Monday, April 20, 2020

बैंकको ब्याज घटाउन सकियो भने कोरोना प्रभावितलाई ठूलो राहत हुन्छः ज्ञानेन्द्र ढुंगाना


कोरोना भाइरसको असर विश्वभरी नै परेको छ । नेपालमा पनि त्यसको असर स्वभाविकरुपमा पर्छ नै । यतिबेला हामी लक डाउनमा छौं । हाम्रो अर्थतन्त्र आयातमुखी र रेमिट्यान्समा आधारित छ । रेमिट्यान्सको मुख्य स्रोत भनेको मलेसिया, खाडीका देशलगायतका अन्य देश हुन् । त्यहाँ पनि कोरोनाको कारण लकडाउन रहेको छ । जसले गर्दा आगामी दिनमा रेमिट्यान्समा कमी आउने, उत्पादनमा कमी आउने र बेरोजगारी बढ्ने संभावना रहेकोले अर्थतन्त्रमा निकै ठूलो असर देखिने छ ।

विश्व बैंक, आईएमएफले हाम्रो कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशतले कमी आउने भनिसकेका छन् । विश्वकै अर्थतन्त्रमा संकुचन आउने भएपछि नेपालको अर्थतन्त्रमा असर पर्नेछ । समग्र अर्थव्यवस्थामा समस्या आएपछि बैंकिङ क्षेत्रमा पनि समस्या देखिन्छ । बैंकिङ क्षेत्र पनि अन्य क्षेत्रसँगै अघि बढ्ने हो । विगत १ महिनादेखि बैंकिङ क्षेत्रमा आम्दानीका स्रोतहरु बन्द रहेका छन् । कर्जा लगानी हुुन सकेको छैन । अन्य फण्डमा आधारित कारोबार हुन सकेको छैन ।

अहिले बैंकिङ क्षेत्रमा भएको डिजिटल कारोबार सबै निःशुल्क नै भएका छन् । अहिले बैंकहरुले मोबाइल बैंकिङ, एटिएस कार्ड सबैमा निःशुुल्क सेवा दिइरहेका छन् । उद्योग धन्दा नचलेको, व्यापार व्यवसाय नचलेको समयमा कर्जाको ब्याजदरमा कमी आउनु स्वभाविक हो । नेपाल राष्ट्र बैंैकले चैतको ब्याज र किस्ता असारमा तिर्दा हुुन्छ भनेको छ ।

अहिलेको अवस्था हेर्दा असारमा पनि तिर्न सकिने जस्तो देखिँदैन । बन्दको समयमा ब्याज र किस्ता कर्जाको भाकाको अन्तिममा तिर्ने व्यवस्था गर्र्नु भन्ने नै रहेको छ । लक डाउन खुले पनि आजको भोलि व्यवसाय गरेर कर्जा भुक्तानी वा ब्याज भुक्तानी गर्ने सम्भावना हुँदैन । त्यसकारण उहाँहरुलाई समय दिन आवश्यक छ । अहिलेको अवस्थामा यो नै राम्रो विकल्प पनि हुनसक्छ । त्यतिले मात्रै पुुग्दैन थप राहतको पनि आवश्यक पर्छ ।

हामीले छिमेकी मुलुकमा नै हेर्ने हो भनेपनि ठूलाठूला राहतका प्याकेज आइरहेका छन् । त्यो कर्जामा, सहुलियतपूर्ण कर्जामा किन नहोस्, ब्याज कम गर्नेमा हो वा अन्य अपरेटिङ खर्चमा नै किन नहोस् । यस्ता विषयमा सरकारले राष्ट्र बैंकले पनि गृहकार्य गरिरहेको होला । राष्ट्र बैंकले राहतको प्याकेज ल्याउँदा जसले साँवा र ब्याज भुक्तानी गर्न सक्नुहुन्न उहाँलाई चैतको असारमा, असारको असोजमा भन्दा पनि त्यो कर्जाको भुक्तानी अवधिको अन्तिममा पुर्याउनुपर्छ । अब लक डाउन नै खुलेपनि रेगुलर ब्याज तिर्न सकिएला, ब्याक लक तिर्न सकिँदैन । त्यो तिर्न पनि समस्या आउन सक्छ । त्यसकारण कर्जाको रि स्टक्चरिङ नै गर्न आवश्यक छ ।

राष्ट्र बैंकले गर्नुपर्ने भनेको बैंकहरुको आधार दर कम गर्नुपर्छ । त्यसमा हामीले पहल गर्छौ । राष्ट्र बैंकले पनि पहल गर्नुपर्ने हुुन्छ । आधारदर कम भएपछि कर्जाको ब्याजदर स्वतः कम हुन्छ । हामीले गत महिना सेभिङमा १ र फिक्समा डेढ प्रतिशत कम गरेका छौं । त्यसको मतलब ०।६ देखि १ प्रतिशतसम्म आधारदर आगामी २र३ महिनामा भित्र कम हुन्छ भन्ने हाम्रो आँकलन छ । त्यतिले पूुग्ने अवस्था देखिएन ।

आधारदरमा सबै बैंकहरुको २ प्रतिशत कम गर्न सकेको खण्डमा ओभरअल कर्जामा २ प्रतिशत कम हुन आयो भने ठूलो राहत हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । यसमा नेपाल राष्ट्र बैंक पनि सकारात्मक नै रहेको छ । यो विषयमा छलफलको क्रममा नै रहेको छ । हामीले वैशाख १ देखि घटाएको ब्याजदरले आधारदर कति हुने भन्ने वैशाखको अन्तिममा मात्रै थाहा हुन्छ । हामीले जेठ १ गतेदेखि नै ऋणीहरुलाई घटाउने निर्णय गरिसकेका छौं । असारसम्म कुर्दैनौं । राष्ट्र बैंकको निर्देशन अनुसार हरेक त्रैमास पछि गर्नुपर्ने हो । तर हामी जेठ १ देखि नै कर्जाको ब्याजदर कम गर्ने भनेर निर्णय गरिसकेका छौं ।

