Monday, April 20, 2020

आन्तरिक रोजगारी बढाउन नसके ठूलो समस्याको सामना गर्नुपर्छः सुनिल केसी सीइओ, एनएमबि बैंक


कोरोनाका कारण हाम्रो अर्थतन्त्रमा कति असर परेको छ । र, आगामी दिनमा कति असर पर्छ भनेर यकिन भन्न सकिने अवस्था छैन । यसको लागि अझै समय लाग्ने छ । तर विश्वमा कोरोनका कारण असर परेको छ भने नेपालमा असर नपर्ला भनेर भन्न सकिँदैन ।

नेपालमा विदेशी लगानी अन्य देशको तुलनामा कम छ । नेपालको इक्विटी बजारमा, नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छैन । नेपालले विदेशी ऋणपत्र निकालेर पैसा संकलन गरेको छैन । अहिले लकडाउनको समयमा अन्य देश भन्दा नेपालमा कम असर हो कि भनेर भन्न सकिन्छ ।

विकासित देशमा हेर्दा लकडाउनपछि एमर्जिङ मार्केटबाट १०० अर्ब डलरभन्दा बढी पैसा स्टक मार्केट र अन्य लगानीको क्षेत्रमा जान खोजेको देखिन्छ । त्यस्ता देशहरुमा ठूलो असर देखिएपनि नेपालमा त्यस्तो असर देखिएको छैन । यस अर्थमा नेपाल केही हदसम्म जोगिएको जस्तो देखिएको छ । त्यसले जोखिम केही हदसम्म न्यून गरेको जस्तो देखिएको छ ।


तर नेपालले १४ सय अर्ब बढी आयात गर्दा १०० अर्ब भन्दा केही बढी मात्रै निर्यात गर्ने गरेको थियो । जसले गर्दा १३ सय अर्ब हाराहारीमा ब्यापार घाटा रहेको थियो । निर्यात कमजोर हुँदा ब्यापार घाटा सुध्रने अवस्थामा थिएन । १३०० अर्ब बढीको ब्यापार घाटालाई ८०० अर्ब भन्दा केही बढी आउने गरेको विप्रेषणले धानिरहेको थियो ।

कोरोनाका कारण र इन्धनको मूल्यमा निरन्तर गिरावट आउने जस्ता समस्याले वैदेशिक रोजगारीको क्षेत्रमा पनि दबाब सुरु भइसकेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा पनि समस्या, पर्यटन आवगमन कम र आम्दानी पनि कम भएपछि समस्या आउन सक्छ ।

अहिले डलरको मूल्य निकै बढेको छ । यसले महंगी बढाउने निश्चित छ । यस्ता कारण नेपालमा धेरै असर पर्छ । कोरोनाको असर औल्याएपछि त्यसको सामना कसरी गर्ने भनेर ध्यान दिन आवश्यक छ ।

इन्धनका कारण मध्यपूर्वी देशहरुको अर्थतन्त्रमा समस्या देखिनसक्छ । उनीहरुको अर्थतन्त्र र हाम्रोमा विप्रेषण आउने सम्बन्धमा कुनै न कुनै सम्बन्ध रहेको छ । उनीहरुको जिपीडी माथि जाँदा नेपालमा आउने विप्रेषण बढ्ने र कम हुँदा कम हुने गरेको देखिएको छ ।

उनीहरुको देशका कामदार घटाउनु परेको खण्डमा नेपालमा फर्कनेलाई के के गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । त्यसैले हाम्रो परिस्थिति जटिल बन्नसक्छ ।

समग्र अर्थ व्यवस्थामा असर पारेपछि बैंकिङ क्षेत्रमा पनि असर त परिहाल्छ । अहिले बैंकहरुको ३, ००० अर्बको कर्जा छ । त्यसको १० प्रतिशत नै हेर्ने हो भने ३०० अर्ब बढी प्रत्येक वर्ष ब्याज आम्दानी हुने गरेको छ । कोरोनाका कारण सायमा नै ब्याज उठने सम्भावना कम नै छ । अहिले नगद प्रवाह ज्यादै न्यून छ । विप्रेषणमा कमी आउनेवित्तिकै नेपालको निक्षेप परिचालनमा समस्या पर्ने देखिन्छ । निक्षेप परिचालनको एउटा स्रोत यो पनि हो । जसले गर्दा निक्षेपको स्रोत घट्छ ।

