Sunday, March 21, 2021

तपाईलाई यसकारणले परेन आइपिओ, यसरी हुन्छ बाँडफाँड


काठमाडौं । अहिले सेयर बजारमा धेरै जनाको आर्कषण बढ्दो छ । विशेष गरेर विभिन्न कम्पनीहरुले जारी गर्ने साधारण सेयर (आइपिओ) मा नयाँ तथा पुराना लगानीकर्ताको आकर्षण बढी हुन्छ । डिम्याट खाता खोली न्युनतम एक हजार रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गर्न सकिन्छ ।


अहिले धेरै वटा कम्पनीहरुको आइपिओ पाइलाइनमा छ । केही कम्पनीहरुको आइपिओ बाँडफांड समेत भइसकेको छ । प्रायजसो कम्पनीहरुले जारी गर्ने आइपिओभन्दा बढी आवेदन परिरहेको हुन्छ । आईपिओ भनेको के हो ? र यसको बाँडफाँडको प्रक्रिया के छ ?


आइपिओ जारी गर्ने प्रक्रिया

कुनै पनि कम्पनीले थप पुँजीको लागि साधारण सेयर (आइपिओ) निश्कासन गर्छन् । कम्पनीहरुले पहिलो पटक जारी गर्ने सेयरलाई आइपिओ भनिन्छ ।


तोकिएको पुँजी पुर्याउन वा पुँजी थपको लागि कम्पनीहरुले साधारण सभाबाट पारित गरी सम्पुर्ण प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्डबाट आइपिओ जारी गर्ने अनुमति लिन्छन् । बोर्डबाट स्वीकृत पाएपछि आइपिओे निष्कासन तथा बिक्री प्रबन्धकको मर्चेन्ट बैंकको छनौट हुन्छ ।


आइपिओ निश्कासनको जिम्मेवारी पाएका मर्चेन्ट बैंकले आइपिओको निश्चित समयावधि तोकेर आवेदन खुलाउँछ । आइपिओको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि मर्चेन्ट बैंकले ‘प्रि–एलोटमेन्ट’ गर्नु पर्छ । जारी आइपिओमा परेको आवेदनमा कति आवेदन योग्य र अति अयोग्य भएका छन् त्यसको जानकारी प्रि–एलोटमेन्टमा हुन्छ । सो पछि मर्चेन्ट बैंकले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुन्छ छ ।


कस्तो आवेदन अयोग्य हुन्छन् ?


प्राप्त आवेदनमा मर्चेन्ट बैंकले प्रमाणिकरण गर्छ । प्रमाणिकरण गर्दा आवेदनको नाम, नागरिकता नम्बर लगायत तीन पुस्ते विवरण पुनः परिक्षण हुन्छ । यदी एकै व्यक्तिले २ वटा नागरिकता नम्बरबाट आइपिओ भरेको छ भने सिस्टममा त्यो आवेदन शंकास्पद आवेदनमा देखाउँछ । शंकास्पद आवेदनमा देखिने प्रायः अविभावकले आफ्ना छोरा/छोरीको नामबाट भरेको छ भने देखिन्छ । साथै, गलत नागरिकता नम्बर, नाम र अन्य गतल विवरणका कारणले पनि शंकास्पद आवेदनमा सिस्टमले राख्छ ।


नागरिकता प्राप्त नगरेका छोरा÷छोरीको नाबालिग डिम्याट खाताबाट भरेको आइपिओमा अविभावकको नै नागरिकता नम्बर हुने हुँदा त्यस्ता आवेदन शंकास्पद आवेदनमा सिस्टमले देखाउँछ । जसमा मर्चेन्ट बैंक विवरण पुनः परिक्षण गरेर आइपिओका लागि योग्य आवेदन भएको प्रमाणित गर्छ । तर एउटै नागरिकता नम्बरबाट एकै व्यक्तिले फरक फरक डिम्याटबाट आइपिओको आवेदन दिएको छ भने त्यो अयोग्य हुन्छ । साथै केही कारणबस गलत वितरण राखेर आइपिओ भरेमा त्यो आवेदन पनि अयोग्य हुन्छ ।


कसरी हुन्छ आइपिओ बाँडफाँड


प्राप्त आवेदनमा योग्य र अयोग्य छुट्याइसकेपछि मर्चेन्ट बैंकले योग्य आवेदनलाई क्रम संख्या निर्धारण गर्छ । क्रम संख्या निर्धारणमा मर्चेन्ट बैंकले प्राप्त आवेदनको विवरणको आधार मान्छ । जस्तै पहिलो प्राप्त आवेदको क्रम संख्या १, दोस्रोको २ गर्दै क्रमिक रुपले आवेदनको क्रमसंख्या निर्धारण हुन्छ ।


यसरी निर्धारण भएको आवेदनको क्रम संख्यामा ५ वटा शुन्य थप गरी ६ अंकको नम्बर बनाइन्छ र त्यसलाई रिभर्स गरिन्छ । जस्तै, १ क्रम संख्यामा पाच वटा शुन्य थप गरिएपछि ५००००० बनाइन्छ र त्यसलाई रिभर्स गरिन्छ । रिभर्स गरिएपछि सो आवेदनको क्रम संख्या ०००००५ हुन जान्छ ।