यो एकै पटक घटाउन पनि सकिँदैन । किनभने हाम्रो खर्च कम हुने सम्भावना छैन । झन् बढने अवस्था रहेको छ । हामीले यो अवस्थामा काम गर्ने कर्मचारीलाई प्रोत्साहत भत्ता दिइरहेका छौं । सामाजिक काममा पनि हाम्रो खर्च भएको छ । सीएसआरमा धेरै बैंकले खर्च गरेका छन् । ब्याजलाई मात्रै कम गरेर लैजान पनि समस्या रहेको छ । ब्याजमा आश्रित सर्वसाधारणलाई ठूलो नोक्सान हुन्छ । दुवैलाई मिलाएर लैजानको लागि कम्तिमा २ प्रतिशत आधारदर घटाएर लैजान सकेको खण्डमा ठूलो उपलब्धी हुनेछ ।

यो बेलामा सीसीडी गणनालाई केही बढाउने हो भने हाम्रो कष्ट अफ फन्डमा कमी आउने छ । जसले गर्दा आधार दर पनि कमी आउने छ । सरकारले अति प्रभावित क्षेत्रमा रि(फाइनान्सिङको व्यवस्था गर्न आवश्यक छ । जस्तो २,२ प्रतिशतमा रि फाइनान्सिङ भयो भने उहाँहरुले धान्न सक्ने सम्भावना रहन्छ ।

यो बेलामा बैंकहरुलाई असर गर्ने लोन प्रोभिजनको नम्स होस् वा सीसीडीको नम्स नै किन नहोस् । त्यसमा केही समयको लागि खुकुलो बनाउने हो भने केही राहत हुन्छ । यसमा राष्ट्र बैंकले अध्ययन अनुसन्धान गरिरहेको जस्तो लाग्छ । आरबीआईले पनि राहत प्याकेज घोषणा गरेको छ । त्योसँग मिल्दा जुल्दा राहत प्याकेज राष्ट्र बैंकले ल्याउला भन्ने अपेक्षा रहेको छ ।

समग्रमा भन्नुपर्दा अहिले सम्पूर्ण क्षेत्र नै प्रभावित भएको छ । यसबाट सबैभन्दा बढी पर्यटन, कृषि, यातायात, मनोरञ्जनका क्षेत्र हुन सक्छन् । यो सँगै बैंकिङ क्षेत्रलाई पनि उत्तिकै समस्या पर्ने देखिएको छ । यो वर्ष बैंकिङ क्षेत्रको नाफामा धेरै नै संकुचन आउन सक्ने देखिएको छ ।

सरकारले आगामी आवको बजेटको लागि निकै तयारी गरेको छ । आगामी बजेटमा विकास निर्माणका विषयमा भन्दा पनि कोरोनाको प्रभावलाई उकास्नको लागि के कस्तो रणनीति आवश्यक पर्छ भन्नेमा मुख्य फोकस हुन्छ नै होला । त्यो आवश्यक पनि छ । रोजगारीको लागि विदेशमा रहेका नेपाली फर्कने सम्भावना छ । रोजगारी सिर्जना गर्ने काम गर्नुपर्ने छ । कृषि, पर्यटन, उद्योग कुन क्षेत्रमा हुन्छ त्यसमा आगामी आवको बजेटले बढी ध्यान दिन आवश्यक छ ।

(क्लिकमाण्डूकर्मी सोभित थपलियासँग गरिएको कुराकानीमा आधारित)
https://clickmandu.com/2020/04/116665.html

मजदुर संगठनका नेता भन्छन्ः तलब घटाउने सहमति भएकै छैन, उद्योगीले एकतर्फी हल्ला गरे


सोभित थपलिया

काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित उद्योग व्यवसायमा कार्यरत कर्मचारीको तलब घट्ने विषयमा अहिले कुनै पनि सहमति नभएको टे«ड यूनियनका नेताहरुले बताएका छन् ।

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मजदुरको तलब ५० प्रतिशतसम्म तलब घटाउने प्रस्ताव गरेपनि त्यसमा आफूहरुको कुनै सहमति नभएको टे«ेड यूनियनका नेताहरुले जनाएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० निकट नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का अध्यक्ष विनोद श्रेष्ठले उद्योगी व्यवसायीसँग मजदुरलाई तलबको ५० प्रतिशत मात्रै रकम दिने विषयमा कुनै पिन सहमति नभएको बताएका छन् । अध्यक्ष श्रेष्ठले यो विषयमा अहिले कुनै छलफल नै नभएको भन्दै सहमति पनि नभएको बताए ।

‘जुन विषयमा कुनै पनि छलपलल नै भएको छैन, त्यसमा सहमति कसरी हुन्छ रु सहमति हुनको लागि छलफल पनि आवश्यक छ । यस विषयमा आधिकारीक छलफल नै भएको छैन,’ अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

आज उद्योग वाणिज्य महासंघका अधिकारीहरु सरकारकहाँ पुगेको तर त्यहाँ उनीहरुले के के छलफल गरे, के के सहमति गरे त्यो आफूलाई थाहा नभएको उनको भनाइ छ ।

‘अहिलेको समस्या मजदुरको कारण आएको पनि होइन, मालिकको कारण पनि आएको होइन, यो दैवी प्रकोपले सबैलाई एकैखाले समस्या छ, यो बेला सबैले विन विन योगदान गर्ने समय हो, कसैले पनि मेरो गोरुको बाह्रै टक्का हो भन्नु हुँदैन,’ उलले भने ।

कोरोनाको संक्रमण बढेको खण्डमा उद्योग धरासायी हुने र रोजगारी धेरै गुम्ने खतरा छ ।

यो बेलामा मजदुरका नेता र उद्योगीका नेता सहमत भएर पनि नहुने उनको भनाइ छ । काम लगाउने र काम गर्ने मिलेको खण्डमा निशुल्क काम गर्न तयार भएको खण्डमा निःशुल्क पनि गर्नुपर्छ ।


