Saturday, October 27, 2018

क्रेडिट रेटिङ भनेको के हो, कसरी गरिन्छ रेटिङ अनि लगानीकर्तालाई के हुन्छ फाइदा ?

सोभित थपलिया 

काठमाडौं : कुनै पनि कम्पनी, यसको धितोपत्र निष्कासन तथा ऋण प्राप्ति कार्यक्रममा निष्कासनको सर्त अनुसार निष्कासनकर्ताको ऋण (दायित्व) भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिम बारे सरल र बुझ्न सकिने सांकेतिक सूचकको रुपमा रेटिङ संस्थाले दिएको राय नै क्रेडिट रेटिङ हो । तर क्रेडिट रेटिङ निष्कासनकर्ता कम्पनीको सर्वमान्य हुने किसिमको मूल्यांकन भने हैन ।

रेटिङले कसरी लगानीकर्तालाई मद्दत पुर्याउँछ ?

क्रेडिट रेटिङले लगानीकर्तालाई जोखिम–प्रतिफल प्राथमिकताको आधारमा जानकारीसहित लगानी निर्णय लिनको लागि अत्यावश्यक जानकारी प्रदान गर्दछ । उपलब्ध विभिन्न विकल्पहरु मध्येबाट उपयुक्त लगानी अवसर छनोट गर्नसमेत यसले सहयोग पुर्याउँछ ।

क्रेडिट रेटिङ कसरी गरिन्छ ?

क्रेडिट रेटिङ गर्दा व्यवस्थापनको गहन अध्ययनका साथै कम्पनीको सबल तथा कमजोर पक्षको मूल्यांकनको आधार हेरिन्छ । यसमा निहित बचाउ कारक, बजार रणनीति, प्रतिस्पर्धात्मक धार, प्रविधि विकास स्तर, सञ्चालन क्षमता, व्यवस्थापकीय सक्षमता तथा प्रभावकारिता, जोखिम बचाउ व्यवस्था, नगद प्रवाह, वृद्धि प्रवृति तथा सम्भावना, तरलता, वित्तीय लचकता, सरकारी नीति, विगतको ऋण सोधन रेकर्ड, सम्भावित व्यवसायिक–आर्थिक परिस्थितिमा हुने परिवर्तन संवेदनशीलता बारे हेरिन्छ ।

रेटिङ कति अवधिसम्म वैध रहन्छ ?

रेटिङ गरिसकेपछि सम्बन्धित कम्पनीले जारी गर्न लागेको वा सम्बद्ध उपकरणको अवधिभर नै कम्पनी रेटिङको अनुगमन गरिन्छ । यो प्रकृयालाई सर्भिलेन्स भनिन्छ । सर्भिलेन्स अवधिभर कम्पनीलाई प्रभावित पार्ने सबै परिवर्तनको लेखाजोखा गरिन्छ । आवश्यकता अनुसार रेटिङ तल, माथि वा परिवर्तन गरिन्छ । रेटिङ परिवर्तन गरेको अवस्थामा बाहेक उपकरणको अवधिभर नै रेटिङ कायम रहन्छ ।

रेटिङ पछाडि रहने + वा – ले के बुझाँउछ ?

रेटिङ संकेतको पछाडि प्रयोग गरिएको + (जोड) वा – (घटाउ) चिन्हले संकेतले समेटेको मूहभित्र उपकरणको तुलनात्मक स्थितिलाई जनाउँछ । यसरी AA–  को स्थिति  A±भन्दा एक चिन्ह माथि भन्ने बुझाउँछ ।

क्रेडिट रेटिङ के होइन ?

क्रेडिट रेटिङ भनेको रेटिङ गरिएको धितोपत्र खरिद गर्ने वा बिक्री गर्ने वा स्वामित्वमा लिई राख्ने सिफारिस होइन । यो राय मात्रै हो । कुनै खास क्रेडिट रेटिङ राय निश्चित आयका लगानीकर्ताले जोखिम सम्बन्धमा विचार पुर्याउनुपर्ने तरलता जोखिम, पूर्व भुक्तानी जोखिम, ब्याजदर जोखिम, दोस्रो बजारमा घाटा हुने जस्ता जोखिमका अन्य विभिन्न कारकहरु मापन गर्न लक्षित हुँदैन ।

प्राथमिक निष्कासनमा ग्रेडिङ भनेको के हो र कसरी उल्लेख गरिन्छ ?

सार्वजनिक निष्कासन गरिने साधारण इक्विटी सेयरको मूल्यांकन सहज गर्ने उद्देश्यले प्रदान गर्ने सेवालाई नै प्राथमिक निष्कासन (आइपीओ) ग्रेडिङ भनिन्छ । निष्कासनकर्ताको आधार र अन्य सूचीकृत धितोपत्रहरुबीच तुलनात्मक मूल्यांकन गरी सम्बन्धित निष्कासनको लागि प्रतिकात्मक रुपमा ग्रेड प्रदान गर्दछ । प्राथमिक निष्कासन ग्रेड निष्काशित धितोपत्रको सूचीकरण पूर्व वा पश्चातको मूल्य बारेको राय भने होइन । प्राथमिक निष्कासन १ (बलियो आधारहरु) देखि ग्रेड ५ (कमजोर आधारहरु) जनाउने ५ बुँदाले जनाउँछ ।

१ बलियो आधारहरु
२ औसत भन्दा माथि आधारहरु
३ औसत आधारहरु
४ औसत भन्दा तल आधारहरु
५ कमजोर आधारहरु रहने गर्दछन् । 
ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + (जोड) चिन्हले त्यस समूहको तुलनात्मक सराकात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ ग्रेडिङ २+, ३+ र ४+ क्रमशः २, ३ र ४ भन्दा एक चिन्ह माथि मानिन्छ ।

लगानी सिफारिस भन्दा प्राथमिक निष्कासन ग्रेडिङ कसरी फरक छ ?

