Tuesday, July 19, 2022

आइपीओ भर्ने सबैलाई खुसी दिएको निफ्राका लगानीकर्ताले एक वर्षमा गुमाए ४१ प्रतिशत लगानी



सोभित थपलिया


काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको देशव्यापी लकडाउनले अर्थतन्त्र तहसनहस बनायो । जसको असर २ वर्षपछि कोरोना महामारी न्यून हुँदै गएको अहिलेको अवस्थामा पनि बाँकी नै छ ।


लकडाउनको समयमा उद्योग बन्द भए, व्यापार चौपट भयो, मानिसहरु अत्यावश्यक आवश्यकता समेत पूरा नगर्दा नसक्ने अवस्था पुग्ने अवस्था बन्यो । तर लकडाउनको फाइदा कुनै क्षेत्रले लियो भने त्यो हो, ‘सेयर बजार’ ।


सेयर बजारका लागि यो हालसम्मकै सुनौलो र एतिहासिक समय बन्यो । पुँजीबजारमा कैयन रेकर्ड कायम भए । परिसूचक, लगानीकर्ताको संख्या, कारोबार रकम मात्रै होइन पुँजीगत लाभकरमा पनि अप्रत्याशित रेकर्ड कायम भयो ।


सेयर बजारमा हरियाली छाएकै समयमा सूचिकृत भएको कम्पनी हो, नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात् ‘निफ्रा’ ।


कम्पनीले २०७७ माघ २ गतेदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन दिए ।


निफ्राको आइपीओले आवेदक सबैलाई न्यूनतम १० कित्तादेखि अधिकतम ६० कित्तासम्म दिन सफल भयो । अर्थात् कसैको हात खाली भएन ।


तर, आइपीओमार्फत् शुरुवाती चरणमा १५ लाखभन्दा बढी लगानीकर्तालाई खुसी बनाएको निफ्राले पछिल्लो एक वर्षको अवधिमा भने निराश मात्रै बनाएको छ । कम्पनी बजार पुँजीकरण एकवर्षमा ४५।३१ प्रतिशतसम्मले कमी आएको छ । र, लगानीकर्ताको समपत्ति ४१ प्रतिशतले ओरालो लागेको छ ।


त्यसलाई बुझ्न यो उदाहरण हेरौं ।


यदि तपाईंले गत वर्षको वैशाख २६ गते १ लाख रुपैयाँ कुनै वाणिज्य बैंकको मुद्दति निक्षेपमा राख्नु भएको भए तपाईंले कम्तीमा ७ प्रतिशतसम्म ब्याज पाउनु हुन्थ्यो । र, आजका दिनमा त्यो रकम बढेर १ लाख ७ हजार रुपैयाँ पुगेको हुन्थ्यो ।


तत्कालीन समयमा बैंकले निक्षेपमा दिने ब्याजदर निकै कम थियो । तर, अहिले यस्तो ब्याजदर करिब ३ दखि ४ प्रतिशत विन्दुले बढेर १० देखि ११ प्रतिशतसम्म पुगेको छ ।


तर, त्यही रकम निफ्राको सेयरमा लगानी गरेको भए तपाईंले तत्कालिन समयमा १८५ कित्ता किन्न सक्नुहुन्थ्यो । यसबीचमा तपाईंसँग ८ प्रतिशत बोनस थपिएर २०० कित्ता सेयर हुन्थ्यो ।


तपाईंले ठ्याक्कै १ वर्षअघि १ लाख रुपैयाँ लगानी गरेर खरिद गरेको निफ्राको सेयरको मूल्य आजका दिनमा आइपुग्दा करिब ५९ हजार रुपैयाँ मात्रै छ । अर्थात् मुद्दति निक्षेपमा राख्दा ७ प्रतिशतको प्रतिफल हुन्थ्यो भने निफ्राको सेयर खरिद गर्नेलाई ४१ प्रतिशत नोक्सानी भएको छ ।