‘काम गर्ने र काम गराउनेबीचमा सहमति हुनुपर्छ, यतिबेला ५०र२५ प्रतिशतमा हल्ला गरेर मात्रै पनि हुँदैन, होटल क्षेत्रका नेताहरु १२ प्रतिशतभन्दा दिन सकिँदैन भन्दैछन्, कुनै मालिक मजदुरलाई तलब दिन परेमा १ प्रतिशत ब्याजमा पैसा दिए मात्रै तलब दिने सकिने भन्दैछन् । केही ५० प्रतिशतमा पनि रोकिएका छन्’ उनले भने ‘कति प्रतिशत दिने भनेर दिने र लिनेबीच सहमति गर्नुहोस् हामी फ्क्लेक्जिब हुन तयार छौं,’ उनले भने ।

अहिले काम गर्ने ठाँउ जोगिनु पर्यो र कोरोनाको कारण कुनै पनि मजदुर बेरोजगार भएर बस्न नपरोस भन्ने चिन्ता रहेको बताए । अहिलेको परिस्थितिमा फ्लोक्कजीबल हुन आवश्यक रहेको बताए । अहिलेको अवस्थामा ट्रेड यूनियन समस्या सिर्जना गर्ने पक्षमा नरहेको नि बताए ।

उनका अनुसार २०,३० वर्षदेखि कमाएका व्यवसायीले अहिलेको समस्यालाई देखाएर १५ दिनको मात्रै तलब दिएको खण्डमा त्यो चाँही नमान्ने बताए ।

त्यसैगरी, नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसका सभापति पुष्कर आचार्यले पनि मजदुरलाई दिन तलबको विषयमा कुनै निर्णय नभएको बताए । उद्योग वाणिज्य महासंघ, सिएनआई र चेम्बर अफ कमर्श मिलेर निर्णय गरेको सुन्नमा आएपनि आफूहरुसँग कुनै छलफल नभएको बताए ।

‘सरकारले सरकारले लकडाउन गरेको छ, लकडाउन अवधिको तलब दिनु भनेको छ, त्यो अवधिको तलब दिने वा नदिने भन्ने त छलफलको विषय नै हैन नि,’ अध्यक्ष आचार्यले भने ।

आगामी दिनमा दिनमा लकडाउन थप भयो र त्यसमा छलफल गर्नुपर्ने भयो भने बसेर कुरा गर्न सकिने उनको भनाइ छ । ‘यो अहिलेको विषय छलफलको विषय नै होइन,’ उनले भने ।

सरकारले लकडाउन अवधिको तलब दिनु भनेको छ, त्यसकारण अहिलेको विषयमा छलफल गर्नु आवश्यक नभएको र राज्यभन्दा माथि कोही पनि नभएको आचार्यको तर्क छ ।

कुनै एक पक्षले गरेको निर्णय कुनै हालतमा लागु नहुने उनले बताए । अहिले उद्योगपतिले जे निर्णय गरेका छन्, त्यो नै सत्य हो भन्नु गलत भएको उनको भनार्इ छ । आफूहरु मजदुरको हित बिपरित कुनैपनि सहमति नगर्ने उनले प्रष्ट पारे ।

https://clickmandu.com/2020/04/116774.html?fbclid=IwAR26Xxn64ndfmVw0Be6txN-E_M3Er1-EMAqesK9ycgkH141Qr3WlyJLNRew

आन्तरिक रोजगारी बढाउन नसके ठूलो समस्याको सामना गर्नुपर्छः सुनिल केसी सीइओ, एनएमबि बैंक


कोरोनाका कारण हाम्रो अर्थतन्त्रमा कति असर परेको छ । र, आगामी दिनमा कति असर पर्छ भनेर यकिन भन्न सकिने अवस्था छैन । यसको लागि अझै समय लाग्ने छ । तर विश्वमा कोरोनका कारण असर परेको छ भने नेपालमा असर नपर्ला भनेर भन्न सकिँदैन ।

नेपालमा विदेशी लगानी अन्य देशको तुलनामा कम छ । नेपालको इक्विटी बजारमा, नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छैन । नेपालले विदेशी ऋणपत्र निकालेर पैसा संकलन गरेको छैन । अहिले लकडाउनको समयमा अन्य देश भन्दा नेपालमा कम असर हो कि भनेर भन्न सकिन्छ ।

विकासित देशमा हेर्दा लकडाउनपछि एमर्जिङ मार्केटबाट १०० अर्ब डलरभन्दा बढी पैसा स्टक मार्केट र अन्य लगानीको क्षेत्रमा जान खोजेको देखिन्छ । त्यस्ता देशहरुमा ठूलो असर देखिएपनि नेपालमा त्यस्तो असर देखिएको छैन । यस अर्थमा नेपाल केही हदसम्म जोगिएको जस्तो देखिएको छ । त्यसले जोखिम केही हदसम्म न्यून गरेको जस्तो देखिएको छ ।


तर नेपालले १४ सय अर्ब बढी आयात गर्दा १०० अर्ब भन्दा केही बढी मात्रै निर्यात गर्ने गरेको थियो । जसले गर्दा १३ सय अर्ब हाराहारीमा ब्यापार घाटा रहेको थियो । निर्यात कमजोर हुँदा ब्यापार घाटा सुध्रने अवस्थामा थिएन । १३०० अर्ब बढीको ब्यापार घाटालाई ८०० अर्ब भन्दा केही बढी आउने गरेको विप्रेषणले धानिरहेको थियो ।

कोरोनाका कारण र इन्धनको मूल्यमा निरन्तर गिरावट आउने जस्ता समस्याले वैदेशिक रोजगारीको क्षेत्रमा पनि दबाब सुरु भइसकेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा पनि समस्या, पर्यटन आवगमन कम र आम्दानी पनि कम भएपछि समस्या आउन सक्छ ।