यसरी आवेदनको क्रम संख्या निर्धारण भएपछि आईपिओको बाँडफाँड गोलाप्रथा विधिबाट गर्ने गरिएको छ । धितोपत्र बोर्डले समानुपातिक विधिबाट पहिलो प्राथमिकतामा १० कित्ता सेयर वितरण गर्नु पर्ने प्रावधान गरेपछि गोलाप्रथा विधिबाट आइपिओ बाँडफाँड गरिन शुरु भएको हो ।


जसमा मर्चेन्ट बैंकले एक बास्केटमा १ देखि ९ अंक अंकित बल राखेको हुन्छ । सो बललाई मर्चेन्ट बैंकका प्रतिनिधिले आइपिओ बाँडफाँडमा उपस्थित एक जनालाई बास्केटबाट निकाल्न लगाउँछन् । मानौं, बास्केटबाट २ अंक अंकित बल बाहिर निकालियो । त्यो अब आइपिओको आवेदनमा क्रम संख्या ०००००२ ले पहिलो १० कित्ता सेयर पाउँछ । त्यसपछिको सेयर भने मर्चेन्ट बैंकले स्किप भ्यालुको आधारमा बाँडफांड गर्छ ।


के हो स्किप भ्यालु ?


कुनै पनि कम्पनीले आइपिओमार्फत् जारी गर्ने कुल सेयर कित्तालाई सो आइपिओमा प्राप्त कुल आवेदनले भाग गरी आएको संख्यालाई नै स्किप कोर्ड भनिन्छ ।


मानौ, कुनै पनि कम्पनीले १०० कित्ता साधारण सेयर जारी गर्न आवेदन खुलाएको छ । त्यस एक हजार आवेदन प्राप्त भयो । यो भनेको आइपिओ मागको भन्दा बढी भएका कारणले स्किपकोडको आवश्यकता परेको हो । त्यसमा मर्चेन्ट बैंकले प्राप्त आवेदन संख्यामा जारी गरिने सेयर संख्यालाई भाग गरिन्छ । जस्तैः १ हजार भाग १ सय गरेपछि स्किप कोर्ड १० हुन आउँछ ।


आइपिओ छनौटमा स्किप भ्यालुको प्रयोग


बास्केटबाट २ अंक अंकित बल बाहिर आएपछि पहिलो १० कित्ता प्राप्त गर्ने आवेदन नम्बर ०००००२ हुन्छ । सोपछि भने आइपिओ प्राप्त गर्ने आवेदन नम्बरमा स्किप भ्यालुमा १० जोड गरिन्छ । दोस्रो १० कित्ता आइपिओ ०००००१२ नम्बरको आवेदनले प्राप्त गर्छ । त्यस्तैगरी दोस्रो आवेदन नम्बरमा स्किप भ्यालु जोड गरी तेस्रो १० कित्ता प्राप्त गर्ने ०००००२२ आवेदन छनौट हुन्छ । यसरी नै क्रमिक रुपमा अघिल्लो आवेदनमा स्किप भ्यालु जोड गरिन्दै आवेदनमा १० आइपिओ दिइन्छ ।


कुनै पनि संस्थाले जारी गरेको साधारण सेयर आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकता ५ हजार कित्तासम्म आवेदन दिन मिल्छ । तर बाँडफांडमा आइपिओ मागको आवेदनअनुसार पहिलो १० कित्ता मागको आवेदनलाई आइपिओ वितरण हुन्छ ।


जारी आइपिओबाट १० कित्ता मागको आवेदन सबैलाई वितरण भएपछि स्किप भ्यालुकै प्रत्रियामा २० कित्तादेखि ५ हजार कित्ताको आवेदनलाई १० कित्ता दिइन्छ । त्यसपछि पुन सोही प्रक्रियामा ३० कित्तादेखि ५ हजार कित्तालाई पुनः १० कित्ता वितरण हुन्छ । यसैगरी क्रमिक रुपमा स्किप भ्यालुको प्रयोग गरी ४० कित्तादेखि आवेदन ५ हजार मागको आवेदन, ५० कित्तादेखि ५ हजार मागको आवेदनलाई पुगेसम्म १०/१० कित्ता गरी आइपिओ बाँडफाँड हुन्छ ।


धितोपत्र निश्कासन तथा बाँडफाड निर्देशिकाअनुसार साधारण सेयर बाँडफाँडमा समानुपातिकताको आधारमा सेयर बाँडफाड गर्दा न्यूनतम कित्ता आवेदन दिने आवेदकलाई आइपिओ पर्ने सम्भावना बढी हुन्छ भने धेरै कित्ताको आवेदन दिने आवेदकले प्रायजसो मागभन्दा थोरै कित्ता सेयर पाउने सम्भावना हुन्छ ।

https://clickmandu.com/2020/09/129651.html

No comments:

Post a Comment