Thursday, September 29, 2022

२१ वर्षअघि १ लाख लगानी गरेर अर्बपति बनेका तामाङले यसरी ठगे बचतकर्तालाई



सोभित थपलिया

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा २१ सयभन्दा धेरै सदस्य छन् । ती सदस्यमध्ये यस संस्थाका अध्यक्ष इच्छाराज तामाङले १५०३ जनालाई ठगिसकेका छन् ।


यही ठूलो ठगी प्रकरणपछि सहकारीका सबैभन्दा ठूला ठग भनेर परिचित छन् तामाङ । उनी सिभिल समूहका अध्यक्षसमेत हुन् ।

उनको जालोमा अझै कति सदस्य परेका छन्, खोजी भइरहेको छ । आफू पीडित भएको भन्दै आउने आउने संख्या बढिरहेको प्रहरीको भनाइ छ । उनले प्रत्येक व्यक्तिबाट ४ हजारदेखि १४ करोडसम्म ठगी गरेका छन् ।


तामाङले यतिधेरै व्यक्तिलाई ठगी गर्न सानो समय खर्चेका छैनन् । आफ्नो कम्पनीमा विश्वास गरेर आएका सदस्यलाई २१ वर्षदेखि आफ्नो जालोमा पारे ।



निक्षेपकर्तालाई नियतनै राखेर ठग्ने योजना बनाएका तामाङ २०५७ सालदेखि सहकारीमा लागेका थिए । सहकारीको सिद्दान्त भनेको सदस्यको हितनै हो । तर, तामाङ भने लगानीकर्तालाई ठग्न आफूमात्र नभएर आफ्नो परिवार र नातागोतालाई समेतसँगै हिँडाए । त्यही गलत कामको परिणाम अहिले उनी प्रहरीको चिसो छिडीमा खोरभित्रको हावा खाँदैछन् ।


२०५७ सालमा १ लाख रुपैयाँ सेयर लगानी गरेका तामाङ २१ वर्षको अवधिमा अर्बौपति बने । आजसम्मको नियति भोग्दै तामाङ अबको १० वर्ष जेलको हावा खानुपर्ने छ ।


शक्ति, सत्ता, पैसा र सन्किपनको भरमा जसलाई जति ठगे पनि पचाउनसक्छु भन्ने मानसिकताले नै सहकारीका निक्षेपकर्तालाई ठग्न थालेका तामाङ अन्ततः प्रहरी हिरासतमा पुगेरै छाडे ।


प्रहरीको प्रारम्भिक अनुसन्धानले ५ अर्ब ७६ करोड ठगेको देखिए पनि करिब ७ अर्ब ठगेको अनुमान छ । जानकारकाअनुसार उनको सम्पति १५ अर्बभन्दा बढी नै छ ।


तामाङ असोज २० गते युरोप उड्दै थिए


निक्षेपकर्तालाई ठगि गरेको समाचार व्यापक हुन थालेपछि तामाङ हतास बनेका थिए । कुनैपनि बेला उनलाई प्रहरीले पक्राउ गर्छ भन्ने उनलाई लागिरहेको थियो ।


उनी असोज २० गते युरोप उड्ने योजना बनाइरहेका थिए । अध्यक्ष भने अमेरिका जाने तयारीमा थिए ।


उनीविरुद्ध सीआईबीमा उजुरीसमेत पर्न थालेको थियो । प्रहरीमा उजुरी पर्न थालेपछि असोज १८ गतेनै उनलाई पक्राउ गरियो ।


यदि उनी विदेश गएको भए उनीविरुद्ध अनुसन्धान गर्न ठूलो समस्या हुन्थ्यो । उनलाई पक्राउन गर्न इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्नुपर्थ्यो तर त्यो त्यत्ती सजिलो थिएन ।


ठगीको शुरुवात


हाउजिङ व्यवसाय गर्ने लक्ष्य साथ उनले २०५७ सालमा सहकारी स्थापना गरे । उनलाई हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवनराज बज्रचार्य, डा.दुर्गा प्रसाद संग्रौला, सूर्यप्रसाद संगौलालगायतले साथ दिएका थिए ।


तामाङले सहकारीमा एक लाख रुपैयाँको सेयर लगानी गरेर सेयर सदस्य बने । त्यसपछि उनले पटक पटक संस्थामा आफ्नो सेयर स्वामित्व बढाउँदै गए । संस्थाको स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष बने ।


२०७३ सालसम्म संस्थापक सल्लाहकारका रुपमा काम गरे । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठलाई बनाइयो । श्रेष्ठलाई अध्यक्ष बनाए पनि सबै काम तामाङ आफैले गर्दै आएका थिए ।


श्रेष्ठ नाम मात्रैको अध्यक्ष थिए । उनको हस्ताक्षरबाहेक केही पनि नचल्ने र सबै काम तामाङले नै गर्ने गरेको उनले प्रहरीको बयानमा भनेका छन् ।


सहकारीले त्यो समयमा हाउजिङमा मात्रै नभएर जलविद्युत्, यातयात, सञ्चारलगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा संचालन गर्ने लक्ष्य राख्यो ।


२०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुर भैसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको थियो ।


आफूले बनाएको हाउजिङ २०६२/२०६३ सालसम्म हाउजिङ परियोजनाकारुपमा विभिन्न स्थानमा जग्गा खरिद गरी हाउजिङ बनाएर गर्न थाले । २०६३ सालमा हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट गर्न नहुने र छुट्टै कम्पनी खडा गरी कारोबार गर्नुपर्ने व्यवस्था भयो ।


त्यसपछि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरु गरेको थियो । एउटा कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालमा सिभिल अपार्टमेन्ट प्रालि दर्ता गरे ।


त्यो बेलासम्म तामाङको आम्दानी दिनमा दुई गुणा, रातमा चौगुणा हुन थाल्यो । यसले उनको मनमा लोभ र पाप एकै पटक पलाउन थाल्यो ।


जसले गर्दा उनले त्यही बेला २१/२२ वटा जति कम्पनीहरु दर्ता गरी सञ्चालन गरे । जसबाट क्रमैसँग सिभिल होम्स समेतका कम्पनीहरुले चरणवद्ध हाउजिङ परियोजनाहरु संचालन गरे ।


भूकम्प अघिसम्म उनको हाउजिङ व्यवसाय राम्रो थियो । जब भूकम्पले अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्र्यायो । त्यसपछि उनले सहकारीमा निक्षेप सदस्यले जम्मा गरेको पैसाको दुरुपयोग गरे ।


उनले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट सिभिल होम्ससमेतका सबै कम्पनीबाट करिब ५ अर्ब रुपैयाँ लगेका छन् । त्यो रकम तिर्न बाँकी नै छ । उक्त रकम सहकारीका निक्षेपकर्ता हो ।


उनले सहकारी खोलेर सदस्यलाई विभिन्न प्रलोभनमा पारेर संकलन गरेको निक्षेप अपार्टमेण्टमा लगानी गरेर लगानीकर्ताको विचल्ली बनाएका हुन् ।


उनले सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रालि, सिभिल स्टेट्स प्रालि, सिभिल बिजनेश कम्प्लेक्स, सिभिल प्रालि र सिभिल अपार्टमन्ट प्रालि र सिभिल ग्रुप प्रालिसमेतका नाममा जग्गा तथा भवनसमेत छन् । यी कम्पनीमाफर्त पटक–पटक गरेर सहकारीबाट ५ अर्ब ऋण प्रवाह भएको हो ।


अहिले भने उनले सदस्य बचतकर्ता पैसा फिर्ता गर्ने दायित्व मेरो होइन, संस्थाको हो भन्न थालेका छन् ।


तामाङको ठग्ने यस्तो रणनीति


तामाङले सदस्यलाई ठग्न विभिन्न प्रलोभनका जाल बुने । त्यसको निकै रुचाइएको रणनीति बन्यो चिठ्ठा उपहार ।