अहिले डलरको मूल्य निकै बढेको छ । यसले महंगी बढाउने निश्चित छ । यस्ता कारण नेपालमा धेरै असर पर्छ । कोरोनाको असर औल्याएपछि त्यसको सामना कसरी गर्ने भनेर ध्यान दिन आवश्यक छ ।

इन्धनका कारण मध्यपूर्वी देशहरुको अर्थतन्त्रमा समस्या देखिनसक्छ । उनीहरुको अर्थतन्त्र र हाम्रोमा विप्रेषण आउने सम्बन्धमा कुनै न कुनै सम्बन्ध रहेको छ । उनीहरुको जिपीडी माथि जाँदा नेपालमा आउने विप्रेषण बढ्ने र कम हुँदा कम हुने गरेको देखिएको छ ।

उनीहरुको देशका कामदार घटाउनु परेको खण्डमा नेपालमा फर्कनेलाई के के गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । त्यसैले हाम्रो परिस्थिति जटिल बन्नसक्छ ।

समग्र अर्थ व्यवस्थामा असर पारेपछि बैंकिङ क्षेत्रमा पनि असर त परिहाल्छ । अहिले बैंकहरुको ३, ००० अर्बको कर्जा छ । त्यसको १० प्रतिशत नै हेर्ने हो भने ३०० अर्ब बढी प्रत्येक वर्ष ब्याज आम्दानी हुने गरेको छ । कोरोनाका कारण सायमा नै ब्याज उठने सम्भावना कम नै छ । अहिले नगद प्रवाह ज्यादै न्यून छ । विप्रेषणमा कमी आउनेवित्तिकै नेपालको निक्षेप परिचालनमा समस्या पर्ने देखिन्छ । निक्षेप परिचालनको एउटा स्रोत यो पनि हो । जसले गर्दा निक्षेपको स्रोत घट्छ ।

यो बेलामा हामीले धेरै आयात गर्न पनि सक्दैनौं । र, गर्न पनि हुँदैन । अत्वायश्क बाहेकहको आयातमा सरकारले नै रोक्नुपर्छ । दक्षिण एशियाका देशहरुले अत्यावश्यकबाहेक सबै आयातमा रोक लगाएका छन् । नेपालले पनि ध्यान दिन आवश्यक छ । अब बैंकिङ क्षेत्रका खराब कर्जा पनि बढ्ने सम्भावना देखिएको छ ।

अन्य देशको तुलनामा हेर्दा नेपालको अवस्था धेरै नै डराउनु पर्ने अवस्थामा छैन । यो बेलामा हामीले बाहिरबाट पुँजी ल्याउने व्यवस्था गर्न आवश्यक छ । सरकारले तत्काल सोच्ने विषय भनेको अर्थतन्त्र बलियो बनाउन आन्तरिक रोजगारी कसरी बढाउन सकिन्छ भनेर सोच्ने बेला भएको छ । विदेशमा समस्या हुनासाथ आन्तरिक रोजगारी बढाउन आवश्यक छ । यो बेला सरकारसँग भएको पैसा छिटो भन्दा छिटो उन्पादनको क्षेत्रमा लगानी गरिहाल्नुपर्छ ।

सरकारसँग भएको पैसा छिटो खर्च गरेर बजारमा ल्याउने हो भने त्यो पैसा बैंकिङ क्षेत्रमा पुँजी परिचालको लागि रामो माध्यम हुनसक्छ । पहिलो चरणमा राष्ट्र बैंकले ब्याजदरलाई डिफर गर्ने काम गरेको छ । जुन जुन क्षेत्रमा समस्या परेको छ त्यसको पहिचान गरेर त्यस्तो क्षेत्रलाई सरकारको सहयोगको आवश्यक छ ।

जस्तै पर्यटन क्षेत्र, होटल, एभिएसन क्षेत्रमा रिभाइभ हुन केही समय लाग्ने छ । यो बेला डेरी उद्योग, पोल्टी फार्मजस्तामा असर परेको छ । उनीहरुका लागि दीर्घकालीन पुनःसंरचना गरेर गर्ने हो भने उनीहरु रिभाइभ हुने सम्भावना देखिन्छ । सरकारले बजेटमा यस्तो व्यवस्था गर्न आवश्यक छ । त्यसमा कति ल्याउने भन्नेमा पनि भर पर्छ । सरकारले जीडीपीको ३, ४ प्रतिशत चाँही प्याकेज नै बनाएर सहयोग गर्न आवश्यक छ ।

अहिले पनि अन्योलपूर्ण स्थिति भएकाले अहिले नै यस्तो खालको बजेट ल्याउनु पर्छ भन्न समस्या नै छ । तर आगामी आवको बजेटले आर्थिक वृद्धिमा सघाउ पुग्ने विषयमा ध्यान दिन जरुरी छ । आन्तरिक रोजगारी बढाउने, साना उद्योगीलाई सहयोग हुने खालको व्यवस्था चाहिन्छ । अब नेपाल आत्मनिर्भरतर्फ उन्मुख हुन आवश्यक छ ।

विप्रेषण कम हुनुको असर व्यापार घाटामा देख्न सकिन्छ । त्यसैले नेपालमा सहजै सबैले गर्नसक्ने क्षेत्र भनेको कृषि, साना तथा मझौला उद्योगी हुन् ।

विदेशबाट नेपाली युवा नेपालमा फर्केको खण्डमा उनीहरुलाई पनि रोजगारी दिने खालको योजना आगामी आवको बजेटमा समावेश गर्न आवश्यक छ । आगामी आवबाट खर्च बढाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई भाइब्रेन्ट पनि बनाउन सक्छ, त्यस्तो विषयलाई बजेटले प्राथमिकतामा राख्न आवश्यक छ । (कुराकानीमा आधारित)

https://clickmandu.com/2020/04/116868.html

लकडाउनमै पनि ठूला आयोजनाको काम नरोकौं, अब कसको भूमिका के ? कल्याणी खड्का


कोरोना भाइरसका कारण विश्वमै असर परिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । विदेशबाट आएका मानिसलाई समयमा नै व्यवस्थितरुपमा राख्न नसकेका कारण यो संक्रमितको संख्या बढिरहेको हो । नेपालमा यसको संत्रासको विषयमा निकै गम्भीर हुनुपर्ने समय आएको छ ।

