Saturday, October 27, 2018

अनलाइन आउनै लाग्दा ‘मक ट्रेडिङ’मा लगानीकर्ताले किन देखाएनन् चासो ?

सोभित थपलिया 

काठमाडौं । सेयर बजारको विस्तार र विकासका लागि अनलाइन प्रणाली चाँडो भन्दा चाँडो ल्याउनु पर्यो भनेर लगानीकर्ताले नेप्सेलाई पटकपटक दबाब दिए । अनलाइन प्रणाली नआएर नै बजार बढ्न नसकेको हो भन्नेसम्मका आवाज पनि उठिरह्यो । सामाजिक सञ्जालमा समेत लामो समयदेखि यस्तै आवाज बुलन्द भइरहेका छन् ।

तर, जब नेप्सेले अनलाइन प्रणालीको पूर्वअभ्यासका रुपमा लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन आग्रह गर्यो अनि सँगै मक ट्रेडिङ पनि सुरु गर्यो । तब पत्ता लाग्यो कि लगानीकर्ता अनलाइन प्रणालीमा  त्यति साह्रो आशक्त भएका रहेनछन् । अहिलेसम्मको तथ्यांकले यसै भनिरहेको छ । 

नेप्सेका अनुसार हाल दैनिक औसतमा २५ सय जना लगानीकर्ताले मात्र मक ट्रेडिङ गरिरहेका छन् । मक ट्रेडिङ गर्नेहरु प्रायः तिनै लगानीकर्ता दाहोरिने गरेका छन् । त्यसो त अहिलेसम्म अनलाइन प्रणालीमा सहभागी हुन करिब १२ हजार जनाले मात्र युजर नेम र पासवर्ड लिएका छन् । जबकी बजारमा लगानीकर्ताको संख्या निकै बढी छन् । दैनिक सबै लगानीकर्ता मक कारोबारमा सहभागी नभए पनि युजर नेम र पासवर्ड लिनेको संख्या निकै बढी हुनुपर्ने हो ।

सीडीएससीको तथ्यांक अनुसार अहिलेसम्म १३ लाख ३३ हजार ९४१ जनाले डिम्याट खाता खोलेका छन् । १ जना लगानीकर्ताले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । अनलाइन प्रणालीको पूर्वअभ्यासका रुपमा मक ट्रेडिङ सुरु गरे पनि लगानीकर्ताको उल्लेख्य सहभागिता हुन नसकेको नेप्सेका अधिकारीको बुझाई छ ।

 नेप्सेका एक अधिकारी भन्छन, ‘अनलाइन आउनुपूर्व सेयर बजार नबढनुको कारण नै अनलाइन भएको जसरी विरोध भयो, तर अहिले मक ट्रेडिङ सुरु भएपछि भने लगानीकर्ताले खासै उत्साह देखाएका छैनन् ।

लगानीकर्ताकर्ताको सहभागिता ज्यादै कम हुँदा हामी पनि अचम्ममा परेका छौं ।’ अनलाइनको काम सुरु नै हुनु अघिदेखि अत्याधिक धेरै प्रचार गरिएकाले अहिले लगानीकर्ताको आकर्षकण घटेको अनुमान ती  अधिकारीले लगाएका छन् ।

यता, लगानीकर्ता संघका अधिकारीहरु भने आम लगानीकर्तामा प्रविधि प्रयोगका बारेमा न्यून ज्ञान तथा वित्तीय साक्षरता अभावका कारण सहभागी संख्या कम भएको बताउँछन् । पूर्ण रुपमा अनलाइन आएपछि संख्या निकै बढ्ने उनीहरुको भनाई छ । मक ट्रेडिङ बाध्यकारी नभई स्वेच्छिक भएकाले पनि सहभागिता कम भएको उनीहरुको भनाई छ ।

नेपाल पुँजी बजार संघका अध्यक्ष नवराज सुवेदी भन्छन्, ‘यो प्राविधिक विषय हो, सबै लगानीकर्ता प्राविधिक रुपमा दक्ष नहुन सक्छन् । सबैमा वित्तीय साक्षरताको पनि अभाव हुन सक्छ । यस्ता विषयमा नियामक निकायले तालिम दिन आवश्यक छ,’ उनी भन्छन् ।

 अनलाइन प्रणाली सुरु भएपछि विस्तारै सहभागिता बढ्दै जाने उनको तर्क छ । उपत्यका भित्रका मात्र नभएर बाहिरका लगानीकर्तालाई पनि नियामक निकायले तालिम दिनुपर्ने उनी बताउँछन् ।
यता, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल अनलाइन प्रणाली अहिले कार्यान्वयनमा आइनसकेको तथा मक ट्रेडिङ पनि बाध्यकारी नगरिएकाले सबै लगानीकर्ता सहभागी नभएको उनी बताउँछन् । विस्तारै अनलाइनलाई बाध्यकारी बनाउँदै जाने हो भने सबै लगानीकर्ताले सहभागिता जनाउने उनको भनाई छ ।

यता, नेप्सेले भने उपत्यकाका साथै उपत्यका बाहिर विराटनगर लगायतका ठाँउका अनलाइन र यसको प्रयोगका बारेमा तालिम दिइएको जानकारी गराएको छ । नेप्सेले कात्तिक १५ गतेदेखि ब्रोकरले आन्तरिक रुपमा अनलाइन ट्रेडिङ प्रयोग गराउने तयारी भइरहेको समेत बताएको छ ।  मक ट्रेडिङ अन्तिम चरणमा पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । युजर एसेप्टेन्स टेस्ट (यूएटी) को काम सकिएको नेप्सेका आइटी प्रमुख निरञ्जनसिंह नायकले जानकारी दिए ।

यूएटी गर्ने जिम्मा पाएको भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले पाएको थियो । अहिले नेप्सेले अनलाइन कसरी प्रयोग गर्ने भनेर सबै ब्रोकर कम्पनीका प्रतिनिधिलाई तालिम दिइरहेको छ । नेप्सेले सबै तयारी पूरा गरेपछि औपचारिक रुपमा कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डसँग अनुमति माग्नेछ । बोर्डले आवश्यक अध्ययन तथा जाँच गरेर सञ्चालन गर्न अन्तिम अनुमति दिनेछ । 

No comments:

Post a Comment