उपहार पाउने भनेपछि सहकारीका सदस्यहरु पनि निकै लोभी भए । सहकारीले १२ देखि १७ प्रतिशतसम्म ब्याज दिने र सुनको सिक्कदेखि घर, गाडी, फ्रिज, टिभी, फ्यान लगायतका विभिन्न उपहार राखे । त्यसले बचतकर्तालाई लोभ्यायो ।


तामाङले सहकारीले १७ प्रतिशत ब्याज दिने, कम्तिमा १५ लाख रुपैयाँ निक्षेप राखेको ३ वर्ष पुगेपछि २.५ ग्रामको सुनको सिक्का उपहार दिने भनेर घोषणा गरे । तर, त्यो सबै प्रलोभन रहेछ ।


उनले ठग्नको लागि १४०० वटा चिठ्ठा बनाएका थिए । १५ लाख रुपैयाँभन्दा बढी निक्षेप राख्नेलाई सुनको सिक्का मात्रै नभएर घर, गाडी, फ्रिज, टिभी, पंखा लगायतका उपहार दिए ।


ठगिनेमध्येका एक जना सदस्यले आफू पनि तामाङको लोभमा परेर ठगिएको बताए । आफ्नो ५० र श्रीमतिको ३३ लाखसहित ८३ लाख रुपैयाँ सहकारीको मुद्दती निक्षेपमा राखेको र अहिले आफ्नो रकम त्यही लोभले नै फसेको ति सदस्यले बताए ।


‘सहकारीमा राख्दा बैंकको भन्दाबढी १२ देखि १७ प्रतिशतसम्म ब्याज दिने भनेको थियो’ उनले भने ‘हामीले पनि लोभमा परेर पैसा राखियो, सुनको सिक्का पनि पाएकै हो, तीन वर्ष अघिसम्म सहकारीले ब्याज बापतको रकम दिने गरेको र तीन वर्षयता ब्याज, साँवा केही पनि आएन ।’


तामाङको प्रलोभनमा परेर एक जनाले घर र एक जनाले गाडी पाएको मान्छे आफूले पनि भेटेको ति पीडित सदस्यले बताए । ‘फलानोलाई यस्तो उपहार दियौं तपाईले पनि पाउनुहुने छ’ उपहार पाउनेलाई देखउँदै भन्थे ।


तामाङले उपहारको प्रलोभनमा पारेर सदस्यलाई ठग्ने प्रतिवादीहरुले प्रहरीलाई बयान दिएका छन् । त्यसले पनि निक्षेपकर्ताले भनेको कुरा प्रमाणीत भएको छ ।


तामाङ आफू ऋणमा डुब्दै गएपछि सिभिल होम्सको नाममा रहेको काठमाडौं जिल्लाको सुन्धारा चाइनाटाउनमा रहेको ६ रोपनीमा रहेको ११ तल्ले भवन १ वर्ष अगाडि अजेयराज सुमार्गी पराजुलीको कम्पनी मुक्ती श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोड रुपैयाँमा बिक्री गरेका थिए । त्यो रकम पनि तामाङले सहकारीमा जम्मा नगरेर आफ्नो स्वार्थ पूरा गर्ने काममा प्रयोग गरेका छन् ।


तामाङले आफूसँग भएको सम्पती बिक्री मात्रै नभएर


सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी तथा सिभिल ग्रुपबाट मासिक ८ लाख रुपैयाँ तलब लिँदै आएका थिए ।


जसमा सहकारी संस्थाबाट मासिक ५ लाख रुपैयाँ र सिभिल ग्रुपबाट ३ लाख रुपैयाँ गरी मासिक ८ लाख तलब लिने गरेको सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको बयानमा उल्लेख छ ।


तामाङले पहिलादेखि नै संस्थामा १५ अर्बभन्दा बढीको सम्पती रहेको भन्दै आएका थिए । आफूसँग पैसा हुँदा हुँदैपनि निक्षेपकर्ताको निक्षेप फिर्ता नगरेका कारण २१ वर्षको अवधिमा एक लाख रुपैयाँको लगानी हुदै अर्बौपति बनेका तामाङ प्रहरी हिरासतमा पुगेका हुन ।


असोज १८ गते पक्राउ गरेका तामाङलाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा ८ वर्षको कैद र ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती माग गर्दै आरोपपत्र दायर गरेको छ ।

https://clickmandu.com/2021/12/176533.html

Tuesday, September 20, 2022

नेपाल असाध्यै राम्रो छ, पर्यटन र उर्जामा अथाह सम्भावना छः भुटान थिम्पुका मेयर किन्ले



काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवलोकनका लागि चीनका ल्हासा सिटी र लौन्चौ सिटीका मेयरसँगै भुटानको थिम्पुको मेयर र भारतको नर्थ दिल्लीका महानगरपालिकाका मेयरलाई बोलाएको थियो । इन्द्रजात्राको पर्सीपल्ट विदेशी पाहुनालाई कामपनाले भक्तपुर र ललितपुरका एतिहासिक क्षेत्र अवलोकन गरायो । 

५ दिन लामो नेपाल बसाइमा नेपालको परम्परा, इतिहास र संस्कृति निकै मन पराए । यसै सन्दर्भमा क्लिकमाण्डूका लागि सोभित थपलियाले भुटान थिम्पु नगरका मेयर किन्ले दोर्जीसँग पर्यटन वर्ष तथा नेपालको विकासबारे कुरा गरेका छौं । प्रस्तुत त उनैसँग गरिएको कुराकानीको सम्पादित अंश ।


नेपालमा आएर इन्द्रजात्रा हेर्नुभयो, यहाँका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नुभयो, कस्तो लागेको छ ?

म काठमाडौं आएको पहिलो पटक होइन, धेरै पटक भयो । भक्तपुर भने यो दोस्रो पटक आएको हो । पहिलेको तुलनामा अहिले धेरै परिवर्तन भएको छ । नेपालमा पनि राम्रोसँग विकास भएको रहेछ, अझै पनि विकासको क्रममा रहेको छ ।


अहिले सरकार पनि स्थिर छ । यसले गर्दा पनि नेपालले विकासमा राम्रो फड्को मारिरहेको छ । नेपालको विकास निर्माणमा अवरोध हुँदा हाम्रो मन दुख्छ । हामी बौद्ध धर्म मान्छौं, नेपालमा हिन्दु धेरै धर्म मान्ने हुनुहुन्छ । बुद्धिजम भनेको हिन्दुजमबाट आएको हो । देवताको नाफा फरक भएपनि नेपालमा हुने देउता र भुटानमा भएको देउता एउटै नै हो । हामी ओमकार परिवारभित्रै पर्छौ ।


भूटानबाट नेपालमा धेरै मान्छे घुम्न आउने गरेका छन् । त्यसकारण पनि नेपालमा पर्यटकको लागि चिन्ता छैन । नेपाल आउन धेरै टाढा पनि छैन । जहाजमा १ घन्टामा आइपुगिन्छ । यहाँ आएपछि हामिलाई आफ्नो घर जस्तो लाग्छ । विदेशी भूमिका आएजस्तो लाग्दैन । नेपालमा आउँदा घर आएको जस्तो लाग्छ ।


इन्द्रजात्रा भने नेपालमा पहिलो पटक देखेको हो । यो मैले यसअघि हेर्न सुन्न पाएको थिएन । त्यो जात्रामा राष्ट्रपति, मन्त्रीदेखि सामान्य परिवारका सदस्यहरु पनि आउनुहुँदो रहेछ ।

सबैले आ–आफ्नो पोशाक लगाउने आउनु हुने रहेछ । मलाई पनि मेरो देशमा यस्तै भए हुने थियो भन्ने लाग्यो । हाम्रो पनि धेरै खालको संस्कृति छन् ।


देश विकास हुँदै जाँदा धेरै कुरा भुल्ने हाम्रो बानी छ । विकाससँगै यसलाई परिस्कृत गर्दै लैजान आवश्यक छ । विकास र संस्कृति फरक हुनुहुँदैन । विकास भइरहने तर संस्कृति भुल्दै जाने हो भने त्यसले कसैलाई पनि फाइदा हुँदैन । संस्कृतिले मान्छेलाई सामाजिकीकरण हुन पनि सघाउँछ  ।


तपाई नेपाल धेरै पटक आएको छु भन्नु भयो, स्थानीय निर्वाचन अघि र पछि यहाँ केही फरक पाउनु भयो त ?

