Wednesday, January 26, 2022

मर्जरका नाममा लगानीकर्ताको सम्पत्ति वर्षौसम्म बन्धक, मारमा सर्वसाधारण


काठमाडौं । गत वैशाख २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भयो ।


देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनाउन मर्जर आवश्यक भएको भन्दै दुबै संस्थाले एमओयू गरेसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि बन्धक भयो । अर्थात् सेयर कारोबार नै भएन् । कारोबार नभएपछि लगानीकर्ताको सम्पत्ति फ्रिज भयो ।


सेयर कारोबार रोक्का भएको ९ महिनापछि दुबै संस्थाबीच मर्जर नहुने भयो । यतिञ्जेलसम्म लगानीकर्ताले न मर्जरको गुड न्यून सुन्न पाए न त सम्पत्ति चलाउन पाए ।


नेपाल राष्ट्र बैंकले मर्जरको नीति लिएसँगै जसरी पनि मर्जर वा प्राप्ति गराउने र बैंकको संख्या घटाउन लागेको छ । तर लगानीकर्ताको सम्पत्ति लामो समयसम्म बन्धक बनेको विषयमा कसैले चासो दिएको छैन ।


नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक त उदाहरण मात्रै हुन् । मर्जर र प्राप्तिका नाममा कैयौं संस्थाका लगानीकर्ताको सम्पत्ति लामो समयसम्म फ्रिजको अवस्थामा छ । यसबारे न नियामक निकाय त न कसैले चासो नै व्यक्त गरेको छ ।


मर्जर वा प्राप्तिको प्रक्रियामा जाँदा कति समयसम्म कारोबार रोक्का राख्ने भन्ने कुनै कानूनी व्यवस्था छैन । जसकारण केही कम्पनीको सेयर कारोबार वर्षौसम्म रोक्का हुने अवस्था छ ।


सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल कम्पनी रजिष्ट्रारको कार्यालयले तत्कालै कम्पनी ऐन संशोधन गरेर लगानीकर्ताको सम्पत्ति बन्धक हुने व्यवस्था हटाउन माग गर्छन् ।


‘लाखौ जनताको सम्पत्ति यसरी रोक्का बनाउन मिल्दैन,’ उनले भने ‘त्यसका लागि पहिले कम्पनी ऐन तत्काल संशोधन हुनुपर्छ ।’


कम्पनी ऐन संशोधन नगरी यो समस्या समाधान नहुने उनको तर्क छ । यसमा कार्यालयको तत्काल ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।


कम्पनी मर्जरमा जाने भन्ने तर अन्तिम समयमा मर्जर भाँडिदा लाखौ लगानीकर्ता मर्कामा परेको भन्दै यसका लागि धितोपत्र बोर्ड, नेप्से वा अर्थमन्त्रालय कसले समस्याको समाधान गर्ने हो तत्काल गर्नुपर्ने उनको माग छ ।


कम्पनीहरुले मनलाग्दी समय मर्जरको नाममा सम्पत्ति लामो समय बन्दक हुने गरेको भन्दै यसलाई तत्काल रोक्न नियामक निकायले आँखा खोल्न निकै ढिला भइसकेको ढकालको तर्क छ ।


अबका दिनमा मर्जरमा जाने कम्पनीलाई निश्चित समय तोक्नुपर्ने र त्यो अवधिसम्म काम सकेर कारोबार रोक्का हुने अवधि घटाउनुपर्ने ढकालको माग रहेको छ । अब मर्जर भाँडियो भने पनि सर्वसाधारणको सम्पत्ति रोक्का गर्न नहुने व्यवस्था गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।


अहिले पनि कैयौं कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । जसमा रिडी हाइड्रोपावर कम्पनी पनि हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी मर्जरमा जाने भएपछि कात्तिक १७ गतेदेखि करोबार रोक्का भएको हो । अहिलेसम्म कारोबार खुलेको छैन ।


यस्तै घोडाघोडी लुघवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त मर्जरमा जाने एपछि सेयर कारोबार रोक्का भएको धेरै समय भइसकेको छ ।


२०७७ कात्तिक २३ गतेदेखि घोडाघोडीको कारोबार रोकिएको छ । घोडाघोडीले १००ः५० अनुपातमा युनिकलाई मर्जर गर्न लागेको थियो ।


मर्जरको प्रक्रियामा गएका वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्तको सेयर कारोबार रोकिएको छ । भदौ १६ गतेबाट यी कम्पनीको कारोबार रोकिएको हो । वोमी र सुुर्योदय १ः१ अनुपातमा मर्जरमा जान लागेका हुन् ।


आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार पनि २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमति भएसँगै कम्पनीको सेयर कारोबार रोक्का भएको हो । दुुई वर्ष पुुग्दा पनि कारोबार हुने छाँटकाँट छैन । लगानीकर्ताको सम्पत्ति बन्धक बनेर बसेको छ ।


लगानीकर्ताको सम्पत्ति वर्षौदेखि बन्धक हुँदा पनि पुँजी बजारका नियामक निकाय धितोपत्र बोर्ड तथा नेप्से भने नेतृत्व नभएको भन्दै पन्छिरहेका छन् ।


बोर्डमा अध्यक्ष र नेप्सेमा सीइओ नभएका कारण अहिले यी दुवै निकायलाई नेतृत्व नभएका कारण काम गर्न समस्या भयो भनिदिए पुुग्ने गरेको छ ।

https://clickmandu.com/2022/01/182086.html

No comments:

Post a Comment