Saturday, July 11, 2020

एटीएम ह्याक प्रकरणः नेप्सका सीइओलाई प्रहरीले बयानका लागि बोलायो

सोभित थपलिया 
काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरेर साढे ३ करोड चोरी गरेको घटना थप पेचिलो बन्दै गएको छ । गत शनिबार चिनियाँ लुटेराहरुलाई पक्राउ गरेको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा नेप्सले प्रहरीलाई सहयोग नगरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले नेप्सका सीइओ प्रविण क्षेत्रीलाई बोलाएको छ ।
‘हामीले हिँजो (मंगलबार) पनि नेप्सका सीइओलाई बयानका लागि बोलाएका थियौं, उहाँ आउनु भएन र आज (बुधबार) बयानका लागि बोलाएका छौं,’ महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले क्लिकमाण्डूसँग भने, ‘आफ्नो सिस्टम ह्याक गरेर लुटेराहरुले रकम लुट्दा पनि नेप्सले अहिलेसम्म प्रहरीलाई खरब गरेको छैन । र, प्रहरी अनुसन्धानमा सहयोग गरेको छैन । त्यसैले हामीले सीइओलाई बोलाएर बयान लिन लागेका हौं ।’

डेढ दर्जन बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको जिम्मा लिएर बसेको नेप्स यो घटनाको बढी जिम्मेवार हुनुपर्ने डीएसपी बोगटीको भनाइ छ ।

‘बैंकको पैसा चोरी भएको भए पनि नेप्सको प्रणाली प्रयोग गरेर चोरीएको छ,’ उनले भने, ‘त्यसैले यो घटनामा नेप्सले जिम्मेवारी लिँदै सक्रियतापूर्वक प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा उ प्रहरीको सम्पर्कमा समेत आएको छैन । किन प्रहरी सम्पर्कमा नआएको भनेर बयान लिन्छौं ।’

नेप्सका सीइओ क्षेत्रीले आफू साँझ ४र५ बजेतिर प्रहरीकहाँ जाने जानकारी दिए ।

‘होबिन्द्रजीले हिँजैदेखि बोलाइरहनु भएको थियो, प्रतिवेदन लेख्ने काममा राष्ट्र बैंकमै छु,’ उनले भने, ‘आज पनि भन्नुभएको छ । साँझ ४र५ बजेतिर जान्छु ।’

नेप्सको सिस्टममा ह्याकरले मालवेर भाइरस पठाएर आक्रमण गरी नेपालबाट १ करोड ७६ लाख र भारतबाट १ करोड ५ लाख भारु निकालेको थियो । नेपालमा ७०० पटक र भारतमा १००० पटक भिसा कार्ड घोटेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले दरबारमार्गस्थित नविल बैंकको एटीएम बुथबाट एक जना चिनियाँ ह्याकरलाई रकम चोरी गर्दागर्दै पक्राउ गरेको थियो भने ४ जनालाई हात्तिसारस्थित माया मनोर होटलको लिफ्टबाट पक्राउ गरेको थियो । अर्का एक जना चिनियाँ ह्याकरलाई आइतबार राति भाग्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

चिनियाँ ह्याकरको पैसा साट्ने ३ जना मनि चेञ्जरका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नविल बैंक र प्रभु बैंकका कर्मचारीको चलाखीपूर्ण सक्रियाताका कारण प्रहरीले ह्याकरलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रभु बैंकका सीसीओ दिनेश थकालीले डीएसपी होबिन्द्र बोगटीलाई घटनाको जानकारी गराएका थिए । जानकारी पाउनेवित्तिकै प्रहरीले तत्कालै एक्सन लिँदा ह्याकरहरु पक्राउ पर्न सफल भएका हुन् । ह्याकरहरुको साथबाट १ करोड २६ लाख नेपाली र बाँकी विदेशी मुद्रा गरी १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

नेप्सले भने घटना भएको ५ दिनपछि विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमनकारी निकाय आदीसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौं ।’

कम्पनीले हाल केही समयका लागि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएमरपीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

राष्ट्र बैंकको निर्देशन पछि नेप्सले मंगलबार फरेन्सिक टेस्टका लागि सिंगापूरको भेरी जोन कम्पनीका प्राविधिकलाई काठमाडौं बोलाएको छ । उक्त कम्पनीका २ जना प्राविधिक बुधबार साँझसम्म काठमाडौं आइपुग्ने नेप्सका सीइओ प्रविण क्षेत्रीले जानकारी दिए ।

https://clickmandu.com/2019/09/93718.html

No comments:

Post a Comment