नेपालमा स्थिर सरकार आएको छ । स्थानीय निर्वाचन पछि जनप्रतिनिधिले गरेको कामले सहरमा धेरै विकास भएको छ । अन्य पनि धेरै राम्रो काम भएको पाएँ । यसो हुँदा नेपालमा पर्यटकहरु धेरै आउने र नेपाल भ्रमण वर्ष २०२० सफल हुन सघाउ पुग्छ जस्तो लाग्छ मलाई ।


पहिलाको जस्तो ५, ६ महिना सरकार परिवर्तन हुने समस्या अहिले छैन । पहिला राजनीतिक अस्थिरता थियो । त्यसले नेपालमा आउने पर्यटकको संख्या घटन सक्ने थियो । तर अहिले त्यो अवस्था छैन ।


त्यसकारण नेपालमा आउने पर्यटकको संख्या बढ्ने देखेको छु मैले । र स्थानीय निर्वाचन भएर आएका जनप्रतिनिधिले गरेको काम देखेर म धेरै नै खुसी भए । भक्तपुरमा भूकम्पले धेरै क्षति पुगेको थियो ।


अहिले धेरै भौतिक पूर्वाधार निर्माण भइसकेको रहेछ । यो हेर्दा धेरै नै खुसी बनाएको छ । तर नेपालमा भ्रष्टाचार छ भन्ने सुनिन्छ । हुन त भुटानमा पनि भ्रष्टाचार नभएको भने होइन ।

नेपालमा भन्दा भुटानमा केही कम छ । नेपालमा पनि यो क्रमलाई घटाउनै पर्छ । भ्रष्टाचार कम गरेर भएका भौतिक पूर्वाधार जानहितमा हुने गरी लगाउनु पर्छ । तसर्थ नेपालमा पनि धेरै विकास भएको छ । भ्रष्टाचार कम हुने, सरकार स्थिर हुने विकास हुँदै जाने हो भने पर्यटन आउन कसैले रोक्न सक्दैन ।


नेपालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

नेपाल पर्यटकको लागि सबै कारण राम्रो छ । नेपालमा लाखौ पर्यटक आउँछन् । पर्यटन वर्षमा नेपालले पर्यटक आउँदैनन् की भनेर चिन्ता लिनुपर्दैन । भुटानबाट पनि निकै पर्यटक आउने छन् । नेपालमा मौसम राम्रो छ । यहाँका पर्यटकीय गन्तव्य पनि निकै राम्रा छन् । म पहिलोपटक चन्द्रागिरी हिल्स पुगेँ । त्यहाँ कति राम्रो बनाएको रहेछ । त्यो ठाँउ नेपालमा धेरै छन् । त्यसले पर्यटकलाई आकर्षण गर्छन ।


नेपालको विकासमा सघाउने पर्यटकभन्दा अरु के देख्नुभएको छ यहाँले ?

नेपालमा पर्यटकको मात्रै नभएर जलविद्युतको पनि राम्रो सम्भावना छ । नेपालले जलविद्युत प्रयाप्त मात्रामा विद्युत उत्पादन गर्न थाल्यो भने नेपाल निकै धनी देश हुनेछ । भुटान र नेपाल जलविद्युत क्षेत्रमा निकै राम्रो सम्भावना भएका देश हुन् । बनाउँदा प्रकृतिलाई भने डिस्टर्भ गर्नु भएन, त्यो नगरी किन बनाउन सकिन्छ । गाडी राष्ट्रहरुले इन्धन बेचिरहेका छन् । हामीले जलविद्युत बेच्न सक्छौं । अब त्यसमा लाग्नुपर्छ ।

https://clickmandu.com/2019/09/94941.html


Sunday, September 4, 2022

निक्षेप आकर्षित गर्न बैंकहरुको नयाँ स्किम, बीमा सुविधासहित १० गुणासम्मको प्रतिफल



सोभित थपलिया


काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भएका बेला वाणिज्य बैंकहरुले साना निक्षेपकर्ताहरुलाई आकर्षित गर्न अनेकन अफरहरु सार्वजनिक गर्न थालेका छन् ।


विगतमा अत्यधिक कर्जा प्रवाहका कारण अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले निक्षेप संकलनमा नयाँ तरिका अपनाएका हुन् ।


छरिएर रहेका साना निक्षेपलाई एकत्रित गर्दै दीर्घकालमा आकर्षक प्रतिफल दिने भन्दै उनीहरुले दीर्घकालीन मुद्दति निक्षेपका योजना सार्वजनिक गर्न प्रतिष्पर्धा गरिरहेका छन् ।



मुद्दति निक्षेपमा ब्याजदरसँगै निःशुल्क डेबिट तथा क्रेडिट कार्डको सुविधाका साथै बीमाको सुविधा समेत समावेश गरेका छन् ।


हालसम्म यस्ता योजना गर्ने बैंकमा एनआईसी एशिया, ग्लोबल आइएमई, सिभिल, कुमारी, सानिमा बैंक छन् । यी बैंकहरुले अवधिक अनुसार २ देखि १० गुणासम्म प्रतिफल दिने बताइरहेका छन् ।


यस्ता योजनाले दीर्घकालीन बचत गर्न चाहनेहरुलाई आकर्षित गर्न सकिने उनीहरुको विश्वास छ । यस प्रकारको योजनाले स–सानो पुँजी प्रणालीमा आउने अपेक्षा छ ।


‘बैंकहरुले १ वर्षे अवधिको निक्षेप लिएर १५ वर्षका लागि ऋण दिइरहेका छौं,’ सिभिल बैंकका सीइओ सुनिल पोखरेलले भने, ‘त्यस्तो खालको मिसम्याचलाई कम गर्न यसप्रकारको योजना आवश्यक छ ।’


यसप्रकारको योजनाले बीमाले दिनेभन्दा बढी लाभ दिने उनको दाबी छ । खासगरी बालबालिकाको भविष्यलाई हेरेर गरिने बचतमा यसले फाइदा दिने उनको भनाइ छ ।


‘अहिले ५ लाख रुपैयाँ राख्यो भने ६ वर्षमा पछि १० लाख रुपैयाँ हुन्छ भने बचतकर्ताहरु आकर्षित हुन सक्छन्,’ उनले भने ।


एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने पनि यो योजना सबैका लागि उपयोगी हुने बताउँछन् । उनले बैंकहरुले यसप्रकारका विशिष्ट मुद्दती खाता योजना ल्याउन लागेको बताउँछन् ।


‘विशिष्ट प्रकारको मुद्दति खाता हो, जसमा सर्वाधिक ब्याजदर पाइन्छ, तोकिएको अवधि पूरा भएपछि १० गुणासम्म प्रतिफल पाइन्छ,’ उनले भने ।


कुन बैंकको कस्तो छ योजना


एनआइसी एशिया बैंक

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’मा सहभागी हुने ग्राहकले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर, १० वर्ष २ महिना १४ दिनमा तीन गुणा, १२ वर्ष ११ महिना २ दिनमा चार गुणा, १५ वर्ष १३ दिनमा पाँच गुणा रकम उपलब्ध गराउने अफर ल्याएको छ ।


साथै, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनम ९ गुणा, २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा रकम फिर्ता पाउने बैंकको भनाइ छ ।


बैंकको योजनाबाट विशेष गरी विप्रेषण आर्जक र उनीहरूका परिवारले बढी फाइदा पाउने बैंकको दाबी छ । सामान्य व्यक्तिगत बचत खाता धारकहरूले ६ वर्ष ४ महिनामा दोब्बर रकम पाउँदा रेमिट्यान्स खाता हुनेले ५ वर्ष १० महिना १४ दिनमै दोब्बर रकम पाउने बैंकको अफरमा उल्लेख छ ।


विप्रेषण आर्जकहरूले ९ वर्ष ४ महिना १० दिनमा तीन गुणा रकम पाउँदा १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम पाउने बैंकको दाबी छ ।