सम्बृद्धि र विकास निर्माण

सरकारले देशलाई सम्बृद्ध बनाउने, जनतालाई सुखी बनाउने जुन सपना देखेको थियो, त्यसलाई कोरोना तगारो हुने निश्चित छ ।

यो बेलामा मानिसहरुले जसरी दुःख समस्या भोगिरहेका छन् । सरकारले पनि यसबाट मानिसलाई जोगाउनको लागि सारा शक्ति लगाउनुपर्ने समय छ । तर पनि यो समयमा विकास निर्माणको कुरा गर्दा सान्दर्भिक नहोला कि जस्तो पनि लाग्छ ।
विकासको भनेको सडक निर्माण, अन्य खालका विकास निर्माण हुन् । आर्थिकरुपमा सबल बन्नका लागि हामीले बाटोलगायतका विकास निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक छ ।

अहिले विकास निर्माणमा प्राथमिकता नदिने हो भने हामीले जनतालाई जुनरुपमा सेवा दिने भनेका छौं, बाटो, सडक नभएको खण्डमा त्यो सम्भव हुँदैन । राज्यले ठूला राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन गर्न नसकेको खण्डमा राज्यलाई सम्पन्न बनाउन सकिन्न ।

राज्यलाई आर्थिकरुपमा सम्पन्न बनाउन समस्या हुने गर्दछ । सरकारले एकातिर मात्रै सोचेर पुग्दैन । सबैतिर सम्भावना कम तर राज्यले देशका सिमाना, त्यो पनि जहाँ जहाँ कोरोना संक्रमण हुने ठाँउ छ त्यो बोहकका अन्य ठूला आयोजनामा काम गर्न सकिन्छ ।

यस्ता आयोजनामा मेलम्ची, मध्यपहाडी लोकमार्ग, दु्रतमार्गलगायत छन् । त्यति मात्रै नभएर विभिन्न जलविद्युत आयोजनाका परियोजना छन् । कोरी मरिन डाईभर्सन छ । यस्ता आयोजनालाई अघि बढाउनु पर्नेछ ।

मजदुर र रोजगारी

अहिलेको अवस्थामा हेर्ने हो भने नेपालमा नै ७÷८ लाखको संख्यामा मजदुर काम गरिरहेका छन् । विकास निर्मणका काम रोकिँदा उनीहरुका बेरोजगार हुने भए । जसले गर्दा आर्थिक भार पनि बढने देखिएको छ ।

यसलाई रोक्नका लागि ७र८ लाख मजदुरलाई रोजगारी दिएका व्यवसायीहरुलाई संरक्षण गर्न, राज्यलाई सम्बृद्ध बनाउको लागि पनि जहाँजहाँ जोखिम कम छ त्यहाँ त्यहाँका आयोजना सञ्चालन गर्नुपर्छ ।

त्यसका लागि सामाजिक दुरी कायम गर्ने, राज्यले तोकेको सुरक्षाको मापदण्ड पूरा गर्नुपर्छ । त्यसको लागि त्यहाँ नै क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक छ । त्यो भयो भने निर्माणको सामग्री सुरक्षित रुपमा पु्र्याउने काम सरकारले गर्नुपर्छ ।

विकास निर्माणको कामलाई हामीले ठप्प पार्ने हो भने अझै आर्थिक संकट बढ्ने सम्भावना छ । त्यसकारण आर्थिक विकासका लागि विकास निर्माणको काममा सरकारले ध्यान ध्यान दिनुपर्छ ।

अहिले सडकमा मजदुरहरु आफ्नो गन्तव्यमा पुग्नको लागि बाटोमा हिँडिरहेको देखिन्छ । त्यसले सरकारको नियम उल्लंघन भएको छ । यसले संक्रमण बढ्ने सम्भावना पनि देखिएको छ ।

यस्तो बेलामा मजदुरहरु जुन ठाँउमा कार्यरत रहेका थिए, त्यहाँ नै रोकेर राख्न पाएको भए मजदुरले दुख पाउने सम्भावना कम हुने थियो । कार्यस्थलमा नै सामाजिक दु्री कायम गरेर, सुरक्षाका मापदण्ड पूरा गरेर काम गर्न दिएको भए समस्या नै हुने थिएन ।

निर्माण सामग्री ओसारपसार गर्दा धेरै मान्छे जम्मा हुने होइन । थोरै मान्छे हुँदा पनि निर्माण सामग्री ओसारपसार गर्न सकिन्छ । यसमा सरकारले सैद्दान्तिक रुपमा निर्णय गरेको छ । निर्णय व्यवहारिक रुपमा कार्यान्वयनमा जान पनि आवश्यक छ । अहिले कार्यान्वयनमा जान समस्या छ । कार्यान्वयनमा जान सबैको ध्यान जान आवश्यक छ ।

आधाभन्दा बढी काम भएका, अन्तिम चरणमा पुगेको आयोजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । त्यी आयोजना सम्पन्न भएको खण्डमा राज्यलाई आम्दानीको राम्रो स्रोत हुनेछ ।

बाटो त सबै कामको लागि आवश्यक छ । त्यसमा आयस्रोत नहुनुसक्छ । त्यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नागरिहरुलाई विभिन्न सुविधा दिएको हुन्छ । यातायातको सुविधा नभएसम्म उत्पादनको सामानको बजारीकणमा समस्या हुन्छ । राष्ट्रिय गौरवका आयोजना नसक्ने हो भने सरकारले उत्पादनमा गरेको लगानी कति अर्थपूर्ण भन्ने विषय पनि आउन सक्छ ।

