Tuesday, December 31, 2019

सेयर बजार बढ्नुपर्छ तर धेरै ठूलो छलाङ मार्नु पनि राम्रो होइनः सेबोन अध्यक्ष ढुंगाना

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकास पाएका भिष्मराज ढुंगाना धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । लामो समयदेखि ओरालो लागेको सेयर बजार ढुंगाना अध्यक्ष बनेर आएपछि बढ्न पनि थालेको छ । 

राष्ट्र बैंकजस्तो बलियो नियामक निकायमा बसेर काम गरेका ढुंगानाले नियामक निकाय पूर्णरुपमा बन्न नसकेको धितोपत्र बोर्डलाई कसरी अगाडि बढाउने योजना बनाएका छन ? यो विषयमा क्लिकमाण्डूका लागि सोभित थपलियाले ढुंगानासँग गरेको कुराकानी

धितोपत्र बोर्डमा तपाई अध्यक्ष भएर आएपछि बजारमा सुधार देखियो, बजारले तपाईलाई नै कुरेको हो र ?

अहिले सबैको मनोबल बढ्न थालेको जस्तो देखिएको छ । लगानीकर्तामा मनोबल खस्केको अवस्थाबाट सुधार आएको हो कि जस्तो देखिएको छ ।

धितोपत्र बजारमा पूर्वाधार बढाउने कस्तो योजना छन् तपाईसँग ?

पुँजी बजारमा स्थायीत्वको अवस्था कमजोर छ । बजार बढनुपर्छ । धेरै छलाङ मार्नु पनि राम्रो होइन । लगानीकर्तालाई धितोपत्र बजारमा लगानी गर्दा हामी सुरक्षित हुन्छौं भनेर अनुभूती हुने अवस्था हामीले सिर्जना गर्नुपर्ने बेला भएको छ ।

पछिल्लो समयमा धेरै कम्पनीको सेयर मूल्य १ सयभन्दा कम छ, १० कित्ता अनिवार्य गरेको छ, यसले समस्या हुँदैन ? 

१० कित्ता अनिवार्य गर्नैपर्छ भन्ने होइन । अहिले जलविद्युतमा लगानी गर्ने लगानीकर्तालाई पछिल्लो समयमा विद्युत् नियमन आयोग, धितोपत्र बोर्डलगायत सम्बद्ध निकाय बसेर यो समस्या समाधान गर्नुछ ।

केही समस्या छन् । परियोजना, परियोजना डेभलपर्ससँग पनि समस्या छन् । यसका निष्काशनको प्रक्रियामा पनि केही समस्या छन् । त्यसलाई आगामी दिनमा हामी समाधान गर्छौ ।

१० कित्तामा पुनरावलोकन हुनसक्छ भन्न खोज्नु भएको हो ?

कुनै समयमा न्यूनतम १० कित्ता किन्नै पर्ने व्यवस्था थियो । कुनै समय त्यो ५० कित्ता भयो । यो तलमाथि भइरहन्छ । बजारमा हाम्रो, लगानीकर्ताको आवश्यकता कस्तो हुन्छ भन्ने कुरा समयले नै निर्धारण गर्छ । यो परिवर्तन हुन पनि सक्छ वा भोलि नै बन्दहुन्छ वा परिवर्तन हुन्छ भन्ने अवस्थामा छैन ।

बजारको दायरा बढाउनका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा आएको छ नी ?

बैंकका सहायक कम्पनीलाई बैंकरको लाइसेन्स दिनका लागि पूर्वाधार पनि तयार भएका छन् । राष्ट्र बैंकले पनि बैंकलाई छुट्टै सहायक कम्पनी खोलेर कारोबार गर्न सहमति दिएको छ । तर यो विषय बीचको समयमा निकै बिवादित बन्यो ।

बैंकहरु हामी काम गर्न तयार छौं भन्छन् । अन्य निकायहरु बैंकलाई दिन हुँदैन भन्दै आएका छन् । अहिले २ पक्षमा कुरो मिलेको छैन । यो समयमा राम्रोसँग अध्ययन गर्नुपर्छ । यसले मुलकको हितमा हुन्छ भने दिनुपर्छ होइन भने दिनुहुँदैन । यो अध्ययनको विषय हो । यसको अध्ययन पूरा नभएसम्म यसै हो भनेर भन्न सकिने अवस्था छैन ।

लामो समयदेखि नयाँ स्टकको विषय उचालिँदै आएको छ । देशको अर्थतन्त्रलाई हेर्दा दोस्रो स्टक आवश्यक छ की छैन ?