बैंकले व्यक्तिगत र रेमिट्यान्स आर्जकका लागि मात्र नभइ यो योजना संस्थागत निक्षेपकर्तालाई समेत लक्षित गरेको छ ।


संस्थागत निक्षेपमा ७ वर्ष २ महिना २७ दिनमा दोब्बर, ११ वर्ष ८ महिना ९ दिनमा तीन गुणा, १४ वर्ष १० महिना २९ दिनमा चार गुणा हुँदै २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा निक्षेप रकम फिर्ता हुने व्यवस्था गरिएको छ ।


बैंकका अनुसार निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकम तथा सो अवधिसम्म पाकेकको ब्याज रकमको ९० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने व्यवस्था रहेको छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।


यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तो खाता १० हजारमै खोल्न सकिने छ । बैंकका अनुसार यो ४ जनालाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत योजना हो । बीमामा सहभागी हुनेले ४० लाखसम्मको घातक रोग बीमा, ४० लाख सम्म्को दुर्घटना बीमा, ४ लाख सम्मको औषधी उपचार बीमा (ओपीडीमा ८० हजार र अस्पताल भर्ना खर्च ३ लाख २० हजार) सम्मको सुविधा पाउन सकिने छ ।


यो योजनामा सहभागी हुँदा कर्जा सम्बन्धी ३ वटा फाइदा रहेको छ । तनि वटा फाइदा छन् । जसमा ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पूर्व स्वीकृत कर्जा सुुविधा छ ।


यो योजनामा सहभागी हुनेले ५ लाखसम्मको क्रेडिट कार्ड निःशुल्क पाउनेछन् भने ५ वर्षसम्म निःशुल्क डेबिट कार्य÷मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कसनै पनि एटिएमबाट निःशुल्क रकम निकाल् सकिने सुविधा रहेको छ । यस्तै स्वीप इन स्वीप आउन सुविधा साथै अन्य २४ सर्वश्रेष्ठ योजना रहेको बैंकले जनाएको छ ।


सिभिल बैंक


सिभिल बैंकले पनि आकर्षक मुद्दती योजनाहरु ‘दोब्बर प्लस र तेब्बर प्लस’ ल्याएको छ । यी मुद्दति योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा पाउने बैंकको दाबी छ ।

यस योजनामा सहभागी हुनेहरुले दश लाखसम्मको जीवन बीमा सुबिधा र दश लाखको दुर्घटना बीमा सुबिधा पाउनेछन् । ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।


बैंकका अनुसार मुद्दती अवधिकोबीचमा कुनै कारणबस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण लिन सकिने छ ।


कुमारी बैंक

कुमारी बैंकले पनि व्यक्तिगत खातावाललाई लक्षित गर्दै कुमारी धनवृद्धि मुद्दति योजना ल्याएको छ । १० गुणासम्म प्रतिफल पाउन सक्ने बैंकले जनाएको छ । निक्षेपकर्ताले जम्मा गरेको सावाँ रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्म प्रतिफलप्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।


५ वर्ष १० महिना २५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी, १० वर्ष २ महिना १६ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तेब्बर, १२ वर्ष ११ महिना ९ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र २१ वर्ष ७ महिना १८ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको १० गुणासम्म प्रतिफल पाउनेछन् । समयावधि सकिएपछि तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा मुद्दति निक्षेप कर्जा योजना समेत लिन सकिने छ ।


ग्लोबल आईएमई

ग्लोबल आइएमई बैंक पनि मुद्दति निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आईएमई चक्रवर्ती मुद्दति योजना’ ल्याएको छ ।


ठूला–ठूला सपनाको साना–साना आधार, साना–साना बचतले गरौ ठूलो सपना साकार भन्ने नाराका साथ बैंकले यस्तो योजना ल्याएको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयभित्र मुद्दति निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुने बैंकको तर्क छ ।


यस योजनामा निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुने र मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार हुनुपर्ने छ । ६ वर्ष ८ महिना (८० महिना)मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा भुक्तानी, १० वर्ष ७ महिना (१२७ महिना) मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, १३ वर्ष ४ महिना (१६० महिना) मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणासम्म प्रतिफल पाउनेछन् ।


सानिमा बैंक

सानिमा बैंकले सानिमा बम्पर धमाका मुद्दति खातामा न्यूनतम अवधिमा ५ गुणासमम प्रतिफल दिने योजना ल्याएको छ । निक्षेपकर्ताले जम्मा गरेको साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र ५ गुणासम्म प्रतिफल दिने योजना ल्याएको हो ।

बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्दती खाता र सानिमा धमाका मुद्दती खातामा ५ गुणासम्म प्रतिफल दिने योजना ल्याएको छ ।

यसमा न्यूनतम मौज्दात ५० हजार हुनुपर्नेछ । रेमिट्यान्स धमाका मुद्दती खाता ६ वर्ष ७९ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा, ९ वर्ष १८ महिनामा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, ११ वर्ष ५८ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र १३ वर्ष ४५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ५ गुणासम्म सम्म प्रतिफल पाउनेछन् ।


यस्तै सानिमा धमाका मुद्दति खाता योजनामा ६ वर्ष ३२ दिन दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा, १० वर्ष १ महिनामा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, १२ वर्ष ६३ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र १४ वर्ष ४५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ५ गुणासम्म प्रतिफल पाउनेछन् ।


यो योजनाका धेरै विशेषता पनि रहेका छन् । यो योजनामा सहभागी हुनेले मासिक ब्याज पाउनेछनु् । यस्तै परिपक्क भएपछि एकमुष्ट रकम पाउने छन् भने निक्षेपको ९० प्रतिशतसम्म कर्जा पाउनछन् । साथै, बैंकले निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउनेछ ।

https://clickmandu.com/2022/07/206290.html

सेयर बजार बियरिस ट्रेन्डमा जाँदा पनि विकास बैंकहरुले कमाए सवा ३ करोड




सोभित थपलिया


काठमाडौं । सेयर बजारमा गिरावट आए पनि सेयरमा लगानी गरेका राष्ट्रियस्तरका ८ वटा विकास बैंकको सेयर कारोबारबाट हुने आम्दानी भने बढेको छ ।


गत आर्थिक वर्षमा सेयर बजारमा लगानी गरेर विकास बैंकले ३ करोड २२ लाख ८१ हजार ७९६ रुपैयाँ आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५७.२४ प्रतिशतले बढी हो ।


अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले १ करोड २५ लाख ४९ हजार १५ रुपैयाँ आम्दानी गरेका थिए ।



गत आवको शुरुमा सेयर बजार बुलिस ट्रेन्डमा थियो । भदौको पहिलो साता बजारले ऐतिहासिक रेकर्ड नै कायम गरेको थियो । तर सोही समयमा नेपाल राष्ट्र बैंकले लिएका विभिन्न नीतिका कारण सेयर बजारमा नकारात्मक असर पर्यो र बजार वियरिस टे«न्डमा गयो । फलस्वरुप पछिल्लो एक वर्षको अवधिमा बजार ३० प्रतिशतभन्दा बढीले ओरालो लाग्यो ।



अघिल्लो आवको असार मसान्तमा सेयर बजार २८८३.३८ विन्दुमा थियो । गत असार मसान्तसम्म आइपुग्दा ३० प्रतिशतले घटेर २००९.४७ बिन्दुमा सीमित भएको छ । यस अवधिमा सेयर बजारमा लगानी गर्ने व्यक्तिगत तथा अधिकांश संस्थागत कम्पनीले नाफा आर्जन गर्न नसक्दा विकास बैंकहरुको नाफा भने बढ्न सफल भएको छ ।


राष्ट्र बैंक मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा कुनै एक संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लगाइदिएको थियो । त्यसका साथै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभावका कारण सेयर बजार ओरालो लाग्दा समेत विकास बैंकले गरेको लगानीको प्रतिफल भने राम्रो देखिएको छ ।


गत आवमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये ५ वटाले मात्रै वित्तीय विवरणमा सेयर कारोबार उल्लेख गरेका छद्धन् । वित्तीय विवरण प्रकाशित गरेका साइन रेसुङ्गा विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले लगानी गरेको भने सेयर कारोबारबाटबारे विवरण उल्लेख गरिएको छैन ।


