पुगेको छ ।




एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, राष्ट्रिय बीमा संस्थाले गर्नुपर्ने दाबी भुक्तानी बढेको छ । सरकारको स्वामित्व रहेको संस्थानले गत आवको दोस्रो त्रैमासमा १७ करोड ४० लाख ७२ हजार रुपैयाँ बाँकी रहेकोमा चालु आवको सोही अवधिमा २.३३ प्रतिशतले बढेर १७ करोड ८१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।


 


यो अवधिमा गुँरास लाइफ, प्राइम लाइफ, सुर्य लाइफ इन्स्योरेन्सको भने दाबी भुक्तानी गर्न बाँकी रहेको रकम घटेको छ । यता यूनियन लाइफ इन्स्योरेन्सको गत आवको दोस्रो त्रैमासमा भुक्तानी गर्नुपर्ने रकम थिएन चालु आवको दोस्रो त्रैमासमा ३० लाख ३१ हजार रहेको छ । कम्पनीको भुक्तानी गर्न बाँकी रहेको संख्या १६ वटा रहेको छ । यस्तै प्रभु लाइफ इन्स्योरेन्सको चालु आवको दोस्रो त्रैमासमा ११ वटा पोलिसीको ९१ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो रकम थिएन ।


 


कम्पनीहरुले दाबी भुक्तानी गनुपर्ने रकम कोरोनाको कारण ढिला हुँदा बढेको हुनसक्ने जीवन बीमक संघ नेपालका महासचिव पोशक पौडेलले बताउनु भयो । अहिले कोरोनाले गर्दा यो रकम समयमा नै भुक्तानी हुन नसकेको उहाँको तर्क छ । यस्तै महासचिव पौडेलका अनुसार पछिल्लो समयमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेसँगै दाबी भुक्तानी हुन बाँकी रहेका रकम पनि बढेका हो ।


 


‘नयाँ दाबी बढदै जान्छ, भोलुम बढदै जाँदा, म्याचुरिटी भुक्तानी पनि बढेको हो’ उहाँले भन्नुभयो ‘अहिले वैदेशिक रोजगारीमा जानु भएका नेपालीहरुको पनि कार्यरत देशमा निधन भएको छ, उहाँहरुको पनि निवेदन आउन बाँकी छ, यसले गर्दा बढेको हो ।’ तर कम्पनीहरुले भुक्तानी हुन बाँकी रहेको रकमलाई कम गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

http://arthatantra.com/2021/02/19/84036/