Monday, July 18, 2022

अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री गरे, होला त कारबाही ?



सोभित थपलिया


काठमाडौं । राधी विद्युत कम्पनीका तत्कालीन अध्यक्ष अनिल कुमार रुङ्गटाले कानून विपरीत सेयर बिक्री गरेका छन् ।


रुङ्गटा राधी विद्युत् कम्पनीमा अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बिक्री गरेको हो । राधी विद्युत् कम्पनीमा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको ४७।२६ प्रतिशत स्वामित्व छ ।


लमजुङमा गण्डकी इनर्जीको ८४।१९ प्रतिशत सेयर छ । गण्डकीमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०० प्रतिशत सेयर स्वामित्व छ । सीइडीबी हाइड्रोपावरका अध्यक्ष पनि रुङ्गटा नै हुन् ।


तत्कालीन अध्यक्ष रुङ्गटाले आफू कम्पनीको अध्यक्ष पदमा रहँदा ७० करोड बराबरको सेयर बिक्री गरेको तथ्य क्लिकमाण्डूले फेला पारेको छ ।


अध्यक्ष रुङ्गटाले करिब २० दिनको अवधिमा लगभग ३६ सय कारोबारबाट ६ लाख बढी कित्ता सेयर ७० करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेका हुन् ।


धितोपत्र सम्बन्धी ऐन( २०६३ मा संगठित संस्थाको पदाधिकारीले पदमा रहँदा वा छोडेको १ वर्षसम्म उक्त कम्पनीमा भएको आफ्नो सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । तर, राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुङ्गटाले पदमा रहँदा नै आफूसँग भएको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिएका हुन् ।


अध्यक्ष रुङ्गटाले वैशाख अन्तिम सातादेखि १८ गतेसम्मको अवधिमा ११ वटा कारोबार दिनमा उनले आफूसँग भएको सेयर बिक्री गरेको तथ्य फेला परेको छ । जेठ १८ गतेसम्म आफूसँग भएको सेयर बिक्री गरेर रुङ्गटाले २०७८ असार ७ गते कम्पनीको अध्यक्षबाट बाहिरिए ।


राधी विद्युत् कम्पनीले नेप्सेलाई असार ७ गते पठाएको पत्रमा भनिएको छ, ‘राधी विद्युत् कम्पनीमा खारे इन्भेष्टमेन्ट लिमिटेडबाट प्रतिनिधित्व गर्नु भएका सञ्चालक अनिल कुमार रुङ्गटालाई फिर्ता बोलाई उक्त सञ्चालक पदमा विमेशमान पतिलाई नियुक्त गरेको व्यहोरो जानकारी गराइन्छ’ भन्ने उल्लेख छ ।


कम्पनीका अनुसार रुङ्गटा २०७७ भदौ २५ गतेदेखि लागू हुनेगरी सञ्चालक अनिलकुमार रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरिएको थियो । रुङ्गटा करिब १० महिनामात्रै कम्पनीको अध्यक्षका रुपमा रहेका थिए । उनले विभिन्न बाहनामा आफूसँग भएको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिएको तथ्यले देखाएको छ ।



प्राप्त विवरणअनुसार रुङ्गटाले आफूसँग भएको सेयर प्रतिकित्ता ८९० रुपैयाँदेखि ११५९ रुपैयाँसम्ममा बिक्री गरेका छन् । उनले आफूसँग भएको सेयर २०, ३३, ४३ नम्बर ब्रोकरबाट बिक्री गरेका हुन् ।


रुङ्गटाले वैशाख २९ गते १३ हजारभन्दा बढी कित्ता सेयर साढे ९२ लाख रुपैयाँमा बिक्री गरेका छन् । उक्त दिन उनले प्रतिकित्ता ६८० देखि ६८८ रुपैयाँसम्म सेयर बिक्री गरेको पाइएको छ ।


