Sunday, July 21, 2019

काठमाडौं महानगरपालिकाले बजेटमा भएको त्रुटी सच्याउने, आकार नै परिवर्तन हुन सक्ने

सोभित थपलिया 
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि विनियोजन गरेको बजेटमा त्रुटी नै त्रुटी भएपछि त्यस्ता त्रुटी सच्याउने भएको छ ।

महानगरपालिकाले असार १० गते आगामी आवको लागि प्रस्तुत गरेको बजेटमा गम्भिर त्रुटी पाएको र उक्त त्रुटी सच्याउने प्रवक्ता इश्वरमान डंगोलले बताए ।


‘बजेटमा गम्भिर त्रुटी भएको रहेछ, त्यो त्रुटि सच्याउने, अंकमा पनि त्रुटी भएको रहेछ, त्यो पनि हामी सुधार्छौ,’ डंगोलले बताए ।

बजेटमा यति गम्भिर त्रुटी कसरी भयो भन्ने प्रश्नमा उनले भने ‘हैन, अब जे नहुनु भयो, हामीले यसलाई निकै गम्भिरताका साथ लिएका र्छौै, १० गते प्रस्तुत गरेको बजेटको १८ गतेदेखि छलफल हुन्छ, छलफलका क्रममा सबै सच्चिन्छ ।’

१८ गतेबाट हुने छलफलमा देखिएको त्रुटी सच्चिने र बजेटको आकार समेत परिवर्तन हुन सक्ने उनको भनाई छ । महानगरपालिकाले आगामी आवको लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आगामी आव २०७६–७७ का लागि विनियोजन गरेको बजेटमा चालु आवको विनियोजित १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा आगामी आवको लागि १९ प्रतिशतले बढी रहेको उल्लेख छ ।

तर १९ प्रतिशतले बढाउँदा १५ अर्ब ४९ करोड ५२ लाख ७२ हजार ३० रुपैयाँ हुन्छ । महानगरले सार्वजनिक गरेको बजेटभन्दा १९ प्रतिशतले वृद्धि गरी हुन आउने रकम १ करोड १७ लाख ३९ हजार ९७० रुपैयाँले पुग्दैन ।

यस्तै महानगरपालिकाले १ सय प्रतिशत होइन १०१ प्रतिशत बजेट ल्याएको छ । आर्थिक विकासको लागि ४ प्रतिशत छुट्याइएको छ ।

सामाजिक विकास अन्तर्गत २४ प्रतिशत, पूर्वाधार विकास अन्तर्गत ३९ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत ४ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन अन्तर्गत २३ प्रतिशत र जग्गा विकासको लागि बिनियोजित बजेटमध्ये ७ प्रतिशत रहेको छ ।

यो सबै जोड्दा महानगरपालिकाको बजेट प्रतिशतका हिसाबले हेर्दा १०१ प्रतिशत पुग्छ । यसर्थ विनियोजित बजेटमा १ प्रतिशत बजेट थपिदाँ १५ करोड ७० लाख ७० हजार १२० रुपैयाँ बढी हुनुपर्ने हो ।

महानगरले ल्याएको बजेटलाई प्रतिशतमा हेर्ने हो भने यो १५ अर्ब ५० करोड ७० लाख १२ हजार होइन १५ अर्ब ६६ करोड २० लाख ८२ हजार १२० रुपैयाँ हुन आँउछ ।

यस्तै महानगरपालिकाले आगामी आवको लागि ल्याएको बजेटमा व्यय र आय पनि मिलेको छैन । महानगरले व्यय र आयलाई १०० प्रतिशत रहेको जनाएपनि वास्तवमा भने ९९.९९ प्रतिशत मात्रै रहेको छ ।

दुवै शीर्षकमा ०।०१ प्रतिशत अपुग छ । यो भनेको विनियोजित बजेटको १५ लाख ५० हजार ७०१ रुपैयाँको फरक हो ।

No comments:

Post a Comment