दोस्रो स्टक एक्सचेञ्जको परिकल्पना बजारले गरेको छ । हाम्रोमा स्टक नै नभएर समस्या भएको होइन । भएको संस्थाको कार्यसम्पादन स्थिती, त्यहाँको प्राविधिक विषयलगायतका सन्दर्भमा केही कमजोरी छ की भन्ने चर्चा बजारमा छ ।

त्यसमा २ वटा पाटा छन् । पहिलो भनेको नयाँ स्टक ल्याएर उनीबीचमा प्रतिस्पर्धा गराउने भन्ने र दोस्रो भनेको भएको संस्थाको क्षमता अभिवृद्धि गराउने, प्रविधिक विषयमा कसरी बलियो बनाउने भन्ने विषय छ । विश्वको प्रवृति हेर्दा स्टकहरु मर्ज भएका उदाहरण पनि छन् । कतैकतै एकभन्दा बढी पनि छन् । हामीले कमोडिटी बजारको पनि विकास गर्न आवश्यक छ । त्यसका लागि पनि अध्ययन आवश्यक छ ।

लामो समयदेखि बुक बिल्डिङको कुरा उठिरहेको छ । यो काम कसरी अघि बढ्छ ?

सेयरको मूल्यलाई मार्केट बेस प्राइसिङ बनाउने मोडालिटी हो । बुक बिल्डिङ सिस्टम ल्याउनको लागि हाम्रा नियमावलीमा त्यो व्यवस्था छैन । हामीले अहिले नियमावली संशोधनका लागि लगिसकेका छौं । त्यो आएपनि शुरु गर्ने भनेर हाम्रो नीति तथा कार्यक्रममा राखेको छ ।

नयाँ कम्पनीहरुले फण्ड जुटाउन समस्या भयो भनिरहेका छन् । अन्य मुलुकमा हेर्दा प्रि–आईपीओ ल्याउने प्रचलन छ । यो विषयमा केही सोच्नु भएको छ ?

यो सेयर बजारको आवश्यकता हो । त्यही भएर हामीले विशिष्टिकृत लगानी कोषको योजना ल्याएको हो । यसमा इक्विटी फण्ड, भेञ्चर क्यापिटल र हेज फण्ड मोडालिटी राखेका छौं । गर्न चाहनले बोर्डमा आवेदन दिन सक्नेछन् । यसरी आएको खण्डमा प्रि–आईपीओ फण्डिङ गर्ने, रिसोर्सको ब्रिजिङ गर्ने काम यसले दिन्छ । यसलाई पनि आगामी दिनमा अगाडि बढाउने छौं ।

५० करोड रुपैयाँभन्दा बढी पुँजी भएका उत्पादनमुलक कम्पनीलाई पुँजी बजारमा ल्याउने विषय उठेको थियो । प्रक्रिया कहाँ पुग्यो ?

यसका लागि केही प्रक्रिया हामीले पूरा गर्नुपर्ने छ । यसका लागि रियल सेक्टरका कम्पनीलाई पुँजी बजारमा ल्याउनका लागि उनीहरुको सेयरको मूल्य दिनुपर्छ । अहिलेको व्यवस्थाले त्यत्ति सहज छैन । यसले उनीहरु आउनेवाला छैनन् । त्यसका लागि बुक बिल्डिङ प्रक्रिया जुन मार्केट बेस प्राइसिङ तय गर्ने मोडालिटी हो । त्यसको कानूनी संरचनाको काम अन्तिम चरणमा पुगेको छ । यसमा केही थ्रेस होल्डका कम्पनी आउनुपर्ने भनिएको छ । ती कम्पनीलाई पनि यसरी आउनु, यस्तो संरचना तयार भएको छ, तपाईहरुलाई यस्तो यस्तो फाइदा हुन्छ भनेर जानकारी गराउन आवश्यक छ ।

