Monday, July 18, 2022

घर जग्गाको लगानीले डुब्दै सहकारी संस्था



सोभित थपलिया


काठमाडौं । गत वैशाख १२ गते ललितपुरको कुमारीपाटीमा अवस्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाले सहायक कम्पनी इन्क्रिप्टेड क्रियटर्समार्फत ३ सय घडेरी बिक्रीका लागि सूचना प्रकाशित गर्यो ।


एक राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनमा भनिएको थियो, ‘११ प्रतिशत ब्याजदरमा ७२ महिने अवधिका ६ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा लिनुहोस् र मेघौलीका यी आकर्षक घडेरी खरिद गर्नुहोस् ।’


सहकारीले नियम विपरीत लगानी गरेको मेघौलीको घडेरी बिक्री गर्नुको उदेश्य थियो, बचतकर्ताको पैसा तिर्नु । सहकारीले अन्धाधुन्द बचतकर्ताको पैसा जग्गामा खन्याएपछि समस्या उत्पन्न भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने अवस्था नभएपछि सहकारीले घडेरी बिक्री गर्ने निर्णय गरेको थियो ।


सहकारी समस्यामा पर्ने सुइको पाएका केही बचतकर्ताले धमाधम पैसा निकाल्न थालेपछि सहकारी आत्तिएको थियो । जसका कारण ८०० वटा घडेरीमध्ये पहिलो चरणमा ३०० वटा घडेरी बिक्री गर्ने र त्यसबाट प्राप्त पैसा बचतकर्तालाई फिर्ता गर्ने सहकारीको योजना थियो ।


तर, अपेक्षाकृतरुपमा घडेरी बिक्री नै भएन । अहिले सहकारीको वित्तीय अवस्था खराब छ ।


जसका कारण संस्था समस्याग्रस्तउन्मुख भएको छ । सहकारीले घडेरी बिक्रीको विज्ञापन प्रकाशित गरेपछि सहकारीले विभागले स्पष्टिकरण सोधिसकेको छ ।


पशुपति सहकारीको योजना थियो, ११ प्रतिशतमा आफै ऋण दिने र आफ्नै जग्गा बिक्री गर्ने । र, कर्जा रकम न्यूनतम ६ लाखदेखि २० लाख रुपैयाँसम्म उपलब्ध गराउने समेत सहकारीको योजना थियो । जबकी, अहिले सहकारीको सन्दर्भ ब्याजदर नै १६ प्रतिशत छ ।


जग्गामा पैसा खन्याएर समस्याग्रस्त अवस्थामा पुगेको सहकारी पशुपतिमात्रै होइन । यसअघि ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले ८ हजार बचतकर्ताको पैसा घर जग्गामा लगानी गर्दा सहकारी डुब्यो । र, बस्नेत जेल जानु पर्ने अवस्था आयो । यता बचतकर्ताले अहिलेसम्म पनि पैसा पाउन सकेका छैनन् ।


घर जग्गा लगानी गरेकै कारण सिभिल को(अपरेटिभ पनि धराशायी बनेको छ । बचतकर्ताको रकम जग्गामा लगाएर ठगी गरेको भन्दै सहकारीका संस्थापक इच्छाराज तामाङ अहिले जेलमा छन् ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार तामाङविरुद्ध ५ अर्ब ६५ करोड रुपैयाँ माग दाबी गर्दैै १४९३ वटा उजुरी परेका छन् । तामाङले निक्षेपकर्ताको करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको अनुसन्धानले देखाएको छ । तामाङसँग करिब १२ अर्ब रुपैयाँ बढीको चल तथा अचल सम्पनी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।


तामाङले सहकारीका निक्षेपकर्तालाई १२ देखि १७ प्रतिशतसम्म ब्याज दिने, १५ लाख रुपैयाँ निक्षेपमा राखेको तीन वर्षपछि २।५ ग्राम सुनको सिक्का उपहार दिने भन्दै ठगी गरेका थिए ।


उनले कतिपय निक्षेपकर्तालाई घर, गाडी, फ्रिज, टिभी, पंखालगायतका उपहार पनि दिएका थिए । त्यही लोभमा सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ थाहा छैन ।


घर जग्गामा लगानी भएकै कारण समस्यामा परेको अर्को सहकारी गुडविल बचत तथा ऋण सहकारी संस्था पनि हो । संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले ६० करोड रुपैयाँभन्दा बढी रकम जग्गामा लगानी गरे । सहकारीले घर जग्गामा गरेको लगानीका कारण निक्षेपकर्ताको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ ।


यस्तै कथा आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाको पनि छ । यो सहकारीले पनि घर जग्गामा गरेको लगानीका कारण समस्यामा परेको छ । सहकारीले ३ करोड रुपैयाँ बिनाधितो ऋण दिएको थियो । सहकारी सञ्चालकले घर जग्गामा लगानी गरे । जसले गर्दा बचतकर्ताले पैसा पाउन सकेनन् । अहिले निक्षेकपकर्ता आफ्नो पैसा उठाइपाउ भनेर विभिन्न निकायमा धाइरहेका छन् ।


समस्याग्रस्त भएकादेखि सम्पर्कमा नरहेका सहकारी संस्थाहरुले समेत घर जग्गा, हाउजिङमा लगानी गरेको पाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको भनाइ छ ।


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशव पौडेलका अुनसार समस्याग्रस्त रहेका सबै सहकारीहरु घर जग्गामा गरेको लगानी कारण धराशायी बनेका हुन् ।


‘समस्याग्रस्त भएका सहकारी अधिकांशले घर जग्गामै लगानी गरेको देखियो, जसका कारण बचतकर्ताको अर्बौ रकम फेसेको छ,’ उनले भने ।


