Saturday, June 20, 2020

नागरिक लगानी कोष स्टक डिलर सञ्चालन गर्न उत्साहित, साउनबाट बजार प्रवेश गर्ने

सोभित थपलिया
काठमाडौं । नागरिक लगानी कोषका नायव कार्यकारी निर्देशक इन्द्र कट्टेलले स्टक डिलरको काम गर्न पाउँँदा ज्यादै खुसी भएको बताएका छन् ।

आफूले खोज्दै जान लागेको समयमा धितोपत्र बोर्डले कागजात लिएर आहिले हामी लाइसेन्स दिन्छौं भनेपछि हामीलाई झनै हतार भएको छ । कोषले काम विस्तार गर्ने क्रममा स्टक डिलरको काम गर्न पाउनु निकै राम्रो भएको बताएका छन् ।

सेयर बजारमा सकारात्मक प्रभाव पर्नेगरी काम गर्ने उनको भनाइ छ ।

संस्थागत लगानी भएपछि सेयर बजारमा देखिएको समस्या थोरै भएपनि हट्दै जाने कट्टेलले बताए । यसले लगानीकर्ताको मनोबल पनि बढ्दै जाने बताए ।

कोषले लामो समयदेखि स्टक डिलरको काम गर्नका लागि आवश्यक काम गरिरहेको र धितोपत्र बोर्डले कोषलाई डिलरको अनुमति लिने प्रक्रिया शीघ्र अगाडि बढाउन आग्रह गरेसँगै आफूलाई काम गर्न निकै उत्साह समेत मिलेको बताए ।

कोषले स्टक डिलरको काम गर्नका लागि ‘नागरिक स्टक डिलर लिमिटेड’ नामक सहायक कम्पनी पनि खोलिसकेको छ । उक्त कम्पनीका प्रबन्ध सञ्चालक समेत रहेका कट्टेलले कम्पनीले काम शुरु गरेपछि सेयर बजारमा स्थायित्व आउने बताए ।

आगामी आवको बजेटले पनि स्टक डिलर सञ्चालमा ल्याउने भनिसकेको छ । कोषले पनि बजेटले भनेको जस्तो आगामी आवको शुरुदेखि नै बजारमा प्रवेश गर्ने की भन्ने तयारीका साथ काम भइरहेको कट्टेलले बताए ।

‘त्यसका लागि हामीले नेप्सेलाई हामीलाई चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न पत्र पठाएका छौं, यस्तै व्यहोराको पत्र सीडीएससीलाई पनि पठाएका छौं । हामीलाई चाहिने पूर्वाधारको विषयमा नेप्सेको प्राविधिक समूहसँग छलफल भएको छ,’ उनले भने ।

उनले अहिले २ जना आईटीमा जनशक्तिले नेप्सेमा नट्सको तालिम पनि लिइसकेको बताए । आवश्यक परे फेरि लिने उनको भनाइ छ ।

कम्पनीका सेयर होल्डरको रुपमा ३ वटा ठूला कम्पनी छन् । अहिलेसम्म दूरसञ्चार कम्पनीबाट आवश्यक कागजातप्राप्त भएको र पुनर्बीमा कम्पनीबाट आवश्यक कागजात आउने अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

‘आगामी एक हप्तामा हामी दर्ता गर्छौ, असार ६ गते दर्ता गर्ने भनेपनि त्यो दिन शनिबार परेकाले ७ गते दर्ता गर्ने छौं,’ उनले भने ।

केही सञ्चालक उपत्यका बाहिर भएको कारण समय लागेको र अब आउने आइतबारसम्म धितोपत्र बोर्डमा जाने उनले बताए ।

कोषले डिलरका लागि काम गर्न भन्दै गत माघमा नै कम्पनी दर्ता गरिसकेको छ । चैत ४ गते ५ जनाको सञ्चालक समिति समेत गठन गरिसकेको छ । ३ जना नागरिक लगानी कोषबाट, १ जना दुरसञ्चार कम्पनी र १ जना पुनर्बीमा कम्पनीका प्रतिनिधि सदस्य छन् ।

५ अर्बको पुँजी भएको कम्पनीले डेढ अर्ब सर्वसाधारणका लागि छुट्याएको छ । अहिले साढे ३ अर्ब मात्रै पुँजी देखिन्छ । कम्पनीले लगानी गर्दा भएको सबै पुँजी एकैपटक लगानी नगरी बजारको अनुसन्धान गरेर मात्रै लगानी गर्ने जनाएको छ ।

लामो समयदेखि सेयर लगानीकर्ताहरुले कोषलाई डिलरको काम गर्न दिनुपर्ने माग राख्दै आएका थिए । यो समय लगानीकर्ताको माग पनि पूरा हुने भएको छ ।

No comments:

Post a Comment