Thursday, March 24, 2022

ओटीसी बजारमा एनसेलको १ कित्ता सेयर १ लाख २४ हजारमा बिक्री



सोभित थपलिया


काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरेको छ । जसका लागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा रुपान्तरण गरिसकेको छ ।


एनसेल २०७७ साउनमै आइपीओ निष्काशन गर्ने तयारीका साथ पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । कम्पनी ऐन २०६३ को दफा १२ मा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था छ ।


पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेपछि सेयर बजारमा चासो राख्ने आम लगानीकर्ताहरु एनसेलले आइपीओ किन्न आतुर भएर बसेका छन् ।



तपाईं एनसेलको आइपीओ कुरेर बसिरहनु भएको छ भने न्यूनतम १० कित्ता किन्नका लागि मात्रै पनि मोटो धनराशी खर्च गर्नुपर्ने देखिएको छ । किनभने हालै मात्र ओटीसी ९ओभर दि काउन्टर० बजारमा एक कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।


किनभने, यो कम्पनीको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । नेटवर्थ जति बढी भयो सेयर बजारमा लगानी गर्नेका लागि उतिनै राम्रो हो । लगानीकर्ताहरुले कम्पनीको नेटवर्थलाई आधार मानेर लगानी गर्ने गर्छन् ।


सम्भवतः नेपालमा ओटीसी बजारमा भएको सेयर कारोबारमध्ये एनसेलको कारोबार सबैभन्दा महंगो हो ।


एनसेलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत सेयर स्वामित्व नेपाली लगानीकर्तामा छ । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसेलले आर्थिक वर्ष २०७६र७७ मा ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर तिरेको ठूला करदाता कार्यालयको रेकर्डमा उल्लेख छ । जसमध्ये २२ अर्ब रुपैयाँ सेयर स्वामित्व खरिदबिक्री हुँदाको पुँजीगत लाभकर वापत बुझाएको थियो भने १२ अर्ब ९५ करोड रुपैयाँ खुद नाफाबाट आयकर बुझाएको थियो ।


आयकर ऐन अनुसार कुनै पनि कम्पनीले खुद नाफाको २५ प्रतिशत राज्यलाई आयकरवापत तिर्नुपर्छ । यसलाई आधार मान्दा कम्पनीले उक्त आवमा करिब ५० अर्ब रुपैयाँ नाफा कमाएको देखिन्छ ।


एनसेलको गत साउन १९ गते एक कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले जानकारी गराएको छ ।



नेप्सेका अनुसार सम्पन्नराज भट्टले १ कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा कबिन मुललाई बिक्री गरेका हुन् ।


सरकारले नै उत्पादनमूलक तथा सेवाप्रदायक कम्पनीलाई आइपीओमा ल्याउने र त्यसका लागि सहजिकरण गर्न भन्दै बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्ने व्यवस्था गरेको छ ।


पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेपछि एनसेलले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय दूरसञ्चार प्राधिकरण र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डसँग आइपीओ ल्याउने विषयमा छलफल गरिरहेको छ । यद्यपि अहिलेसम्म कहिले कुन विधिबाट आइपीओ निष्काशन गर्ने भन्ने टुंगो लागेको छैन ।


हाल एनसेलको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । ओटीसी बजारमा भएको कारोबारलाई आधार मान्दा कम्पनीको आइपीओ निष्काशन गर्दा प्रतिकित्ता सेयर मूल्य १ लाख रुपैयाँको हाराहारीमा पुग्ने विश्लेषण गर्न सकिन्छ । तर त्यसको प्रक्रिया थप अघिनबढेसम्म यति नै मूल्य हुन्छ भन्न सकिँदैन ।


करिब १५० रुपैयाँको हाराहारीमा प्रतिसेयर नेतवर्थ रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दा प्रतिकित्ता ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो । सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारमा प्रतिकित्ता २५० रुपैयाँमा सेयर किनबेच भएको थियो ।


सर्वोत्तम सिमेन्टको ओटीसी बजारमा भएको कारोबारलाई आधार मान्ने हो भने पनि एनसेलको प्रतिकित्ता सेयर मूल्य १ लाख रुपैयाँभन्दा बढी हुने सहजै अनुमान गर्न सकिन्छ । किनभने, एनसेलको प्रतिसेयर नेटवर्थ नै १९ हजार ८३ रुपैैयाँ छ ।


हाल एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । साथै, एनसेलले गत आर्थिक वर्षमा रिजर्भमा १८ अर्ब ९८ करोड ३३ लाख ९१ हजार ५०० रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति २८ अर्ब ५१ करोड १० लाख ७ हजार १९२ रुपैयाँ छ भने कुल सम्पत्ति ८५ अर्ब ४१ करोड ३७ लाख १४ हजार ८३ रुपैयाँ छ ।


साथै, चुक्ता पुँजी र जगेडा कोष गरी सेयरधनीको कुल सम्पत्ति १९ अर्ब ८ करोड ३३ लाख ९१ हजार ६ सय रुपैयाँ छ ।

Click here for News

No comments:

Post a Comment