उनका अनुसार सहकारीका सञ्चालन आफैले पैसा चलाउने, बिनाधितो घर जग्गामा ऋण दिने, चर्को ब्याज दिएर निक्षेप लिने गरेका कारण समस्या आएको हो । सहकारीले पहिला बचतकर्ताको पैसा उठाउने पछि समयमा नै फिर्ता नगर्दा निक्षेपकर्ताहरु पनि समस्यामा परेका छन् ।


यो समस्या समाधान गर्नका लागि आगामी दिनमा सहकारीको दर्तामा नै कडाइ गर्नुपर्ने उनको भनाइ छ । अहिले भएका सहकारीलाई सहकारी विभागले अनुगमन गर्ने, मर्जरमा लैजाने हो भने पनि यो समस्या कम हुने पौडेलको दाबी छ । कर्जा दिँदा पनि मूल्याङकनका आधारमात्रै दिन उनले सुभाव दिए ।


सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी संस्थामा समस्या आउनुको कारण घर जग्गामा गरेको अन्धाधुन्दा लगानी भएको बताउँछन् ।


‘अहिले समस्या देखिएका सहकारी संस्थाहरुले पनि घर जग्गामा लगानी गरेको पाइएको छ,’ उनले भने, ‘अन्य सहकारीहरुले पनि व्यक्तिगत रुपमा सहकारीमा लगानी गरेको देखिएको छ ।’


यसलाई रोक्नका लागि सहकारी विभाग लागि परेको उनको भनाइ छ । सहकारीले घर जग्गामा बढी लगानी गरेपछि यसलाई न्यून गर्न यही साता एकीकृत निर्देशिका ल्याउने तयारी रहेको पण्डितले बताए ।


सदस्यका बचत रकम संस्थाका पदाधिकारीले धितो मूल्याङकन नगरी घर जग्गामा लगानी गरेर, सञ्चालक आफैले पनि बचतकर्ताको रकम लगानी गर्दा समस्या देखिएको उनको भनाइ छ ।


यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल कुनै पनि सहकारीले घर जग्गामा लगानी गर्न नहुने बताउँछन् । संस्थाले घर जग्गामा लगानी गर्न थालेपछि संस्था जोखिममा पर्ने उनको भनाइ छ ।


‘अहिले समस्यामा परेका सहकारीले घर जग्गा, हाउजिङमा लगानी गरेको देखिएको छ,’ उनले भने, ‘त्यस्तो रकम विभागले पनि पहल गरेर फिर्ता गराउनुपर्छ ।’


नेपाल बचत तथा ऋण केन्द्रीय संघ ९नेफ्स्कुन०का अध्यक्ष परितोष पौडेल सहकारीले घर जग्गामा लगानी गरेको स्वीकार्छन । यो विषयलाई नेफ्स्कुनलाई पनि निकै गम्भीरताका साथ लिएका पौडेलको भनाइ छ ।


गैर सदस्यमा कारोबार गर्ने, परिवारले चलाएका, निश्चित समूहले चलाएका संस्थामा यस्तो समस्या देखिने गरेको उनको भनाइ छ ।


‘जुन सहकारी समूदायमा आधारित छ, जसले गैर सदस्यसँग कारोबार गरेको छैन त्यस्तो सहकारीमा समस्या छैन,’ उनले भने, ‘समस्या भएका सहकारीमा सहकारी विभागले कडाइका साथ नियमन, अनुगमन गर्नुपर्छ ।’


नियमन तथा अनुगमन कडाइका साथ गर्ने हो भने समस्या समाधान हुँदैजाने उनको विश्वास छ ।


सहकारी विभागका अनुसार करिब साढे २९ हजार सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । बचत तथा ऋण, कृषि, बहुउद्देश्यीयलगायत सहकारी संस्था छन् । जे नामबाट सञ्चालन भएपनि सहकारी संस्थाहरुले बढी बचत तथा ऋणमा लगानी गर्ने गरेका छन् ।


बचत तथा ऋणमा गरेको लगानीमध्ये पनि बढी लगानी लगानी घर जग्गामा हुने गरेको विभागको दाबी छ । अन्य जिल्लाको तुलनामा उपत्यकाका सहकारीहरुले बढी लगानी घर जग्गामा गर्ने गरेको पाइएको छ ।


समस्याग्रस्त सहकारी र बचत रकम


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिलेसम्म १२ वटा सहकारी संस्था समस्याग्रस्तमा परेका छन् ।


समितिको प्रतिवेदन अनुसार स्टान्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले बचतकर्ताको ५३ करोड ३६ लाख, प्यासिफिक सेभिङ एण्ड क्रेडिट को(अपरेटिभमा ३० करोड ८६ लाख रुपैयाँ फसेको छ ।


साथै, प्रभु बचत तथा ऋण सहकारीमा २१ करोड ८३ लाख, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिटमा ६ करोड ८६ लाख, कन्जुमर बचत तथा ऋण सहकारीमा १० करोड १३ लाख, कुवेर बचत तथा ऋण सहकारी ४ करोड ३८ लाख, चार्टर्ड सेभिङ एण्ड क्रेडिटमा ३ करोड १४ लाख रुपैयाँ फसेको छ ।


त्यसैगरी भेगास बचत तथा ऋण सहकारीमा २ करोड १२ लाख, स्ट्यान्डर्ड मल्टिपर्पोजमा ६ करोड ७४ लाख, ओरेन्टल सहकारीमा ६ अर्ब ८६ करोड ४२ लाख र सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको अनुमानित १५ करोड रुपैैयाँ फसेको छ ।

https://clickmandu.com/2022/05/195706.html

No comments:

Post a Comment