सेयर बजारमा लगानी गरेका विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको आम्दानी घटेको छ भने अन्य ४ वटा विकास बैंकको आम्दानी भने बढेको छ । अघिल्लो आवमा सेयर कारोबारबाट १७ हजार ८६४ रुपैयाँ ऋणात्मक रहेकोमा गत आवमा आइपुग्दा यो १९२.३८ प्रतिशतले बढेर ५२ हजार २३१ रुपैयाँ ऋणात्मक भएको छ ।


सेयर कारोबारबाट सबैभन्दा कमाउनेमा ज्योति बैंक छ । बैंकले २ करोड ३४ लाख ७९ हजार ९०६ रुपैयाँ सेयर कारोबारबाट आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ६२ लाख ३५ हजार ३१६ रुपैयाँ आम्दानी गरेको थियो । वित्तीय विवरण अनुसार गत आवमा मात्रै बैंकले सेयर कारोबारट हुने आम्दानी २७६.५६ प्रतिशतले बढाउन सफल भएको छ ।


यस्तै मुक्तिनाथ विकास बैंकले सेयर कारोबारबाट ८४ लाख ४४ हजार ७६२ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ६२ लाख ४२ हजार ५३६ रुपैयाँ आर्जन गरेको थियो । यो अघिल्लो आवको तुलनामा गत आवमा ३५.२७ प्रतिशत बढेको छ ।


गरिमा विकास बैंकले सेयर कारोबारबाट गत आवमा ३ लाख १४ हजार ३१२ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ४४ हजार २०५ रुपैयाँ थियो । एक वर्षको अवधिमा सेयर कारोबारबाट हुने आम्दानी बैंकले ६११.०३ प्रतिशतले बढाउन सफल भएको छ ।

https://clickmandu.com/2022/08/208460.html

किन डुब्छन् सहकारी ?


सोभित थपलिया

काठमाडौं । काठमाडौंस्थित कुलेश्वरका नारायण बस्नेतसँग केही पैसा बचत थियो । आफूसँग रहेको रकम राम्रो ब्याज दिने बैंक वा सहकारीमा राख्नेबारे सोचिहेका उनले गौतम श्री सहकारी संस्थाबारे थाहा पाए ।


सहकारीले २० प्रतिशतसम्म व्याज दिने सुनेपछि बस्नेतले आफूसँग भएको केही रकम बचत गरे । रकमका आधारमा व्याज दिने गरेको गौतम श्रीले उनलाई १४ प्रतिशत व्याज दिने भयो ।


विगत २३ वर्षदेखि सञ्चानलमा रहेको सहकारीमा उनले विश्वस्त हुँदै त्यसपछिका दिनमा बचत बढाउँदै लगे । ३ वर्षयता उनले गौतम श्रीमा नियमित बचत र कारोबार गरिरहेका थिए ।



तर, एकाएक संस्था बन्द भएको खबर आयो । सानोतिनो कमाइबाट आएको रकम जोगाउँदै सहकारीमा जम्मा गरेका उनी तनावमा आए । संस्थानै बन्द भएपछि आफूले जम्मा गरेको रकमको सावाँ व्याज कहिले पाइन्छ भन्ने चिन्ताले उनलाई दैनिक सताइरहेको छ ।


उनीमात्रै होइन गौतम श्री सहकारीबाट १२ सय भन्दा बढी बचतकर्ता पीडित भएका छन् ।


उक्त सहकारीमा सदस्यहरुको ५ सयदेखि लाखौं रुपैयाँ फसेको छ । २० प्रतिशतसम्म व्याज दिने भनेको सहकारीमा कतिपयले सावाँको दोब्बर रकम आशामा पनि बचत गरेको आफूले पाएको बस्नेतले बताए ।


५० लाख बचत गर्दा ५ वर्षमा १ करोड पाइने प्रलोभनमा परेर कतिपयले गौतम श्रीमा बचत गरेका थिए ।


गौतम श्री मात्र हाइन सिभिल बचत तथा ऋण सहकारीसहितका कतिपय सहकारी संस्थाहरुका कारण बचतकर्ताहरु त्रासमा छन् । उच्च प्रतिफलको आशमा बचत गरेकाहरुलाई सहकारी संस्थाहरुले व्याजसहितका अन्य प्रलोभनमा पार्ने गरेको उनी बताउँछन् ।


सहकारीहरुले बचतकर्ताहरुलाई आकर्षित गर्नका लागि विभिन्न पुरस्कार, सुनका सिक्का, लक्की ड्रबाट घर, गाडी लगायतको अफरहरु राख्ने गरेका छन् । जसको प्रलोभनमा पर्दा बचत जोखिममा परेको पीडितहरुको भनाइ छ ।


ओरियन्टल सहकारीमा देखिएको यस्तो समस्या अन्य सहकारीहरुमा पनि देखिएको र बचतकर्ताहरु फस्ने गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


पछिल्लो समय कोरोना महामारी पछि उत्पन्न समस्या लगायतकाले कतिपय सहकारीहरु समस्यामा परेका छन् । जसका कारण बचतकर्ताहरुले सहजरुपमा आफ्नो बचत रकमसमेत निकाल्न नसक्ने अवस्थामा पुगेका छन् ।


सहकारीहरुले सीधै पैसा दिन सकिँदैन नभनेको भए पनि रकम फिर्ता नभइरहेको बताउँछन् । कतिपय सहकारीहरुले सीधै पैसा दिन सकिँदैन भनेका छैनन् । तर बचतकर्ताका रकम फिर्ता गर्न संस्थाहरुलाई धौं-धौं परिरहेको छ ।


सहकारी संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि संस्थाहरुले बचतमा रहेको रकम एकपटक बढीमा ५ प्रतिशतमात्रै भुक्तानी गर्ने नीति अबलम्न गरेका छन् ।


गौतम श्रीका बचतकर्ता अर्जुन महर्जन बचत गरेको रकम पनि समयमा निकाल्न नपाउने भएपछि समस्या भएको र सहकारीहरुप्रतिको विश्वास नै गुम्दै गएको बताउँछन् । उनले आफूले गरेको बचत निकाल्न नपाएको गुनासो गरे ।


सहकारी विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकाल सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकको लापरबाही र सहकारी विभागको फितलो अनुगमनका कारण सहकारी संस्थामा वित्तीय संकट देखापरेको बताउँछन् ।


ओरियन्टल को-अपरेटिभदेखि देउराली बहुउद्देश्यीय सहकारीसम्म आइपुग्दा सहकारीका सञ्चालक तथा व्यवस्थापक र विभागका कारण नै बचतकर्ताले जम्मा गरेको बचत रकम समयमा पाउने विषयमा प्रश्न उठेको उनी बताउँछन् ।


बचतकर्ताको रकम सहकारी संस्थाका सञ्चालकहरुले घर जग्गा तथा सहायक कम्पनीले खोलेर विभिन्न क्षेत्रमा लगानी गरेका छन् । यस्तै लगानी गरेर समस्यामा परेका गौतम श्री र देउरालीले बचतकर्ताको रकम फिर्ता दिने बचनवद्धता व्यक्त गरेका छन् । तर, यसमा विश्वास गर्न सकिने स्पस्ट आधार नभएको बस्नेत बताउँछन् ।


पछिल्लो समय ललितपुरमा मुख्यकार्यालय रहेको पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा पनि समस्या देखिएको छ । पशुपतिले चितवनको मेघौलीमा जग्गामा लगानी गरेको छ । उक्त सहकारीले जग्गा बिक्री गर्न पटक-पटक सूचना निकालेको छ । तर, जग्गा बिक्री हुन सकेको छैन । पशुपति सहकारीका बचतकर्ता आफूहरुको पैसा डुब्ने त होइन भन्ने त्रासमा छन् । यो सहकारीविरुद्ध सहकारी विभागमा उजुरीसमेत परेको छ ।


त्यस्तै धरान रहेको बराह सहकारीको अवस्था पनि उस्तै रहेको छ । पीडितहरुले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङको कार्यकक्षमा तोडफोडसमेत गरेका थिए ।