कृषि र बजारीकरण
अहिलेको अवस्थामा हामीले कृषि उत्पादनमा जोड दिनुपर्छ । जलविद्युतमा पनि जोड दिनुपर्छ । त्योसँगै बाटो निर्माणमा पनि ध्यान दिनुपर्छ ।

सडक नभएको खण्डमा हामीले उत्पादनलाई कसरी बजारिकरण गर्ने रु राज्य कसरी आर्थिक रुपमा बलियो हुन सक्छ रु उत्पादनको बजारीकरण नहुने हो भने राज्यले रोजगारी कसरी बढाउनसक्छ ।

हामी आर्थिक मन्दी होला कि भनेर डराइरहेका छौं । इकोनोमिक क्राइसेस हुन्छ की भनेर डराइरहेका छौं । हामी क्राइसेसबाट उम्कनका लागि जसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ त्यसरी नै महत्वपूर्ण सडकहरुमा पनि लगानी गर्न आवश्यक छ ।

वैदेशिक रोजगारी र सहुलियत

यतिबेला न्यून आयस्तर भएका नेपाली जो रोजगारीको लागि विदेशमा जानु भएको छ, उहाँहरुले विप्रेषणको माध्यमबाट राज्यलाई ठूलो सहयोग गर्नु भएको छ । अहिले राज्यले कृषिमा लगानी गर्ने भनेको छ । जलविद्युतमा लगानी गर्ने भनेको छ ।

हामीसँग विभिन्न राष्ट्रिय गौरवका आयोजना पनि रहेका छन् । त्यसको लागि मजदुर चाहिन्छ । उहाँहरुलाई त्यहाँ उपयुक्त रोजगारी दिनुपर्छ । जसले गर्दा उहाँहरुको जीविकोपार्जनमा पनि सहज हुने छ । हामीले कृषि प्रधान देश भनेपनि नेपालको धेरै जमिन बाँझो रहेको छ ।

त्यो जमिनलाई उत्पादनमा लगानी गर्नुपर्छ । उहाँहरुलाई उत्पादनमा लगाउँदा राज्यले अनुदान पनि दिनुपर्छ । अनुदान दिने र उत्पादन भएको वस्तुलाई बजारसम्म पुरयाएर राज्यले बिक्रीको जिम्मा लिने हो भने उहाँहरुलाई समावेश गर्न सकिन्छ । यो बेलामा राज्यले लगानीका लागि गैरआवासीय नेपाली ९एनआरएनए० लाई पनि लगानीको लागि वातावरण बनाउनु पर्छ । उहाँहरुले पनि नेपालमा लगानी गर्नुपर्छ ।

नेपालमा साना साना उद्योगी पनि हुनुहुन्छ । उहाँहरुले पनि सहजै काम गर्ने बाताबरण राज्यले बनाउनुपर्छ । जसले गद्योगी र राज्य दुबैलाई हित हुन्छ ।

अब कसको भूमिका के ?
यतिबेला हामीले हामी जुन ठाँउमा रहेका छौं, त्यो ठाँउबाट सरकारलाई ध्यानाकर्षण गरिरहेका छौं । । हामी जनप्रतिनिधिको हैसियतले हामीले हाम्रो भूमिका निर्वाह गरिरहेका छौं ।

सरकारले गरेको कमी कमजोरीमा ध्यानाकर्षण गराउने काममा लागी रहेका छौं । हाम्रो दायित्व निर्वाह गर्नुपर्ने ठाँउमा हामी चुकेका छैनौ । तर यो बेला जनप्रतिनिधिले निर्वानको बेला जस्तो को कसको पार्टीको, भनेर हेर्नुहुँदैन । जुनसुकै पार्टीका भएपनि विपन्न वर्ग, मजदुरलाई सेवा गर्नुपर्छ ।

आफ्नो पार्टीकालाई राहत दिने र अन्य पार्टीलाई नदिने काम गर्नुहुँदैन । यस्तो समयमा मानवीयतामा पनि ध्यान दिनुपर्छ । अहिले कोरोनाको संक्रमण रोक्नका लागि सरकारले जे जति काम गरिरहेको छ, त्यसक्रममा कमिकमजोरी बाहिर आइरहेका छन् । त्यसलाई सुधार्दै लैजान आवश्यक छ ।

यतिबेला विश्वका साथै नेपाल पनि कोरोनाको क्रासम रहेको समयमा शुक्रबार रौतहट जिल्लामा आएको असिना पानीका कारण त्यहाँको लागि पनि राहतमा जुटनुपर्ने समय आएको छ ।

हामीले एउटा समस्या भोगीरहेको समयमा अर्को समस्या आएको छ । यहाँको लागि छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न सरकारसमक्ष आग्रह गर्दछु । यो बेला सरकारले सुरक्षाकर्मीको तलब काट्ने विषय आएको छ । उहाँहरुले जति जोखिम मोलेर काम गर्नुभएको छ, त्यसलाई सरकारले ध्यान दिनुपर्छ ।
(क्लिकमाण्डूकर्मी सोभित थपलियासँगको कुराकानीमा आधारित)

https://clickmandu.com/2020/04/116872.html

Thursday, April 9, 2020

बजेटको तयारीसँगै कोरोनाको अर्थतन्त्रमा परेको असरको अध्ययनमा जुट्यो योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोग यतिबेला बजेट, नीति तथा कार्यक्रममा कोरोनाको प्रभाव सम्बन्धी अध्ययनको छलफललमा जुटेको छ । आयोगले नीति तथा कार्यक्रमका साथै कोरोनाले निम्त्याएको समस्याको विषयमा अध्ययनको लागि ध्यान केन्द्रित गरेको छ ।

यसबीचमा आयोग आगामाी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा समावेश गर्ने विषय र त्यसलाई स्रोत आँकलन गरी बजेटको सिलिङमा रहेर सबै मन्त्रालयसँग छलफलमा जुटेको हो ।

