Tuesday, March 21, 2023

बैंक विरुद्धको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिए


सोभित थपलिया


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिएका छन् ।


एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई समेत बैंक विरुद्धको आन्दोलनमा सडकमा उत्रिएका छन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्षसमेत हुन् ।


उद्योगी व्यवसायीले धान्नै नसक्ने गरी बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीले सडक आन्दोलन शुरु गरेका छन् ।



बैंकविरुद्ध भएको सडक आन्दोलनमा बैंकका सञ्चालक संघाइ समेत उद्योगी व्यवसायीको पक्षबाट सहभागी भएका हुन् । त्यस्तै, बैंक विरुद्धको उक्त आन्दोलनमा सिटिजन्स बैंकका सञ्चालकसमेत रहेका महासंघका कार्यकारीणी सदस्य प्रवलजंग पाण्डे पनि उपस्थित छन् ।



आन्दोलनमा महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्लानगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ लगायत उपस्थित छन् ।


महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल भने उक्त सडक आन्दोलनमा देखिएनन् ।


काठमाडौं उपत्यकाका जिल्ला तहका उद्योग वाणिज्य संघको नेतृत्वमाका माइतिघर मण्डलामा ब्याजदर एकल विन्दुमा राख्नु पर्ने माग गर्दै विरोध पर्दशन गरिएको छ ।


उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको चालू पूँजी कर्जा सम्बन्धी नीति फिर्ता लिन माग गर्दै सडक आन्दोलन शुरु गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल विन्दुमा हुनु पर्ने उद्योगी व्यवसायीको माग छ ।

सञ्चालक समितिमा बसेर व्यवस्थापनलाई बढी नाफा निकाल्न दबाब दिने अनि सडकमा आएर बैंकले चर्को ब्याज असूल्यो भन्दै आफैं आन्दोलन गर्ने व्यवसायीको यो चरित्रले ‘आफैं धामी, आफैं बोक्सी’ भन्ने नेपाली उखान हुबहू कार्यान्वयन भएको देखिन्छ ।


सञ्चालक समितिले दबाब दिएका कारण बैंकहरुले जथाभावी ब्याजदर र प्रिमियम बढाएर ऋणीलाई मारमा पारेका छन् । अनि उनीहरु नै बैंकले चर्को ब्याज असूल्यो भन्दै सडक आन्दोलनमा उत्रनु हाँस्यास्पद देखिएको छ ।


लामो समयदेखि बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा ‘स्वार्थको द्धन्द्ध’ भएकाले यसलाई छुट्याउनपर्छ भन्ने बहश चलिरहेको छ । यसरी बैंकविरुद्ध बैंककै सञ्चालक सडकमा उत्रिएपछि स्वार्थको द्धन्द्धको विषय थप पेचिलो बनेको छ ।

बैंक विरुद्धको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिए

No comments:

Post a Comment