काठमाडौंको शान्तिनगरमा रहेको कान्तिपुर सहकारीमा पनि बचत रकम निकाल्न बचतकर्ताहरुको लाइन लागेको थियो । एकैपटक वचतकर्ता आएपछि सहकारीले केही सम्पत्ति समयमा नै बिक्री नभएका कारण सबै बचत रकम सबैलाई एकैपटक दिन समस्या भएको भन्दै सूचना प्रकाशन गरेको थियो ।


ओरियन्टल मात्रै नभएर सिभिल, पशुपति, बराह, गौतमश्री, कान्तिपुर सहकारी हुँदै देउरालीसम्म आइपुग्दा सञ्चालक तथा व्यवस्थापकको लापरबाहिका कारण सदस्यले बचत गरेको रकम जोखिममा परेको हो । यसबाहेकका अन्य कयौं सहकारीहरुमा समस्या देखिएको पाइएको छ ।


काठमाडौं महानगरपालिकाभित्र रहेका करिब तीन दर्जन सहकारीले बचतकर्ताको रकम अपचलन गरेका छन् ।

बचतकर्ताले काठमाडौं महानगरमा उजुरी दिएसँगै तीन दर्जन बढी सहकारीमाथि कारबाहीका लागि काठमाडौं महानगरपालिकाको सहकारी विभागले प्रहरीलाई पत्राचार गरेको छ ।


पछिल्लो समय सहकारीहरुमा समस्या आउनुको मूल कारण सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार नचल्ने, अनुत्पादक क्षेत्रमा लगानी, सञ्चालक जिम्मेवार नबन्ने, सञ्चालक समितिको बैठक नियमित नबस्ने, समयमा नै साधारणसभा नगर्ने, लेखापरीक्षण प्रतिवेदन साधारणभामा पेस नगर्ने, बिना धितो पनि ऋण दिने, सदस्यलाई प्रलोभनमा पार्ने, सञ्चालकले सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्ने, सञ्चालक मालिक बन्न खोज्ने लगायत रहेको सहकारी विज्ञहरुको भनाइ छ ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल कोरोना महामारी, आर्थिक संकटका विषयमा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक जिम्मेवार नबन्दा अहिलेको समस्या आएको बताउँछन् । राज्यले समयमा नै ध्यान दिएको भए यस्तो समस्या नआउने उनी बताउँछन् ।


प्रभावकारी नियमन, तालिम लगायतका विषयलाई ध्यान दिने हो भने अहिले देखिएको समस्या भविष्यमा नहुने उनको भनाइ छ ।


‘नियामक निकाय कमजोर भयो । सहकारीले आफ्नो सिद्दान्त परिपालना गरेनन्’, अध्यक्ष पौड्यालले भने, ‘सहकारी विभागले आफ्नो भूमिका बिर्सनु भएन, राज्यले नियन्त्रण गर्नुपर्छ । यसमा राज्य र अभियानसँगै हुनुुपर्छ ।’


बचतकर्ताहरुले संस्थाको स्वामित्व नियन्त्रण र लाभमा सहभागी नहुँदा अहिलेको स्थिति सिर्जना भएको र अझै पनि सदस्यले यसमा चासो नदिने हो भने समस्या बढ्दै जाने उनी बताउँछन् ।


सहकारीका सदस्यलाई सञ्चालक/व्यवस्थापकले सेवाग्राहीलाई जस्तो व्यवहार गर्ने र सदस्य पनि सेवाग्राहीजस्तो बन्दा मनोमानी बढेको उनी बताउँछन् ।


‘केही सञ्चालकले ग्राहकको रुपमा हेर्न थाले । सञ्चालक मालिक जस्तो बन्न थाले’ अध्यक्ष पौड्यालले भने, ‘उनीहरु सहकारी सदस्य केन्द्रित बन्न सकेनन् । जसले अहिलेको स्थिति सिर्जना भएको हो ।’


पौड्याल अहिले सहकारीहरुमा देखिएको वित्तीय चाप दशैंसम्म कायम रहने अनुमान गर्छन् ।


‘वित्तीय चाप दशैंसम्म कायम रहने र दशैंपछि कम हुँदै जाने छ,’ उनले भने ।


बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि उच्चस्तरीय जाँचबुझ आयोगका पूर्वअध्यक्ष गौरीबहादुर कार्की सहकारी संस्थामा अहिलेको समस्या आउनुमा विभागको नियमन प्रभावकारी नहुनु नै भएको बताउँछन् ।


सहकारीमा ठगी गर्नेलाई बैंकिङ कसुर सरह कारबाही गर्ने हो भने यो समस्या कम हुने उनको भनाइ छ ।


आफू समितिको अध्यक्ष हुँदा उक्त व्यवस्थासहितको सुझाव मूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई बुझाएको भए पनि सहकारी ऐन बनाउँदा त्यो सुझाव सरकारले हटाएको कार्कीले क्लिकमाण्डूलाई बताए ।


बचतकर्ताको १ करोड खानेलाई, १० करोड खानेलाई पनि एकै खालको कानूनी कारबाही हुँदा समस्या समाधान नभएको उनको भनाइ छ ।


‘बिगो अनुसारको क्षतिपूर्ति भराउनुपर्छ,’ उनले भने, ‘सबैलाई समान हुनुहुँदैन, बिगोको आधारमा क्षतिपूर्ति भराउनु पर्छ भनेर हामीले सुझाव दिएका थियौं, ऐन बनाउने बेलामा हटाइयो ।’


सहकारी संघ, प्रदेश सरकार अन्तर्गत रहेका छन् । प्रदेशमात्रै नभएर संघीय सरकार पनि सहकारीलाई नियमन गर्ने सन्दर्भमा कुहिरोको कागजस्तो भएको उनी बताउँछन् ।


‘केन्द्र, प्रदेश सबैतिर सहकारीसँग मिलेर पैसा खाने काममात्रै भएको छ’ कार्कीले भने, ‘जनताको पैसा डुबेको विषयमा केही मतलब छैन ।’


सहकारी संस्थाहरुलाई नियमन, निरीक्षण गर्ने निकाय सहकारी विभाग भए पनि विभागले त्यसमा ध्यान नदिएको उनले आरोप छ ।


‘सहकारीले कहाँ लगानी गरेको छ, कति पैसा उठाएको छ, लगानी ठिक रुपमा गरेको छ कि छैन भन्ने हेर्नु पर्ने हो । तर, अहिले पनि त्यस्तो हुन सकेको छैन,’ उनले भने ।


सहकारी विभागका पूर्वरजिष्ट्रार ढकाल विभागले प्रभावकारी नियमन गर्न नसकेका कारण अहिलेको समस्या आएको बताउँछन् ।


विभागले दक्ष जनशक्ति राखेर अनुगमन गर्दा समस्या न्यूनीकरण गर्न सकिने उनी बताउँछन् । विभागले अहिले सहकारीमा अनुगमन बढाउनु पर्ने र गलत गर्नेमाथि कारबाही थालिहाल्नु पर्ने उनी बताउँछन् ।


सहकारीमा बचत रकमलाई सुरक्षित राख्न बचत सुरक्षणको नीति ल्याउनु पर्ने उनी बताउँछन् ।


सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि केन्द्रीय बैंकले नियमन गर्नुपर्ने ढकालको भनाइ छ । सहकारी खोल्न राज्यले नै अनुमति दिएको र राष्ट्र बैंक पनि सरकारी निकाय भएका कारण सहकारीमा राष्ट्र बैंकको उपस्थिती आवश्यक रहेको उनको तर्क छ ।


स्थानीय तह अन्तर्गत जानुु सहकारीहरु संकटग्रस्त बन्नुको अर्को कारण भएको ढकाल बताउँछन् । सहकारीलाई स्थानीय तहले अनुगमन गर्न नसक्ने उनको दाबी छ । तल्लो तहमा सहकारीको नियमन गर्न सक्ने क्षमता नभएको कारण आगामी दिनमा यसले अझै जोखिम निम्त्याउन सक्नेतर्फ ढकालको संकेत छ ।