छलफलमा कार्यान्वयन गर्ने प्रस्तावित कार्यक्रम र अन्य आयोजना र परियोजनाको विषयमा छलफल चलाएको हो । आयोगले कोरोनाको प्रभावलाई ध्यानमा राखेर सानो सानो समूहमा छलफल चलाएको राष्ट्रिय योजना आयोगका सदस्य डा।रामकुुमार फुयाँलले बताए ।

मुद्रास्फिर्तीलाई स्थिर राख्ने, १५औं आवधिक योजना, दीगो विकासका लक्ष्य, मुख्य मुख्य उत्पादनको क्षेत्रमा बजेट विनियोजन गर्ने विषयमा नै छलफल केन्द्रित भएको छ ।

जसले गर्दा सार्वजनिक वित्तको प्राथमिकिकरण तथा उत्पादनमुलक र मित्तव्ययी ढंगबाट स्रोतको उपयोग गरी तीव्र आर्थिक विकासमा आवश्यक पर्ने स्रोतमा नै छलफल बढी केन्द्रित भएको उनको भनाइ छ ।

बजेटको कार्यान्वयन क्षमता, वित्तीय अनुसाशन पूर्ण रुपले पालना गर्न सक्नेगरी काम भइरहेको उनले बताए । आयोगका नियमित काममा योजना तर्जुमा गर्ने, उक्त योजनालाई कार्यान्वयनको तहमा पुर्याउने, आयोजनाका प्रभाव मूल्याङकनको काममा पनि ध्यान अघि बढेको छ ।

आयोगले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, कृषि, उर्जा र जलस्रोत तथा प्राकृतिक, मानव स्रोतको व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा रणनीति प्रकृतिका योजना बनाउने काममा पनि जुटेको छ ।

यस्ता योजना सम्बन्धित मन्त्रालय तथा निकायसँगको समन्वयमा संघीय स्तरका नयाँ विकासका कार्यक्रमहरु, योजनाको लेखाजोखा, पूर्व मूल्याङकनको परीक्षण गरी सहमति दिने काम पनि अघि बढी रहेको छ ।

आयोगले कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रमा प्रत्यक्ष, अप्रत्यक्षको विषयमा तत्काली, मध्यकालीन र अल्पकालिन असरको अध्ययन गर्न अवधारणा पत्रमा छलफल गरिरहेको डा।फुँयालको भनाइ छ ।

उक्त पत्रमा समष्टिगत आर्थिक क्षेत्रमा वैदेशिक व्यापार, शोधनान्तर, विदेशी विनिमय, मौद्रिक तथा वित्तीय क्षेत्र, सामाजिक क्षेत्र, संस्थान, अन्तर सरकारी वित्त, वैदेशिक लगानी, पुँजीबजार सार्वजनिक ऋण, अन्तराष्ट्रिय विकास सहायत तथा बचत एंव निजी क्षेत्रका साथै सहकारी क्षेत्र, सामाजिक क्षेत्र, भौतिक पूर्वाधार लगायत क्षेत्रमा पर्ने प्रभावको बारेमा अवधारणा पत्रमा सरोकारवालासँग छलफल चलिरहेको छ ।

आयोग यतिबेला अनुत्पादन क्षेत्र भएको खर्च कटौती गरेर स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग जस्ता उत्पादनशिल क्षेत्रमा बजेट बढाउने, स्थानीय तहलाई जिम्मेवारी बनाउने विषयमा तत्काल काम हुने देखिएको छ ।

आयोगले राष्ट्रिय गौंरव र प्राथमिकता प्राप्त आयोजनाहरुलाई उनीहरुको आउटपुट चाँडै निस्कने गरी बजेट विनियोेजन गर्ने, रेमिटयान्समा पर्ने प्रभावलाई न्यूनिकरण तथा स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि र विदेशी मुुद्रा आर्जन गर्ने क्षेत्रको पहिचान गरी काम गर्ने विषयलाई अल्पकालीन रेस्पन्समा राखेको छ ।

१५औ आवधिक योजनाको लक्ष्य पूरा गर्ने, दीगो विकास लक्ष्य हासिल गर्ने, सन् २१०० मा उच्च आय भएको देशमा पुर्याउने सरकारको लक्ष्यलाई सघाउने गरी अहिले नै इकोनोमी रिफर्मको प्याकेजलाई नयाँ बनाएर अघि बढने आयोगको तयारी रहेको छ ।

अब हुने अध्ययनले पनि यस्ता विषयमा सुुझाव दिने गरी अवधारणा पत्रमा छलफल सुरु भएको फुँयालको भनाइ छ । यसको लागि सरोकारवाला निकायसँग बसेर छलफल हुने भएको छ ।

Tuesday, April 7, 2020

जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छुः गभर्नर, विपत्तिबीच बाहिरिएका अधिकारी विपत्तिमै आए

सोभित थपलिया
काठमाडौं । महाप्रसाद अधिकारी २०७२ पुसमा राष्ट्र बैंकबाट बाहिरिए । त्यसबेला उनी डेपुटी गभर्नर थिए । २०७६ चैत २५ गते अधिकारी गभर्नरकारुपमा राष्ट्र बैंक प्रवेश गरेका छन् । अधिकारी राष्ट्र बैंकबाट बाहिरिँदा देश भूकम्प र भारतीय नाकाबन्दीले थल्याएको थियो ।

२०७२ बैशाख ११ गते आएको शक्तिशाली भूकम्प र त्यसको एक महिनासम्म लगातार आएका पराकम्पले एकातिर मुलुकको अर्थतन्त्र तहसनहस पारेको थियो ।

अर्कातिर नेपालले आफ्नो संविधान आफैं बनाएकोप्रति चित्त नबुझेपछि भारतले नाकाबन्दी लगाएको थियो । केही मधेसबादी दलहरु नाकाबन्दीको समर्थनमा थिए ।