समय–समयमा सेयर बजारका कालोधनको कुरा उठने गरेको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

कालो धन छ की छैन ? कोसँग छ ? वा छैन भन्ने, भएको खण्डमा कारबाही गर्ने छुट्टै निकाय छ । त्यो विषयमा हामीले तिमीले यत्ति कालो धन ल्यायौं भनेर भन्न मिल्दैन । बजारका लगानीकर्ताहरुले जसरी काम गरेका छन् उनीहरुले पारदर्शी भएर काम गरेका छन् । कर तिरेका छन् । आम्दानी स्रोत राम्रो छ । आपराधिक क्रियाकलाबाट आर्जन गरेको पैसा सेयर बजारमा भित्रिएको छैन भन्ने विषयमा विश्वस्त हुने हो । यसका लागि केवाईसीको व्यवस्था गरिएको छ । हामीले त्यो हेरेर कारोबार गर्ने गरेका छौं ।

गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयले पनि अझै पूर्णता पाउन सकेको छैन, अब कति समय लाग्ला ?

गैर आवासीय नेपालीमा पनि नेपाली नागरिकता भएको तर विदेशमा ६ महिनाभन्दा बढी बसेको गैर आवासीय नेपाली हो भने अर्को भनेको नेपालको नागरिकता छैन ऊ विदेशी नागरिक भएको छ भने ऊ नेपाली मूलको एनआरएनए हुन्छ ।

उनीहरुलाई बजारमा प्रवेश गराउने छुट्टाछुट्टै मोडालिटी हुन्छ । नेपाली नागरिकता भएको नेपाली नै हो । अनलाइन पूर्णरुपमा चलेपछि आवश्यक प्रावधान पूरा गरेर अनलाइनबाट अमेरिकामा नै बसेर नेपालको सेयर किनबेच गर्न सक्छ । अहिलेको कानूनले त्यसमा असर गर्दैन । नेपाली नागरिकता नभएकालाई विदेशी सहर चिन्नुपर्छ । त्यसका लागि कानूनी संरचना परिवर्तन गर्नुपर्छ । विदेशी विनिमय ऐन पनि सरकारसमक्ष पुगिसकेको छ । कानून पूरा भएपछि काम शुरु हुन्छ ।

नेपालमा अनलाइन आएपछि बजारमा सकारात्मक परिणाम आउन थालेको छ । त्यसैले अनलाइन आएको हो । नेपालको पुँजी बजारमा यसले राम्रो प्रभाव छोडछ । विश्वभर रहेका लगानीकर्तालाई एकै ठाँउमा ल्याउने काम गर्नेछ ।

सेयरको कारोबार देशका विभिन्न भागबाट शुरु भएको छ, त्यसका लागि यसको बारेमा ज्ञान चाहिएला, बोर्डले वित्तीय साक्षरतामा कत्तिको ध्यान दिने छ ?

सेयर बजारमा लगानी गर्नु लगानीकर्ताको आफ्नो निर्णय हो । आफ्नो पैसा कहाँ लगानी गर्ने रु कतिमा किन्ने ? कतिमा बेच्ने  ?  भन्नेमा स्वतन्त्र हुन्छ । बजारका कारोबार गर्दा धेरै विषयमा ध्यान दिन आवश्यक छ । जानकारी नभइ कारोबार गरेको खण्डमा समस्या हुन्छ । नेपालमा पुँजी बजार सम्बन्धी साक्षरताको अभाव छ । आगामी दिनमा यो बढाउन आवश्यक छ । जसले लगानीकर्तालाई दीर्घकालीन लगानी गर्न सहजहोस् ।

यो नियामक निकाय हो, समयमा आफ्नो विवरण नबुझाउने कम्पनीको कमी छैन, यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