रुङ्गटाले २०७८ वैशाख ३० गते ब्रोकरबाट ४ हजार ६६० कित्ता सेयर ३२ लाख ५० हजार ४० कित्ता सेयर बिक्री गरेका छन् । त्यसदिन उनले उक्त सेयर अघिल्लो दिनभन्दा केही बढी मूल्यमा बिक्री गरेको तथ्याङकले देखाएको छ । प्रतिकित्ता ६९४ देखि ६९९ रुपैयाँसम्ममा सेयर बिक्री गरेको पाइएको छ ।


यस्तै २०७८ जेठ ५ गते ३४ हजार कित्ता सेयर ३ करोड बढी मूल्यमा बिक्री गरिएको छ भने जेठ ६ गते साढे १२ हजार कित्ता सेयर १ करोड बढी मूल्यमा सेयर बिक्री गरिएको छ ।


रुङ्गटाले जेठ ९ गते ७ हजार कित्ता सेयर ६५ लाख रुपैयाँमा बिक्री गरेका छन् । उक्त दिन प्रतिकित्ता ८९० देखि ९०४ रुपैयाँसम्म सेयर बिक्री गरेको पाइएको छ ।


रुङ्गटाले जेठ १० गते भने जम्मा १०० कित्ता सेयर ८५ हजारमा बिक्री गरेको पाइएको छ ।


१० गतेको तुलनामा उनले ११ गते धेरै कित्ता सेयर बिक्री गरेका छन् । उनले उक्त दिन ६२ हजार कित्ता सेयर करिब ६ करोड रुपैयाँमा बिक्री गरेको पाइएको छ । त्यसदिन रुंगाटाले प्रतिकित्ता ९१४ देखि ९७० रुपैयाँको अन्तरमा सेयर बिक्री गरेको पाइएको छ ।


रुंगाटाले जेठ १३ गते पनि आफूसँग भएको साढे ८० हजार कित्ता सेयर ८ करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरेका छन् । उनले उक्त दिन प्रतिकित्ता १०१६ देखि १०६५ रुपैयाँसम्म सेयर बिक्री गरेको पाइएको छ ।


त्यसको ३ दिनपछि १६ गते ५४ सय कित्ता सेयर ६२ लाखमा बिक्री गरेका छन् । उनले उक्त दिन प्रतिकित्ता ११४९ देखि ११५९ रुपैयाँसम्ममा सेयर बिक्री गरेका छन् ।


जेठ १७ गते करिब ४ लाख कित्ता सेयर साढे ३८ करोडमा रुपैयाँमा बिक्री गरेका थिए । त्यसदिन १२५६ रुपैयाँमा सेयर बिक्री भएका छन् भने जेठ १८ गते ७७ हजार ५८० कित्ता सेयर सवा १० करोड रुपैयाँ बिक्री गरेका छन् । उनले अन्तिम दिन आफुसँग भएको सेयर प्रतिकित्ता १३३६ रुपैयाँसम्म बिक्री गरेर कम्पनी छोडेर हिँडेका छन् ।


दर्जन कम्पनीको अध्यक्ष तथा सञ्चालक रुङ्गटा


राधीका तत्कालीन अध्यक्ष रुङ्गटाले २०७८ असार ७ गते राजीनामा दिए । उनी त्यो कम्पनीमा मात्रै अध्यक्ष छैनन् । रुङ्गटा अन्य दर्जन कम्पनीमा अध्यक्ष तथा संचालक छन् । तीमध्ये केही कम्पनी नेप्सेमा सूचीकृत छन् ।


रुङ्गटाको लगानी रहेका कम्पनीमा मुख्य कम्पनी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हो । यो कम्पनी नेप्सेमा लगानी समूहमा छ ।