अर्थात् एक वर्षमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३४ रुपैयाँबाट ४५।३१ प्रतिशतले घटेर सोमबारसम्म प्रतिकित्ता २९२ रुपैयाँमा झरेको छ । यस अर्थमा एक वर्षको अवधिमा निफ्रा लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर थपिँदा पनि ४१ प्रतिशत नोक्सानी भएको छ ।


तर, एक वर्षको अवधिमा निफ्राको सेयर मूल्य ओरालो मात्रै लागेको भने होइन । जेठ महिनामा प्रतिकित्ता ५७८ रुपैयाँसम्म पुगेको थियो । तपाईंले खरिद गरेको एक महिनामै सेयर बिक्री गरेको भए ८ प्रतिशतको प्रतिफल पाउनु हुन्थ्यो ।


लाभांशले पनि दिएन राहत


निफ्राले सेयरधनीलाई गत मंसिरमा लाभांश घोषणा गर्यो । गत मंसिर ८ गतेसम्म कायम सेयरधनीले ८ प्रतिशत बोनस र ०।५ प्रतिशत नगद लाभांश सहित ८।५ प्रतिशत लाभांश पाएका थिए । तर, लाभांश घोषणापछि पनि सेयर मूल्य ओरालो लाग्ने क्रम रोकिएन ।


मंसिर ८ गते प्रतिकित्ता ३५८ रुपैयाँ रहेको निफ्राको सेयर मूल्य आजसम्म आइपुग्दा प्रतिकित्ता २९२ रुपैयाँमा सीमित भएको छ ।


लाभांश घोषणा गरेपछि निफ्राको सेयर मूल्य गत माघ २४ गते प्रतिकित्ता ४१० रुपैयाँ पुगेको थियो । त्यसयता उतारचढाव हुँदै कम्पनीको सेयर मूल्य ११८ रुपैयाँले ओरालो लागिसकेको छ ।


यस्तो छ चैतसम्मको वित्तीय विवरण


कम्पनीको चैत मसान्तसम्मको वित्तीय अवस्था सन्तोषजनक छ । चालु आवको चैत मसान्तसम्म कम्पनीको नाफा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७।८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ५८ करोड ९२ लाख ८९ रुपैयाँ थियो ।


कम्पनीले समीक्षा अवधिमा निक्षेप २९।३२ प्रतिशतले बढाएको छ । चालु आवको समीक्षा अवधिमा कम्पनीले ४० करोड १ लाख ९२ हजार रुपैयाँ र गत आवको सोही अवधिमा ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको थियो ।


कर्जा प्रवाहतर्फ भने कम्पनीले ४४४।११ प्रतिशतले वृद्धि गरेको छ । अर्थात्, गत आवको समीक्षा अवधिमा २ अर्ब १९ करोड ५६ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा ११ अर्ब ९४ करोड ६६ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।


खुद ब्याज आम्दानीमा पनि निकै सुधार देखिएको छ । कम्पनीले चैत मसान्तसम्म यस्तो आम्दानी गत आवको सोही अवधिको तुलनामा ९३ करोड ५२ लाख २५ हजार रुपैयाँबाट बढाएर १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ पुर्याएको छ ।


सञ्चालन मुनाफा पनि ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँबाट बढाएर ९९ करोड २० लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।


चैत मसान्तसम्म निफ्राको प्रतिसेयर आम्दानी ५ रुपैयाँबाट घटेर ४ रुपैयाँ २९ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसाबाट घटेर १०६ रुपैयाँ ५१ पैसा सीमित भएको छ ।


कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४० करोड ५४ लाख ९१ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रुपैयाँ थियो ।

आइपीओ भर्ने सबैलाई खुसी दिएको निफ्राका लगानीकर्ताले एक वर्षमा गुमाए ४१ प्रतिशत लगानी

No comments:

Post a Comment