‘तल्लो तहमा भएका सहकारीमा पनि सञ्चालकले आफ्नो मान्छेलाई कर्जा दिने, आफ्नै कम्पनीमा लगानी गर्ने जस्ता प्रवृति दिएको छ’ उनले भने, ‘सहकारीमा समस्या आउनुको कारण यो पनि हो ।’


सहकारी विभागका उप-रजिष्ट्रार टोलराज उपाध्याय विभागले सहकारीलाई प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको स्वीकार गर्छन् ।


सहकारीमा पछिल्लो समय समस्या बढ्दै गएपछि विभागले अनुगमनलाई बढाएको र समय समयमा विभिन्न निर्देशनहरु दिएको उनले बताए ।


‘सहकारीहरुलाई विभागले मात्र नियन्त्रण गर्न सक्दैन’ उनले भने, ‘सहकारी भनेको स्वनियमन हुने, सदस्यबीच कारोबार गर्ने हो । सञ्चालक जिम्मेवार हुनुपर्ने क्षेत्र हो ।’


उपाध्यायका अनुसार अहिले सहकारीमा तरलताको अभावले विभिन्न समस्या सृजना भएको छ । देशको वित्तीय अवस्थामा देखिएको असर सहकारीमा पनि परेको उनको बुझाइ छ ।


कोरोना, बजारमा पैसा नआउनु र भएको पैसा पनि बजारमा परिचालन नभएका कारण पछिल्लो समय समस्या देखिएको उनले बताए ।


सहकारीका व्यवस्थापक/संचालकले अनुत्पादक क्षेत्रमा लगानी नगर्दा समस्या नआउने उनको भनाइ छ ।


अहिले बचत तथा ऋण सहकारीमा समस्या देखिएको भए पनि सबै सहिकारीमा समस्या नरहेको उनको तर्क छ । एक दुई सहकारीमा समस्या आउँदैमा सबै सहकारीमा समस्या भयो भन्ने बुझाइले समस्या भएको उनी बताउँछन् ।


सहकारीले घर जग्गामा लगानी बढाएको, अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै गएको भन्दै सहकारी महासंघले साउन दोस्रो साता संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न अपिल गरेको थियो ।


सहकारी अभियानलेसहकारी संस्थाहरुलाई बचतमा रहेको रकम एकपटक बढीमा ५ प्रतिशतमात्रै भुक्तानी गर्न भनेको थियो ।


साउन २२ गते अभियानले ऐच्छिक साधारण एवं कारोबार बचतहरूको भुक्तानी गर्दा सदस्यहरूलाई साप्ताहिक, मासिक वा आपसी सहमतिमा त्यस्ता बचत रकमको एकपटकमा बढीमा ५ प्रतिशतमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउनु अपिल गरेको थियो ।


कतिपय सहकारीहरुमा समस्या आउन थालेपछि विभागले सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, बिनायोजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवाकेन्द्रहरु बन्द गर्ने उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छ ।


विभागले सहकारीलाई दीर्घकालिन स्रोत सुतिश्चित नगरी कर्जा लगानी नगर्न समेत भनेको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा सकेसम्म कर्जा लगानी नगर्न भनेको छ ।


विभागले प्रत्येक सहकारी संघ संस्थाका सञ्चालक समिति र व्यवस्थापकले एक हप्ताभित्र र त्यसपछि मासिक रुपमा सेयर पुँजी, जगेडा कोष, कूल सम्पत्ति, कूल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर संख्या, कूल ऋणी सदस्य, तरलता रकम र प्रतिफल, कूल संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकम सार्वजनिक सूचना मार्फत जानकारी गराउन भनेको छ । अहिले सहकारीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।

https://clickmandu.com/2022/08/210369.html

काठमाडौं महानगरपालिकामा ४५ सहकारी ८६ करोड ठगेर भागे, एक वर्षमा दुईवटामा मात्र अनुगमन



सोभित थपलिया


काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेका ४५ वटा सहकारी संस्थाहरुले बचतकर्ताको ८६ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् ।


काठमाडौं महानगरपालिकाअन्तर्गतको सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भदौ १३ गतेसम्म ४५ सहकारी संस्थाले बचतकर्ताहरुको उक्त रकम ठगेर भागेको जानकारी दिए ।


महानगरपालिकाभित्र कार्यक्षेत्र रहेका १८ सय सहकारी रहेका छन् । १८ सयमध्ये अहिलेसम्म ४५ वटा सहकारीले बचत रकम लिएर भागेको भन्दै विभागमा उजुरी परेको थियो ।



बचतकर्ताहरुले उजुरी गरेसँगै महानगरको सहकारी विभागले यी सहकारीहरुमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिएको छ।


ठगिएको भन्दै विभागमा उजुरी परेपछि कारबाहीका लागि प्रहरीमा पत्राचार गरिएको मध्ये किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाले भने सदस्यको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको पोखरेलले जानकारी दिए ।


उनकाअनुसार उक्त सहकारीबाट ठगिएको भन्दै १० जना सदस्यले २०७८ माघ १६ गते विभागमा निवेदन दिएका थिए । उक्त संस्थाले सदस्यबाट लिएको १ करोड ७२ लाख ६२ हजार ५६८ रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो ।


महानगरको सहकारी विभागमा ठगी गरेर भागेको भन्दै उजुरी आउने क्रम बढेको र पछिल्लो पटक भदौ १३ गते आरक्ष बचत तथा ऋण सहकारीविरुद्ध उजुरी परेको पोखरेलले बताए ।



आरक्षले ठगी गरेको भन्दै उजुरी आउने क्रम जारी रहेको र बिहीबारसम्म ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको भन्दै उजुरी परेको उनले जानकारी दिए । निवेदन परेसँगै विभागले प्रहरीमा उक्त सहकारीविरुद्ध पत्राचार गरेको छ ।


प्रहरीलाई पत्राचार गरिएका ४५ संस्थामध्ये ४२ वटा बचत तथा ऋण सहकारी र ३ वटा बहुउदेश्यीय रहेका छन् ।


पोखरेलकाअनुसार स्वर्णपथ बहुउद्देश्यीय सहकारीले ४२ लाख ६१ हजार ७२३ रुपैयाँ ठगेको भन्दै २९ बचतकर्ताले २०७५ चैत ११ गते विभागमा उजुरी दिएका थिए । यस्तै किरणोदय बहुउद्देश्यीय सहकारीले १ करोड ७२ लाख ६२ हजार ५६८ रुपैयाँ ठगेको भन्दै १० जना बचतकर्ताले विभागमा उजुरी दिएका थिए । हितकोष बहुउद्देश्यीय सहकारीले ५६ जनाबाट १४ लाख ७८ हजार ११ रुपैयाँ ठगेको भन्दै विभागमा २०७८ चैत २ गते उजुरी परेको थियो ।


यो वर्षमात्रै ७ वटा सहकारीले बचतकर्ताको रकम ठगेको भन्दै विभागमा उजुरी परेको छ ।


विभागमा उजुरी आएपछि पीडित र पीडक दुवैलाई राखेर मिलापत्र गराउने प्रयार विभागले गर्ने गरेको छ ।


‘विभागमा बचतकर्ताहरुले निवेदन लिएर आएपछि सकेसम्म हामीले दुवै पक्षलाई यहि मिलाउने प्रयास गर्छौं,’ पोखरेलले भने, ‘सम्भव भएन सहकारीले अटेर ग¥यो भने प्रहरीको सहयोग लिन्छौं । कतिपय अवस्थामा सयौं बचतकर्ता एकैपटक उजुरी लिएर आए भने यहाँ मिलाउन सम्भव हुँदैन ।’


उनले विभागको सम्पर्कमा नआउनेहरुमाथिको कारबाहीका लागि प्रहरीमा पत्र पठाउने गरिएको बताए ।


