Tuesday, April 7, 2020

जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छुः गभर्नर, विपत्तिबीच बाहिरिएका अधिकारी विपत्तिमै आए

सोभित थपलिया
काठमाडौं । महाप्रसाद अधिकारी २०७२ पुसमा राष्ट्र बैंकबाट बाहिरिए । त्यसबेला उनी डेपुटी गभर्नर थिए । २०७६ चैत २५ गते अधिकारी गभर्नरकारुपमा राष्ट्र बैंक प्रवेश गरेका छन् । अधिकारी राष्ट्र बैंकबाट बाहिरिँदा देश भूकम्प र भारतीय नाकाबन्दीले थल्याएको थियो ।

२०७२ बैशाख ११ गते आएको शक्तिशाली भूकम्प र त्यसको एक महिनासम्म लगातार आएका पराकम्पले एकातिर मुलुकको अर्थतन्त्र तहसनहस पारेको थियो ।

अर्कातिर नेपालले आफ्नो संविधान आफैं बनाएकोप्रति चित्त नबुझेपछि भारतले नाकाबन्दी लगाएको थियो । केही मधेसबादी दलहरु नाकाबन्दीको समर्थनमा थिए ।

भदौदेखि भएको मधेस आन्दोलन र असोजदेखि भारतले लगाएको अघोषित नाकाबन्दी लामो समयसम्म रह्यो । नेपालका राजनीतिक शक्तिहरु टसमस नभएपछि भारतले घुँडा टेक्यो । र, नाकाबन्दी हटायो ।


त्यसको व्यवस्थापन चानचुन थिएन । तत्कालीन गभर्नर डा। चिरञ्जीबी नेपालको सारथी भएर अधिकारीले समस्या समाधान गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनै अधिकारी ४ वर्षपछि गभर्नर भएर राष्ट्र बैंकमा फर्किएका छन् । र, अहिले पनि देश कोरोना भाइरसका कारण विपत्तिमा परेको छ ।

यसलाई उनैले संयोगको रुपमा लिएका छन् । महाप्रसादको महा संयोज्ञ बनेको छ ।

नियमन र सुपरिवेक्षणमा निकै अब्बल मानिने अधिकारीले राष्ट्र बैंकमा गभर्नरको पदभार ग्रहण गर्दै जहाँ समस्या पर्यो, त्यहाँ आफु जानुपर्ने अवस्था सिर्जना भएको प्रतिकृया दिए ।

‘जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छु,’ उनले भने ।

गभर्नर अधिकारीले कोरोना भाइरसको विश्वव्यापीरुपमा संक्रमण भएकोले नेपालको अर्थतन्त्र समेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको लागि राष्ट्र बैंकले आवश्यक पहल गर्ने बताए । राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरे ।
उनले आगामी दिनमा काम गर्नको लागि आफूलाई कुनै पनि समस्या नभएको र आगामी १० महिनासम्म गभर्नरका प्रतिस्पर्धीसहित २ जना डेपुुटी गभर्भर अन्य कर्मचारीको साथ रहने बताए ।

उनले आफुसँगैका प्रतिस्पर्धी चिन्तामणी शिवाकोटी प्रतिस्पर्धी मात्रै नभएर बिकम पढ्दादेखि नै साथी भएको स्मरण पनि गरे । शिवाकोटीले पनि आगामी १० महिनाका हरेक काममा आफूले पूर्णरुपमा साथ दिने बताए ।

‘हिजो प्रतिस्पर्धामा भएपनि अन्तिम समयमा आफू गभर्नर हुन पाइँन,’ शिवाकोटीले भने ‘हिँजोसम्म म योग्य भन्दै प्रतिस्पर्धामा थिए, अब मभन्दा उहाँ कौयौ गुुणा बढी योग्य र क्षमतावान हुनुुहुन्छ, उहाँलाई हाम्रो पूर्णसाथ र समर्थन छ ।’

उनले थपे ‘उहाँले राष्ट्र बैंकबाट बिदा हुँदा भूकम्पले अर्थतन्त्रमा निकै असर पारेको थियो । अहिले कोरोनाले धेरै अर्थतन्त्रमा असर पार्ने देखिएको छ । उहाँ जुन चुनौतीका बीच निस्कनु भएको थियो । अहिले पनि त्यस्तै अवस्थामा आउनु भएको छ । उहाँले एक जना सिए पनि हो । उहाँले यस्ता समस्यामा जुधेर काम गर्न सक्नुहुन्छ, त्यसमा हामी सबैको साथ रहने छ ।’

नेपाल सरकारको आर्थिक सल्लाहकार भएको कारणले राष्ट्र बैंकले गर्ने अध्ययनमा आफूहरु गम्भीर हुने उनले बताए ।
हामीले हिँजो राखेको नाम कायम राख्न सबैको सहयोग हुनेछ,’ शिवाकोटीले भने ।

अधिकारीले पनि आफु समस्या हुुँदा नै बाहिरिएको र अहिले पनि समस्या भएको समयमा नै आएको र कोरोनाले कति असर गर्न भन्नेमा अन्योल नै रहेको बताए ।


उनले आफू पहिलादेखि नै रिजल्ट ओरियन्टेड काम गर्न रुचाउने व्यक्ति भएकोले आगामी दिनमा पनि रिजल्टमा ध्यान दिने बताए ।

राष्ट्र बैंकका धेरै अनुहार आफ्नो लागि नयाँ नभएकोले रिजल्ट आउन कुनै समस्या नहुने बताए । अधिकारी मंगलबार बिहान ११ः बजेर ३४ मिनेट जादाँ राष्ट्र बैंकमा प्रवेश गरे ।

अधिकारीको नियुक्तिलाई बैंकरहरुले निकै उत्साहित हुँदै स्वागत पनि गरेका छन् । चाटर्ड एकाउन्टेन्ट रहेका अधिकारी नियमन र सुपरिभिजनमा अब्बल मानिन्छन् । राष्ट्र बैंकमा सेकेन्डम्यान रहँदा निकै राम्रो भूमिका निर्वाह गरेका थिए । र, सफल पनि भएका थिए ।

तर, ३ वर्ष लगानी बोर्डको सीइओका रुपमा भने अधिकारीले सोचेअनुसारको सफलता प्राप्त गर्न सकेनन् । राष्ट्र बैंकको संरचना बलियो भएको र लगानी बोर्डको संरचना निकै कमजोर रहेकाले आफ्नो सफलता र असफलता संगठनको संरचनासँग जोडेर ब्याख्या गर्छन् उनी ।
यतिबेला राइट पर्सन राइट म्यान भनेर अधिकारीको नियुक्तिलाई समग्र समाजले सकरात्मकरुपमा स्वागत गरेको छ ।

तर, उनीसामू राष्ट्र बैंकको स्वायत्तता जोगाउनेदेखि देशको अर्थतन्त्रलाई गतिशिल बनाउने चुनौतिका पहाड छन् । आगामी दिनमा उनी कसरी अघि बढ्छन् । र, बहिर्गमन कतिको सुखद र विवादरहित हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment