Tuesday, March 21, 2023

सेयर बजारको प्रभाव म्युचुअल फण्डमाः अधिकांश कम्पनीको न्याभ घट्यो, सूचीकृत कम्पनीको लगानी पनि घट्दै



सोभित थपलिया

काठमाडौं । सञ्चालनमा रहेको म्युचुअल फन्डमध्ये अधिकाशंको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ)मा निकै गिरावट देखिएको छ । भदौको तुलनामा असोजमा अधिकांश कम्पनीको न्याभ गिरावट आएको छ ।


३३ वटा कम्पनीमध्ये ३० वटा कम्पनीको न्याभमा गिरावट आएको छ । ३ वटा कम्पनीको न्याभमा भने सामान्य सुधार देखिएको छ । न्याभमा सुधार आउने कम्पनीमा एनआईसी एशिया डाइनामिक डेफ्ट फण्ड, एनआईसी एशिया सेलेक्ट फण्ड-३० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को न्याभमा सुधार आएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड-२ र कुमारी धनवृद्धि योजनामा भने कुनै फेरबदल भएको छैन ।


कम्पनीहरुको न्याभमा गिरावट आउँदा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ भन्दा बढी हुने थोरै कम्पनी रहेका छन् । ३३ वटा कम्पनीमा १० वटाको मात्रै खुद सम्पत्ति मूल्य १० रुपैयाँ भन्दा बढी रहेको छ । बाँकी सबैको १० रुपैयाँ भन्दा कम रहेको छ ।



असोजसम्म आइपुग्दा सबैभन्दा बढी एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै एनआईसी एशिया ब्यालेन्स फण्डको ११ रुपैयाँ ८८ पैसा, सानिमा इक्विटी फण्डको ११ रुपैयाँ ४३ पैसा, सनराइज फस्ट म्युचुअल फण्डको ११ रुपैयाँ १९ पैसा, एनआईसी एशिया डाइनामिक डेफ्त फण्डको १० रुपैयाँ ७७ पैसा, नबिल ब्यालेन्स फण्डको १० रुपैयाँ १ पैसा, एनएमबि हाईब्रिड फण्ड-एल १ को १० रुपैयाँ ६२ पैसा, एनएमबि ५० को १० रुपैयाँ ६७ पैसा, कुमारी इक्विटी फण्डको १० रुपैयाँ १९ पैसा र कुमारी धनवृद्धि योजनाको १० रुपैयाँ ०२ पैसा रहेको छ । सबैभन्दा कम सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ७ रुपैयाँ ७८ पैसा रहेको छ ।


सञ्चालनमा रहेका फण्डहरुले असोज मसान्तमा १६ अर्ब ८६ करोड २५ लाख ३६ हजार ५४९ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका छन् । भदौमा १७ अर्ब ७ करोड २५ लाख २५ हजार ४६९ रुपैयाँ लगानी गरेको थिए ।


यर बजारमा देखिएको उतार चढावको कारण कम्पनीहरुले भदौको तुलनामा असोज महिनामा सूचिकृत कम्पनीमा गर्ने लगानी पनि घटाएका छन् । भदौको तुलनामा असोजमा सूचिकृत सेयरमा हुने लगानी १.२२ प्रतिशतले घटेको छ । ३३ वटा कम्पनीमध्ये ८ वटा कम्पनीले गरेको लगानी बढेको छ भने बाँकी कम्पनीले सूचीकृत सेयरमा गरेको लगानी घटेको छ ।


सूचीकृत सेयरमा लगानी बढाउने कम्पनीमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, सनराइज ब्लुचिप फण्ड र मेगा म्युचुअल फण्ड-१, एनएमबि सरल बचत फण्ड-ई, सिटिजन्स म्युचुअल फण्ड-२, सिटिजन्स म्युचुअल फण्ड-१, शुभ लक्ष्मी कोष र कुमारी धनवृद्धि योजनाले लगानी बढाएका छन् । बाँकी सबैको घटेको छ ।


यस्तै भदौको तुलनामा असोजमा म्यूचुअल फण्डले बैंकमा राखेको मौज्दात पनि घटेको छ । भदौमा ८ अर्ब १८ करोड २३ लाख ५४ हजार ४९१ रुपैयाँ बैंक मौज्दात रहेपनि असोजमा आइपुग्दा यो घटेर ७ अर्ब ९२ करोड ५ लाख २५ हजार ४६९ रुपैयाँमा सिमिति बनेको छ । यो अवधिमा म्युचुअल फण्डले बैंकमा राख्ने रकम ३.१९ प्रतिशतले घटेको छ । भदौको तुलनामा असोजमा १६ वटा कम्पनीले बैंकका राख्ने मौज्दात रकम बढाएका छन् भने बाँकीको घटेको छ ।


सेयर बजारमा लगानी गर्नकै लागि भनेर फण्डको व्यवस्था गरिएको हो । फण्डहरुले बजार हेरेर लगानी गर्ने गरेका छन् । बजार बढेको समयमा लगानी बढाउने र घटेको समयमा मुद्दती निक्षेपमा राखेर ब्याज खाने गरेको आरोप फण्डहरुलाई सँधै लाग्ने गरेको छ । उनीहरुले प्रकाशित गर्ने विवरणले त्यसलाई प्रमाणित गर्ने गरेको छ । कम्पनीहरुले सूचीकृत सेयरमा गर्ने लगानी भन्दा बैंकमा पैसा राखेर ब्याज खान बढी चनाखो बन्ने गरेका छन् ।

सेयर बजारको प्रभाव म्युचुअल फण्डमाः अधिकांश कम्पनीको न्याभ घट्यो, सूचीकृत कम्पनीको लगानी पनि घट्दै

No comments:

Post a Comment