लगानी सिफारिस गर्दा आधारभूत कारकहरु, धितोपत्रको वर्तमान मूल्य निर्धारण तथा निश्चित समयावधिमा हुन सक्ने मूल्य वृद्धिमा आधारित रहेर खरिद गर्ने, लिइराख्ने वा बिक्री गर्ने जस्ता सूचकका आधारमा गरिन्छ । यसरी लगानी सिफारिसमा बजार कारकहरु (जस्तै तरलता, माग आपूर्ति) समेतको विस्तृत मूल्यांकन गरिन्छ ।

अर्कोतर्फ, प्राथमिक निष्कासन (आइपीओ) ग्रेडमा ग्रेड गरिएको निष्कासनको आंकलन गरिएका आधारहरु बीच सापेक्षित तुलना गरिन्छ । तर यसले धितोपत्रको मूल्य, समानसँगको तुलनामा यसको मूल्यांकन वा निश्चित समायावधि भित्र हुन सक्ने सम्भावित लाभ भने समाहित गरेको हुँदैन । यसको अर्थ लगानीकर्ताको निर्णय प्रकृयामा एक थप तथ्यको रुपमा लिनका लागि मात्र लक्षित गरिएको हुन्छ ।

प्राथमिक निष्कासनमा ग्रेडिङ किन आवश्यक ?

सूचीकृत नभएका कम्पनीका बारेमा आम लगानीकर्ताले सीमित रुपमा मात्र जानकारी पाउन सक्छन् । वा उनीहरुको त्यस्ता कम्पनीमा सीमित मात्रामा मात्र पहुँच रहने गर्छ । यस्तै, प्राप्त जानकारीको आधारमा व्यावसायिक सम्भावना तथा जोखिम मूल्यांकन चुनौतीपूर्ण रहेको हुनसक्छ ।

ग्रेडिङले स्वतन्त्र तथा वस्तुगत विश्लेषणका आधारमा लगानीकर्ताले पुँजीबजारमा कारोबार गर्ने कम्पनीहरुको बारेमा जानकारी गराउँछ । कम्पनी तथा व्यवसायको आधारहरुको साधारण तथा वस्तुगत सूचकका रुपमा प्राथमिक निष्कासन ग्रेडले धितोपत्र बजार विस्तार गर्न तथा गहिराई बढाउन सहयोग पुर्याउँछ ।

आधारहरु भन्नाले के बुझिन्छ ? प्राथमिक निष्कासन ग्रेड निर्धारण गर्दा के कस्ता पक्षहरुको मूल्यांकन गरिन्छ ?

प्राथमिक निष्कासन ग्रेडिङ अभ्यासमा निष्कासनकर्ता कम्पनी संलग्न रहेको व्यवसायको मूल्यांकन, यसको व्यवसायमा अन्तरनिहित जोखिम बहन गर्न सक्ने क्षमता र प्राप्त अवसरहरुको प्रवभाकारी उपयोग गर्नसक्ने प्रतिस्पर्धी क्षमताको साथै कम्पनीको वित्तीय स्थितिको मूल्यांकनमा जोड दिन्छ । संस्थागत सुशासनको दृष्टिकोणबाट निष्कासनकर्ता कम्पनीको सबल र दुर्बल पक्ष तथा निष्कासन सम्बन्धी सबल तथा दुर्बल पक्षलाई उपयुक्त भार दिइन्छ ।

ग्रेडिङ अभ्यासमा नेपाल धितोपत्र बोर्डको कुनै भूमिका रहन्छ ?

क्रेडिट रेटिङ संस्थाले ग्रेडिङको लागि मूल्यांकन गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्डको कुनै पनि भूमिका रहँदैन । प्राथमिक निष्कासन ग्रेड क्रेडिट रेटिङ संस्थाको स्वतन्त्र तथा निष्पक्ष राय बनाउनेतर्फ लक्षित रहेको हुन्छ ।

प्रदान गरिएको ग्रेड कति अवधिसम्मका लागि मान्य रहन्छ ? 

ग्रेड निष्कासनको समयमा एकपटक गरिने मूल्यांकन हो र सोको निष्कासनमा लगानी गर्ने वा नगर्ने बारे लगानीकर्तालाई जानकारीयुक्त छनोट गर्न सक्षम बनाउन लक्षित हुन्छ । ग्रेड १ वर्षको लागि मान्य हुन्छ ।

ग्रेडिङ प्रकृयाको लागि कति समय लाग्छ ?

साधारणतः ग्रेडिङ प्रकृयामा क्रेडिट रेटिङ संस्थाले ग्राकहबाट आवश्यक पूर्णजानकारी प्राप्त गरेपछि ३ देखि ४ साता लाग्ने गर्दछ ।

(स्रोत : क्रेडिट रेटिङ संस्था इक्रा नेपालले तयार पारेको सामाग्रीको सम्पादित विवरण ।) 

No comments:

Post a Comment