भदौदेखि भएको मधेस आन्दोलन र असोजदेखि भारतले लगाएको अघोषित नाकाबन्दी लामो समयसम्म रह्यो । नेपालका राजनीतिक शक्तिहरु टसमस नभएपछि भारतले घुँडा टेक्यो । र, नाकाबन्दी हटायो ।


त्यसको व्यवस्थापन चानचुन थिएन । तत्कालीन गभर्नर डा। चिरञ्जीबी नेपालको सारथी भएर अधिकारीले समस्या समाधान गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनै अधिकारी ४ वर्षपछि गभर्नर भएर राष्ट्र बैंकमा फर्किएका छन् । र, अहिले पनि देश कोरोना भाइरसका कारण विपत्तिमा परेको छ ।

यसलाई उनैले संयोगको रुपमा लिएका छन् । महाप्रसादको महा संयोज्ञ बनेको छ ।

नियमन र सुपरिवेक्षणमा निकै अब्बल मानिने अधिकारीले राष्ट्र बैंकमा गभर्नरको पदभार ग्रहण गर्दै जहाँ समस्या पर्यो, त्यहाँ आफु जानुपर्ने अवस्था सिर्जना भएको प्रतिकृया दिए ।

‘जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छु,’ उनले भने ।

गभर्नर अधिकारीले कोरोना भाइरसको विश्वव्यापीरुपमा संक्रमण भएकोले नेपालको अर्थतन्त्र समेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको लागि राष्ट्र बैंकले आवश्यक पहल गर्ने बताए । राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरे ।
उनले आगामी दिनमा काम गर्नको लागि आफूलाई कुनै पनि समस्या नभएको र आगामी १० महिनासम्म गभर्नरका प्रतिस्पर्धीसहित २ जना डेपुुटी गभर्भर अन्य कर्मचारीको साथ रहने बताए ।

उनले आफुसँगैका प्रतिस्पर्धी चिन्तामणी शिवाकोटी प्रतिस्पर्धी मात्रै नभएर बिकम पढ्दादेखि नै साथी भएको स्मरण पनि गरे । शिवाकोटीले पनि आगामी १० महिनाका हरेक काममा आफूले पूर्णरुपमा साथ दिने बताए ।

‘हिजो प्रतिस्पर्धामा भएपनि अन्तिम समयमा आफू गभर्नर हुन पाइँन,’ शिवाकोटीले भने ‘हिँजोसम्म म योग्य भन्दै प्रतिस्पर्धामा थिए, अब मभन्दा उहाँ कौयौ गुुणा बढी योग्य र क्षमतावान हुनुुहुन्छ, उहाँलाई हाम्रो पूर्णसाथ र समर्थन छ ।’

उनले थपे ‘उहाँले राष्ट्र बैंकबाट बिदा हुँदा भूकम्पले अर्थतन्त्रमा निकै असर पारेको थियो । अहिले कोरोनाले धेरै अर्थतन्त्रमा असर पार्ने देखिएको छ । उहाँ जुन चुनौतीका बीच निस्कनु भएको थियो । अहिले पनि त्यस्तै अवस्थामा आउनु भएको छ । उहाँले एक जना सिए पनि हो । उहाँले यस्ता समस्यामा जुधेर काम गर्न सक्नुहुन्छ, त्यसमा हामी सबैको साथ रहने छ ।’

नेपाल सरकारको आर्थिक सल्लाहकार भएको कारणले राष्ट्र बैंकले गर्ने अध्ययनमा आफूहरु गम्भीर हुने उनले बताए ।
हामीले हिँजो राखेको नाम कायम राख्न सबैको सहयोग हुनेछ,’ शिवाकोटीले भने ।

अधिकारीले पनि आफु समस्या हुुँदा नै बाहिरिएको र अहिले पनि समस्या भएको समयमा नै आएको र कोरोनाले कति असर गर्न भन्नेमा अन्योल नै रहेको बताए ।


उनले आफू पहिलादेखि नै रिजल्ट ओरियन्टेड काम गर्न रुचाउने व्यक्ति भएकोले आगामी दिनमा पनि रिजल्टमा ध्यान दिने बताए ।

राष्ट्र बैंकका धेरै अनुहार आफ्नो लागि नयाँ नभएकोले रिजल्ट आउन कुनै समस्या नहुने बताए । अधिकारी मंगलबार बिहान ११ः बजेर ३४ मिनेट जादाँ राष्ट्र बैंकमा प्रवेश गरे ।

अधिकारीको नियुक्तिलाई बैंकरहरुले निकै उत्साहित हुँदै स्वागत पनि गरेका छन् । चाटर्ड एकाउन्टेन्ट रहेका अधिकारी नियमन र सुपरिभिजनमा अब्बल मानिन्छन् । राष्ट्र बैंकमा सेकेन्डम्यान रहँदा निकै राम्रो भूमिका निर्वाह गरेका थिए । र, सफल पनि भएका थिए ।

तर, ३ वर्ष लगानी बोर्डको सीइओका रुपमा भने अधिकारीले सोचेअनुसारको सफलता प्राप्त गर्न सकेनन् । राष्ट्र बैंकको संरचना बलियो भएको र लगानी बोर्डको संरचना निकै कमजोर रहेकाले आफ्नो सफलता र असफलता संगठनको संरचनासँग जोडेर ब्याख्या गर्छन् उनी ।
यतिबेला राइट पर्सन राइट म्यान भनेर अधिकारीको नियुक्तिलाई समग्र समाजले सकरात्मकरुपमा स्वागत गरेको छ ।

तर, उनीसामू राष्ट्र बैंकको स्वायत्तता जोगाउनेदेखि देशको अर्थतन्त्रलाई गतिशिल बनाउने चुनौतिका पहाड छन् । आगामी दिनमा उनी कसरी अघि बढ्छन् । र, बहिर्गमन कतिको सुखद र विवादरहित हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।