यो बेलामा हामीले धेरै आयात गर्न पनि सक्दैनौं । र, गर्न पनि हुँदैन । अत्वायश्क बाहेकहको आयातमा सरकारले नै रोक्नुपर्छ । दक्षिण एशियाका देशहरुले अत्यावश्यकबाहेक सबै आयातमा रोक लगाएका छन् । नेपालले पनि ध्यान दिन आवश्यक छ । अब बैंकिङ क्षेत्रका खराब कर्जा पनि बढ्ने सम्भावना देखिएको छ ।

अन्य देशको तुलनामा हेर्दा नेपालको अवस्था धेरै नै डराउनु पर्ने अवस्थामा छैन । यो बेलामा हामीले बाहिरबाट पुँजी ल्याउने व्यवस्था गर्न आवश्यक छ । सरकारले तत्काल सोच्ने विषय भनेको अर्थतन्त्र बलियो बनाउन आन्तरिक रोजगारी कसरी बढाउन सकिन्छ भनेर सोच्ने बेला भएको छ । विदेशमा समस्या हुनासाथ आन्तरिक रोजगारी बढाउन आवश्यक छ । यो बेला सरकारसँग भएको पैसा छिटो भन्दा छिटो उन्पादनको क्षेत्रमा लगानी गरिहाल्नुपर्छ ।

सरकारसँग भएको पैसा छिटो खर्च गरेर बजारमा ल्याउने हो भने त्यो पैसा बैंकिङ क्षेत्रमा पुँजी परिचालको लागि रामो माध्यम हुनसक्छ । पहिलो चरणमा राष्ट्र बैंकले ब्याजदरलाई डिफर गर्ने काम गरेको छ । जुन जुन क्षेत्रमा समस्या परेको छ त्यसको पहिचान गरेर त्यस्तो क्षेत्रलाई सरकारको सहयोगको आवश्यक छ ।

जस्तै पर्यटन क्षेत्र, होटल, एभिएसन क्षेत्रमा रिभाइभ हुन केही समय लाग्ने छ । यो बेला डेरी उद्योग, पोल्टी फार्मजस्तामा असर परेको छ । उनीहरुका लागि दीर्घकालीन पुनःसंरचना गरेर गर्ने हो भने उनीहरु रिभाइभ हुने सम्भावना देखिन्छ । सरकारले बजेटमा यस्तो व्यवस्था गर्न आवश्यक छ । त्यसमा कति ल्याउने भन्नेमा पनि भर पर्छ । सरकारले जीडीपीको ३, ४ प्रतिशत चाँही प्याकेज नै बनाएर सहयोग गर्न आवश्यक छ ।

अहिले पनि अन्योलपूर्ण स्थिति भएकाले अहिले नै यस्तो खालको बजेट ल्याउनु पर्छ भन्न समस्या नै छ । तर आगामी आवको बजेटले आर्थिक वृद्धिमा सघाउ पुग्ने विषयमा ध्यान दिन जरुरी छ । आन्तरिक रोजगारी बढाउने, साना उद्योगीलाई सहयोग हुने खालको व्यवस्था चाहिन्छ । अब नेपाल आत्मनिर्भरतर्फ उन्मुख हुन आवश्यक छ ।

विप्रेषण कम हुनुको असर व्यापार घाटामा देख्न सकिन्छ । त्यसैले नेपालमा सहजै सबैले गर्नसक्ने क्षेत्र भनेको कृषि, साना तथा मझौला उद्योगी हुन् ।

विदेशबाट नेपाली युवा नेपालमा फर्केको खण्डमा उनीहरुलाई पनि रोजगारी दिने खालको योजना आगामी आवको बजेटमा समावेश गर्न आवश्यक छ । आगामी आवबाट खर्च बढाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई भाइब्रेन्ट पनि बनाउन सक्छ, त्यस्तो विषयलाई बजेटले प्राथमिकतामा राख्न आवश्यक छ । (कुराकानीमा आधारित)

https://clickmandu.com/2020/04/116868.html

No comments:

Post a Comment