मुख्य कम्पनी सीइडीबी हाइड्रोपावर हो भने यसको मातहतमा रहेका कसुवा खोला हाइड्रोपावर र गण्डकी इनर्जीको अध्यक्ष छन् । तर, कम्पनीको वेवसाइटमा भने उल्लेख छैन । रुङ्गटा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी, खारे इन्भेष्टमेन्ट, गण्डकी इनर्जी, राप्ती हाईड्रोपावर एण्ड जनरल कन्ष्ट्रक्सन लिमिटेडमा अध्यक्ष पनि हुन् ।


रुङ्गटाको मुख्य लगानी रहेको सीइडीबी हाइड्रोपावरको लगानी मोरङ इनर्जी, कसुवा खोला, गण्डकी इनर्जी र खारे इन्भेष्टमेन्टमा शतप्रतिशत लगानी स्वामित्व छ । राप्ती हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सनमा ४।०४ प्रतिशत र यूनिभर्सल पावर कम्पनीमा ४।२८ प्रतिशत लगानी स्वामित्व छ ।



सीइडीबी हाइड्रोपावरको शतप्रतिशत लगानी रहेको गण्डकी इनर्जीको ८४।१९ प्रतिशत लगानी लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा छ ।


लमजुङको अरु ५ वटा कम्पनीमा लगानी छ । जसमध्ये राधी विद्युत कम्पनीमा ४७।२६ प्रतिशत, साङगे विद्युत् कम्पनीमा ६०।४२ प्रतिशत, दोर्दी खोला जलविद्युत कम्पनीमा ७८।४२ प्रतिशत, खाउदी हाइड्रोपावरमा १५ प्रतिशत र न्यादी हाइड्रोपावरमा २।७८ प्रतिशत लगानी स्वामित्व रहेको छ ।


राधीमा अध्यक्षहुँदा लमजुङ इलेक्ट्रिसिटी कम्पनीले राधीको सेयर सबै बिक्री गरेको हो ।


उनले राधीबाट बोनस र नगद लाभांशको प्रलोभन देखाएर आफुसँग भएको सेयर बिक्री गरेर निस्केका छन् । उनले निस्कने बेलामा लमजुङ इलेक्ट्रिसिटी कम्पनीले राधीको सेयर सबै बिक्री गरेका छन् ।


स्रोतका अनुसार राधीले बिक्री गरेको पैसा सीइडीबीको वित्तीय विररण भने राखिएको छैन । सीइडीबी माउ र बाँकी १२ वटा सहायक कम्पनी हुन् । सहायक कम्पनीले बिक्री गरेको सेयरको हिस्सा माऊ कम्पनीको वित्तीय विवरणमा उल्लेख गर्नुपर्नेमा त्यो राखिएको छैन । यो विषयमा जानकारी लिन खोज्दा रुङ्गटासँग सम्पर्क भने हुन सकेन ।


गत असार १ गते धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ भयो भनेर निकालेका ५१ वटा कम्पनीमा राधी विद्युत् कम्पनी पनि रहेको छ ।


ऐन र नियमावलीमा के छ ?


धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा ३८ को १ ९क० मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने उल्लेख रहेको छ ।


तर, अध्यक्ष रुङ्गटाले सेयर बिक्री गरेर बजारबाट बाहिरिनुले कानूनको उल्लंघन गर्दै भित्रि कारोबार ९इन्साइडर ट्रेडिङ० गरेका हुन् ।


धितोपत्र बोर्डको सहायक प्रवक्ता रुपेश केसीले यो विषयमा बोर्डले अनुसन्धान गर्ने र इन्साइडर ट्रेडिङ भएको प्रमाणित भएका धितोपत्र सम्बन्धी ऐन-२०६३ ले गरेको व्यवस्थाअनुसार कारबाही गर्ने बताए ।


ऐनको परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजायको व्यवस्था रहेको छ ।ऐनको दफा ९१ मा भित्री कारोबारलाई ब्याख्या गरिएको छ भने दफा १०१ मा दण्ड सजायको व्यवस्था रहेको छ ।


अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री गरे, होला त कारबाही ?

No comments:

Post a Comment