Tuesday, March 21, 2023

बर्दियाको नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक करोडौं ठगेर फरार



सोभित थपलिया

काठमाडौं । बर्दिया जिल्लाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएका छन् ।


सोमबारदेखि सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ ।


रिजाल र महतो सोमबारदेखि सम्पर्क विहीन भएको र संस्था पनि बन्द भएको भन्दै केही पीडितहरुले जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका छन् ।



कार्यालयमा उजुरी परेपछि अनुसन्धान गर्दा सहकारीका अध्यक्ष तथा प्रबन्धक सम्पर्कमा नरहेको पाइएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले सहकारी पीडितले जिल्ला प्रशासनमा सहकारीविरुद्ध निवेदन दर्ता गरेको बताए ।


‘प्रशासनमा उजुरी आएको छ । सम्पर्क गर्न खोज्दा हुन सकेको छैन, फोन पनि अफ छ’ उनले भने ।


पीडितले प्रशासनमा निवेदन दर्ता गरेपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका प्रतिनिधि र जिल्लास्थित सहकारी विभागका अधिकारीले स्थलगत अनुसन्धान गरिरहेका छन् ।


‘अर्थ तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विभागका प्रतिनिधिहरु आएर केही कागजात लिनु भएको छ’ एसपी शाहीले भने ‘यस विषयमा उहाँहरुले आवश्यक प्रकृया अघि बढाउनु हुनेछ । जिल्ला प्रशासन हुँदै हाम्रोमा अहिलेसम्म ३ वटा उजुरी आएका छन्, त्यसको प्रारम्भिक अध्ययन, अनुसन्धान प्रदेश सहकारीले गर्नेछ ।’


लुम्बिनी प्रदेशको सहकारी विभागका निमित्त रजिष्ट्रार केशव घिमिरेले पनि सहकारीका अध्यक्ष र प्रबन्धकले बचतकर्ताको रकम लिएर सम्पर्कमा नरहेको पुष्टि गरे ।


घिमिरेले सोमबारदेखि सहकारीका अध्यक्ष र प्रबन्धक सम्पर्क विहीन रहेको बताए । विभागले गरेको स्थलगत अनुसन्धानका क्रममा सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।


सहकारीले घर तथा जग्गामा बढी लगानी गर्दा, अध्यक्ष आफैंले सहकारीबाट पैसा निकालेर चलाउँदा, सहकारीले विभिन्न क्षेत्रमा गरेको लगानी उठ्न नसकेको देखिएको छ । त्यसको प्रत्यक्ष मारमा बचतकर्ता परेका छन् ।


यो विषयमा विभागले शुक्ष्म ढंगले अध्ययन गरिरहेको घिमिरेले बताए । अहिले सम्पर्कमा रहेका सञ्चालकसँग कुरा गर्दा संस्थालाई पुरानै अवस्थामा ल्याउन सकिने र कुनै बचतकर्ताको रकम पनि फस्न नदिने आश्वासन गराएको उनले बताए ।


‘सञ्चालकले अहिले सम्पर्कमा नरहेका अध्यक्ष र प्रबन्धकलाई सम्पर्कमा ल्याउन प्रयत्न गर्ने बचन दिएका छन्’, घिमिरेले भने । सहकारीका सञ्चालक, अध्यक्ष र प्रबन्धकले नियत खराब राखेर सदस्यलाई ठगी गरेमा कानूनअनुसार कारबाही गर्ने घिमिरेले बताए ।


उक्त सहकारी संस्थाबाट पीडित बनेका स्थानीय भगवतीप्रसाद गुप्ताले १४ गतेसम्म बजारमा दैनिक बचत संकलन गरेको संस्थाले १५ गतेदेखि बचत संकलन गर्न नआएको बताए ।


चेक नसाटिएपछि शंका लागेर बुझ्दा संस्था भागेको थाहा पाएको उनले बताए ।


अहिले सहकारीमा कर्मचारीसमेत नरहेको उनको भनाइ छ । संस्थाका अध्यक्ष र प्रबन्धक भागेको थाहा पाएपछि पीडितहरुले प्रशासनमा उजुरी दिएको गुप्ताले बताए ।


उक्त सहकारीले जिल्लाको राजापुर र मगरागढी लगायत ठाउँमा सेवा केन्द्र सञ्चालन गरेको छ । उक्त सेवाकेन्द्रबाट पनि बचत संकलन गरेको र त्यहाँका बचतकर्तालाई पनि ठगेको स्थानीय पीडितको आरोप छ ।


उनकाअनुसार सहकारीले चाडपर्वको समयमा बैंकिङ कारोबार कम हुने भएपछि सर्वसाधारण, व्यवसायीहरुको पैसा संकलन गरेको अहिले सम्पर्कविहीन भएको हो ।


‘चाडपर्वको समयमा पैसा घरमा नराख्ने, नजिकैको बैंक पनि नखुल्ने भएपछि धेरै व्यवसायी र सर्वसाधारणले पैसा राखेका थिए’ उनले भने, ‘अहिले सहकारीका अध्यक्ष र प्रबन्धक फरार छन् । कार्यालय पनि बन्द छ ।’


हाल सहकारीको पुँजी २६ करोड, ऋण लगानी २२ करोड रहेको र बीचको ग्याप तीन करोड रुपैयाँको रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २०६५ सालमा दर्ता भएको संस्थाको जगेडा कोषमा ५२ लाख रुपैयाँ रहेको पाइएको छ ।


सहकारीले अघिल्लो वर्षसम्म लगातार साधारणसभा गरेको भए पनि यो वर्ष साधारणसभा गरेको छैन । केही सञ्चालकले राजीनामा दिएको र २ जना सञ्चालक उपचारका लागि भारत गएका छन् ।


सहकारी संस्थाहरुमा प्रभावकारी रुपमा नियमन हुन नसक्दा देशभर ठगी बढेको गुनासो बढ्दै गएको छ ।

बर्दियाको नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक करोडौं ठगेर फरार

No comments:

Post a Comment