‘संस्थाका प्रतिनिधिले आएर आफ्नो समस्या देखाउने र एकै पटक नसकेपनि क्रमैसँग तिर्छु भनेपछि यही मिलाउने गरेका छौं । त्यति गर्दा पनि नमान्नेलाई ७ दिनको पत्र पठाउँछौं, ७ दिनमा सदस्यको हर हिसाब बुझ/बुझारथ गराउन पहल गर्छौं । सम्पर्कमा पनि नआउने, दुई पक्षीय वार्ता पनि नगर्ने, कार्यालय बन्द गरेर फरार हुनेहरुमाथि हामीले प्रहरीलाई पत्राचार गरेका छौं ।’


पोखरेल समुदायमा आधारित भन्दा व्यक्तिवादी सहकारीमा समस्या देखिने बताउँन् । सहकारी समस्यामा भए पनि बोनस बाँड्ने लगायतको काम हुने गरेको उनको भनाइ छ ।


‘सहकारी संस्थाहरुले जे काम गर्छन् त्यो सबै सदस्यको हितमा गर्ने हो, हामीले अहिले केही असहज अवस्थामा छांंै, यो वर्ष बोनस नबाँडौं, टिकेर मात्रै बसौं भन्ने हो भने धेरै समस्यामा नपर्न सक्छन्’ उनले भने, ‘जुन सहकारीले हामी भन्ने भावना बिर्सेर म भन्न थाल्छन्, व्यक्तिवादी बन्छन् ति संस्थामा संकट नआउला भन्न सकिन्न् ।’


देशको अर्थतन्त्र चलायनमान नभएको समयमा सहकारीहरुले ऐन, नियमअनुसार नचल्ने, सहकारीको सात सिद्दान्त बिर्सर्ने गर्दा देखिएको समस्या घट्ने भन्दा बढ्ने देखिएको उनी बताउँछन् ।


तर, केहीमा समस्या देखिँदैमा सबै सहकारी उस्तै हुन् भन्न नमिल्ने उनको भनाइ छ ।


‘काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रमा १८ सय वटा सहकारी छन् । ४५ वटामा समस्या आउँदैमा सबै खत्तम भए भन्न मिल्दैन’ उनले भने, ‘जुन संस्था साँच्चै नै सदस्य केन्द्रित भएर सञ्चालन भएका छन् उनीहरुलाई समस्या छैन्, तर जसले हामी भन्ने भाव बिर्सेर म भन्न थालेका छन् ति संस्थालाई निकै गाह्रो छ ।’


अहिले कतिपय सहकारीले सदस्यलाई साधारणसभामासम्म नबोलाउने गरेको गुनासो पनि आएको उनको भनाइ छ ।


सहकारीहरुमा समस्या देखिएपछि १० देखि ५० प्रतिशतसम्म तरलता राख्नु भनेर निर्देशन दिइएको पोखरेलले बताए । पछिल्लो समय सहकारीका विषयमा आएको विभिन्न खाले विषयले राम्रो भनिएका सहकारीमा पनि बचत झिक््ने क्रम बढेको उनको भनाइ छ ।


सहकारीले तरलता सहज भएको समयमा स्थिर पुँजीमा गरेको लगानीले अहिले समस्या देखिएको उनको बुझाइ छ । अहिले सहकारीमा समस्या देखिनको मुख्य कारण संचालकको नियत खराब हुनु, सहकारी सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार नचल्नु, अनुत्पादक क्षेत्रमा लगानी गर्नु, सञ्चालक जिम्मेवार नबन्नु, सञ्चालक समितिको बैठक नियमित नबस्नु, सदस्यलाई साधारणसभामा नबोलाउनु, सभा पनि समयमा नबोलाउनु, लेखापरीक्षण प्रतिवेदन साधारणभामा पेस नगर्नु, बिना धितो ऋण दिनु, सञ्चालकले सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्नु र सञ्चालक मालिक बन्न खोज्ने नियतले समस्या आएको उनी बताउँछन् ।


शहरका संस्थामा समस्या बढ्नु, गाँउका सस्थामा समस्या नआउनुको कारण संचालकको नियत नै रहेको पोखरेलको तर्क छ ।

सहकारी अभियान, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ (नेफ्स्कुन)सँग आबद्ध भएका सहकारी भने समस्यामा पर्न लागे समाधान हुने गरेको पोखरेल बताउँछन् ।


‘त्यसरी जोडिएका सहकारीलाई अभियान, नेफ्स्कुन लगायतका संस्थाले सहयोग गर्ने, तालिम दिने गर्छन्,’ उनले भने, ‘जुन सहकारी अभियानमा पनि जोडिएको छैन, नेफ्स्कुनमा पनि आबद्ध छैन, उनीहरुमा भने अलिक समस्या देखिएको छ । ’


नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल कोरोना महामारी, आर्थिक संकटका विषयमा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक जिम्मेवार नबन्दा अहिलेको समस्या आएको बताउँछन् । समस्यामा परेका सदस्यलाई नेफ्स्कुनले सहयोग गरेको उनको भनाइ छ ।


भारतीय बचतकर्तालाई हैरानी

काठमाडौं कार्यक्षेत्र भएका, त्यसमा पनि व्यापारीक क्षेत्रका सहकारी संस्थाहरुबाट विदेशी नागरिकसमेत ठगिएका छन् । यसरी बचत गर्नेमा भारतीय नागरिक धेरै हुने गरेका छन् ।


संस्थाहरुले कानूनविपरित विदेशी नागरिकलाई पनि सदस्य बनाएर कारोबार गर्ने गरेको प्रमुख पोखरेलको भनाइ छ ।


‘सहकारीहरुले विदेशी नागरिकलाई पनि सदस्य बनाएर कारोबार गर्ने गरेका छन्, त्यो कानून विपरित छ’ उनले भने, ‘विभागमा विदेशी नागरिकले पनि उजुरी लिएर आउने गरेका छन्, सहकारी ऐनले उनीहरुलाई सहकारी सदस्यको रुपमा चिन्दैन, नचिनेपछि दूतावासमार्फत प्रहरीमा उजुरी जाने गरेको छ ।’


न्यूरोड, बागबजार लगायत व्यापारिक क्षेत्रका सहकारी संस्थाहरुले विदेशी नागरिकलाई पनि सदस्य बनाउने र कारोबार गर्ने गरेको विभागको भनाइ छ ।


एक वर्षमा २ अनुगमन, छैनन् दक्ष कर्मचारी


१८ सयवटा सहकारीलाई नियमन, अनुगमन गर्ने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारीले विभागले गत आर्थिक वर्षमा जम्मा २ वटा संस्थाको मात्रै स्थलगत अनुगमन गरेको छ ।


विभागका प्रमुख पोखरेल सहकारीबारे जानकारी भएका कर्मचारी अभावका कारण अनुगमन लगायतका काम प्रभावकारी हुन नसकेको स्वीकार गर्छन् । विभागलाई अहिले कानून र चार्टर्ड एकाउन्टेन्टको ज्ञान भएको कर्मचारी आवश्यक रहेको उनी बताउँछन् ।


विभागले कानूनी अधिकारी र एक जना मात्रै चार्टर्ड एकाउन्टेन्ट पाउने हो भने पनि प्रभावकारी रुपमा अनुगमन गर्न सक्ने पोखरेलको दाबी छ । गत वर्ष २ वटा अनुगमन गरेको विभागले चालु आवमा त्यसलाई बढाउने तयारी गरेको पोखरेलले बताए । विभागले स्थलगत अनुगमन र कार्यालयबाट नै अनुगमन गर्ने गरेको छ ।


सरकारले पनि चालु आर्थिक वर्षको बजेट ल्याउँदा नेपाल राष्ट्र बैंंकको सुपरिवेक्षकीय दायरा बाहिर रहेका वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहरकारी र गैर सहकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने भनेको छ ।


विभाग पनि सोही अनुसार अनुगमन गर्ने योजनामा रहेको पोखरेलले बताए ।


‘विभागको नीति तथा कार्यक्रममा कम्तिमा १० वटा सहकारीलाई स्थलगत अनुगमन गर्ने भनिएको छ’ उनले भने, ‘जति धेरै अनुगमन गर्न सक्यो त्यही सहकारी संस्थाहरु सचेत हुने, सदस्य केन्द्रीत बन्ने छन् ।’

https://clickmandu.com/2022/09/211066.html