बोर्डले आफ्नो जिम्मेवारीको काम पूरा गर्नैपर्छ । नियमनकारी निकाय कडा हुनुपर्छ भएन भने बजारमा अनुशासन हुँदैन । कम्पनीहरुले कुन समयमा के गर्ने भनेर प्रष्ट व्यवस्था नै गरेको छ । ऐनभन्दा माथी कोही पनि हुँदैन । कतिपय कुरा विविध कारणले गर्दा नमिलेका हुन्छन । त्यस विषयमा पनि ध्यान दिनुपर्छ । कमजोरी चाहेर भएको हो वा नचाहेर भएको हो भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।

स्टक डिल्लरको विषय अझैँ टुंगोमा पुग्न सकेको छैन, कहिले टुंगोमा पुग्छ ?

लगानीकर्ताको चाहना धेरै हुन्छन् । उनीहरुको चाहना एकैपटक पूरा नहुन सक्छ । काम गर्दै जाँदा समय लाग्न सक्छ । यो पनि चाँडै नै निर्णयमा पुग्ने छ । अनलाइन आएको छ । तर पनि अहिलेसम्म डिम्याट नम्बर, बैंक खातामा अनलाइन सिस्टम जोडिन सकेको छैन । यो काम विस्तारै हुँदै जानेछ ।

कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स कहिले दिनुहुन्छ ?

कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिनका लागि आवेदन खुलेको थियो । त्यसमा ५ वटाको आवेदन परेको छ । त्यसमा पनि २ वटाको मूल्यांकन भइसकेको छ । प्र्राप्त भएको निवेदनबाट कसलाई दिन सकिन्छ त्यसको अध्ययन गरेर हामी चाँडै नै निर्णयमा पुग्छौं ।

यसको नियमन र सुपरीवेक्षणलाई कसरी भरपर्दो बनाउने ?

हामीले लाइसेन्स दिएर नियमन र सुपरीवेक्षणको दायरामा ल्याउनुपर्छ । उनीहरुलाई नियमन कसरी गर्ने भन्ने ठूलो विषय होइन । उनीहरुले काम गर्न थालेपछि जसरी सुपरीवेक्षण हुने हो । सर्वसाधारणको हितमा काम हुने हो । त्यो भएर नै छाड्छ । काम गर्न लाग्दा ऐनको कुनै बुँदालाई समातेर काम गर्न सकिन्छ ।

कानूनले नचिने पनि केही कमोडिटीहरुले कारोबार गरिरहेका छन् भनिन्छ, एक्सन लिनुहुन्छ कि लिनुहुन्न ?

उनीहरु नियमनको दायराभित्र, कानूनको परिधिभित्र हामीलाई समावेश गरियोस् भनेर आएका छन् । हामीले त्यसलाई चाँडै टुंग्याउनु पर्छ । हामीले टुंगो लगाएपछि पनि त्यसरी सञ्चालनमा आएको खण्डमा कारबाही गरिन्छ । अहिले कारबाही गर्छौभन्दा त्यो औचित्यपूर्ण हुँदैन । कानूनले कम्पनी नचिनेको होइन उसको कारोबारलाई नचिनेको हो । कारोबार कसरी गर्ने भन्ने ऐन बनेको छ । हामीले गर्नुपर्ने काम बाँकी नै रहेकाले अहिले नै कारबाही गर्ने अवस्थामा हामी पनि छैनौं ।

धितोपत्र बोर्ड कहिलेसम्म भाडामा नै बसिरहन्छ ?

अहिले धितोपत्र बोर्ड निकै कठिन अवस्थामा छ । स्टाफ कलेजको भवनमा छ । यो भवन आफूलाई चाहियो भनेर सूचना निकालिसकेको छ । हामीले बहालका लागि सूचना निकालिसकेका छौं । तत्कालका लागि काम गर्ने राम्रो वातावरण बनाउन उपयुक्त स्थानमा जानैपर्छ । यो भनेको पुँजी बजार नियमन गर्ने निकाय हो । यसका लागि दीर्घकालीन रुपमा सोच्नुपर्छ । आफ्नै जग्गा, आफ्नै घर आवश्यक छ । यसका लागि सरकारसँग समन्वय गर्छौ । हामी त्यसमा लागी परेका छौं ।